नेपाली मूलका युवा साङ्गे शेर्पालामा अमेरिकामा सम्भवतः शेर्पा समुदायकै पहिलो वकिल

नेपाली मूलका युवा साङ्गे शेर्पालामा अमेरिकामा सम्भवतः शेर्पा समुदायकै पहिलो वकिल


  • विजय थापा

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदायकै सम्भवतः पहिलो वकिल बनेका छन् ।

हिमाल चढ्ने, हिमचुचुरोमा खेल्ने, हिमशिखरमै रमाउने र सयौँ कीर्तिमान कायम गरिरहने आँटिला, जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो मुलुकमा साङ्गे अधिवक्ता बन्न सफल भएका हुन् ।

साङ्गे शेर्पालामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय (एकाउन्टिङ्ग) समेतमा उत्तीर्ण हुँदै अमेरिकी अधिवक्ता बनेर शेर्पा समुदाय तथा मातापिताकै नाम, इज्जत र प्रतिष्ठा उच्च बनाउन सफल भएका छन् । अमेरिकामा रहेका नेपाली मूलका शेर्पा समुदायको इतिहासमा सम्भवतः साङ्गे नै प्रथम अधिवक्ता हुन् ।

अमेरिकामा अहिलेसम्म नेपालीमूलका शेर्पा जातिमा कोही पनि वकिल भएको समाचार प्रकाशमा आएका छैनन् । उनले मे २०, २०२२ का दिन रजर विलियम युनिभर्सिटीबाट कानुन उपाधिमा स्नातक गरेका छन् ।

शेर्पालामाले अमेरिकाको रोड आइल्याण्डको एक निजी विश्वविद्यालय रोजर विलियम्स विश्वविद्यालय ब्रिस्टलबाट स्नातक गरेका हुन् भने यो विश्वविद्यालय १९५६ मा स्थापित भएको हो ।

अधिवक्ता हुनासाथ आगामी अगस्त महिनादेखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता (एडिए- एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी) पदमा उनले काम थाल्ने भएका छन् ।

साङ्गे शेर्पालामा सामाजिक अभियन्ता बुबा छेवाङ शेर्पालामा र आमा आङ फूर्बा शेर्पालामाका कान्छा सुपुत्र हुन् ।