भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता


अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी

भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हो ।

गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् ।

मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर-२० र २१ नम्बरको मत गणना भइरहेको छ ।

यसैबीच २०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍. १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन् ।

कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । वडामा तीन हजार ४८८ मत खसेको थियो ।

२०७४ को निर्वाचनमा वडा नं. १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एकरएक लाख जरिवाना तिराएको थियो ।

पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन् ।