जापान-अमेरिका शिखर वार्ता हुँदै : रुस, चीन र उत्तर कोरियामाथि वार्ता केन्द्रित हुनसक्ने

जापान-अमेरिका शिखर वार्ता हुँदै : रुस, चीन र उत्तर कोरियामाथि वार्ता केन्द्रित हुनसक्ने


  • घटना र विचार, जापान प्रतिनिधि

अमेरिकी राष्ट्रपति बाइडेन आज (मे २२ तारिख) जापान भ्रमणमा आइपुग्दैछन् भने भोलिदेखि प्रधानमन्त्री किशिदासँग जापान–अमेरिका शिखर वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यी दुई नेताले अन्तर्राष्ट्रिय मामिलाहरूमा कडा नीतिको साझेदारी घोषणा गर्ने अपेक्षा गरिएको छ । यसपटकको शिखर वार्तामा युक्रेनमा रूसको सैन्य आक्रमण र प्यासेफिक क्षेत्रमा चीनको बढ्दो सशक्तिकरणका विषयहरुमा सामूहिक नीतिको अख्तियारीका सवालमा विशेष छलफल तथा निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछिको यो पहिलो औपचारिक जापान भ्रमण हो । यसपटक जापानमा अमेरिकासंगै अस्ट्रेलिया तथा भारतीय राष्ट्रप्रमुखहरुको उपस्थितिमा क्वाड शिखर सम्मेलन आयोजना हुनेछ। ।

यसपटकको भेटघाट तथा दौडधुप रुसमाथिको थप कडा आर्थिक प्रतिबन्ध तथा उत्तरकोरियाको परमाणु हतियार निर्माण एवं अभ्यास र स्वतन्त्र इन्डो प्यासेफिक क्षेत्रमा चीनको बढ्दो दबाबलगायतका विषयमा साझा नीति बनाउने प्रयासको रुपमा विश्लेषण गरिएको छ ।

जापानमा अमेरिकालगायतका राष्ट्र प्रमुखहरुको भ्रमणको सुरक्षालाई मध्यनजर गर्दै टोकियोको सुरक्षा व्यवस्था कडाइ पारिएको छ । सुरक्षा व्यवस्थाका लागि झण्डै २० हजार प्रहरीहरु थप परिचालन गरिएको छ ।