श्रीकृष्णको बास छ

श्रीकृष्णको बास छ


  • बद्रीप्रसाद दाहाल

चिल्ला कार चढे घुमे दस दिशा, रोजेर खाए पिए ।
प्राणै वायु सजाउँदै महलमा, आराम गर्दै जिए ।।
रम्भाका हुल ली रती-रमणले तृष्णा मिटाए कति ।
खै देखिन्न प्रफुल्ल धूर्त लुटुवा खर्बाै कमाए पनि ।।

तापै ताप छ भित्र व्याकुल व्यथा, चिन्ता तथा भुट्भुटी ।
हाँस्छन् बाहिर किन्तु शोषक ठुला, पीडा पिई घुट्घुटी ।।
आफू मान्छ अमर्त्य-मर्त्य जनता सोच्ने झिँगे चिन्तन ।
यस्ता मर्कट मास्नु पर्छ मतले यै हो नयाँ चिन्तन ।।

लुछ्दै मासु सुरा विदेशतिरको, गाना र ताना पिई ।
आफ्ना गौरव अस्मिता भुलिदिने पुत्ला सयौँ निष्ठुरी ।।
बारीखेत कयौँ बने मुलुकमा रूख्खा सुखा बन्जर ।
भिक्षा मागी बसेर सन्तति सबै, बन्ने भए खञ्जर ।।

शिक्षा स्वास्थ्य र बैँक मालिक भए, नाता कुटुम्बी जन ।
आफ्ना मात्र प्रमोद हुन्, मुलुकमा, सोच्ने भए दुर्जन ।।
ज्यामी मज्दुर वृद्ध बालक सबै, हाँसे त्यहाँ हास छ ।
मान्छे बन्छ खुसी जहाँ हृदयमा श्रीकृष्णको बास छ ।।