काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे


काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ । अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।

साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।

उता भरतपुर महानगरपालिकामा रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई ११ हजार ८३५ मत प्राप्त भएको छ ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।