पानीले भरिएको गाग्री बोेकेर श्री ३ चन्द्रको बेलायत यात्रा

पानीले भरिएको गाग्री बोेकेर श्री ३ चन्द्रको बेलायत यात्रा


इतिहास
  • सुनिल उलक

जङ्गबहादुर र चन्द्रशम्शेर बेलायत भ्रमणमा पुग्ने दुई राणा प्रधानमन्त्री थिए । दुवैको भ्रमणले एउटा नयाँ आयाम थपेको थियो । उनीहरूले बेलायतीहरूका अगाडि नेपाल पनि विकसित राष्ट्रको आभास दिलाएर आएका थिए । दुवै यात्रामा दुवै प्रधानमन्त्रीले फ्रान्सलाई पनि प्राथमिकतामा राखेको पाउँछौँ । जङ्गबहादुरले पनि फ्रान्सका राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसँग भेटेका थिए । लुइस फ्रान्स क्रान्तिका अगुवा नेपोलियनका भतिजा अर्थात् भाइका छोरा थिए ।

यसको ५८ वर्ष बेलायत भ्रमणमा पुगेका भतिजा चन्द्रशम्शेरले पनि फ्रान्सका राष्ट्रपति आर्मण्ड फेलियरलाई भेटेका थिए । दुईको भेट फ्रान्सेली बन्दरगाहको शहर मार्सिलीमा भएको थियो । श्री ३ चन्द्रको पानीजहाज १९६५ वैशाख २५ को दिन फ्रान्सको बन्दरगाह मार्सिलीमा अडेको थियो जहाँ फ्रान्सका राष्ट्रपति उनलाई भेट्न आएका थिए ।

चन्द्रशम्शेरले पनि आफ्नो बेलायत भ्रमणलाई निजी भ्रमण भने पनि बेलायत सरकारको विशेष निमन्त्रणा तथा सम्पूर्ण खर्च बेलायती सरकारले नै बहन गरेको थियो । नेपाल एक स्वतन्त्र तथा स्वाधीन राष्ट्रको प्रतिनिधिको रूरूपमा बेलायत भ्रमण गर्न लागेको हुँदा आफ्नो सत्कार तथा अन्य प्रवन्ध स्वतन्त्र राज्यका प्रमुखको सरह मिलाउन भनेका थिए । साथै, छलफलका मुख्य एजेन्डाहरू नेपालमा नै तय गरिएको थियो ।

घोडेजात्राको केही दिनमा वि.सं. १९६४ चैत्र २५ मा काठमाडौंबाट निस्केका चन्द्रशम्शेर १९६५ वैशाख २७ मा बेलायत पुगेका थिए । उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरू २२ जना थिए भने १९ जना नोकरचाकरहरू पनि थिए । भाइ जुद्धशम्शेर भतिजा रुद्रशम्शेर, छोराहरू मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर थिए । सुब्बा गोविन्दप्रसाद ढुङ्गाना, डाक्टर रत्नदास वैद्य, पण्डित काशीनाथ आचार्य दीक्षित, प्रिन्सिपल वटुकृष्ण मैत्र, भान्छेबाहुनहरू हरिप्रसाद उपाध्याय, गौरीकान्त उपाध्याय, कमलाकान्त उपाध्याय, श्रीकान्त उपाध्यायलगायत र नोकरचाकरको रूपमा फोटोग्राफर दीर्घमान तथा जोगमान र अन्यमा जीतमान, जयमान सिंह, धनकृष्ण, रत्नबहादुर, हरिशरण, कालु, हर्कनरसिंह, जनकलाल साथै निजी सचिवको रूपमा सरदार मरिचमान सिंहलाई पनि लगेका थिए ।

जङ्गबहादुर र चन्द्रशम्शेरको बेलायत भ्रमणमा अर्को एक समानता थियो । दुवैले गाईखाने विदेशीले छोएको पानी खान हुन्न भन्दै गाग्रीमा पानी पनि लगेका थिए । खाना पकाउने भान्सेहरू पनि यतैबाट लगेका थिए । जब चन्द्रशम्शेर एवम् उनको साथ गएको टोली पानीजहाजमा मार्सिली पुगे, मार्सिलीमा पानीजहाजबाट सामान सबै निकालेर फेरि कालाइसको लागि रेलमा जानु थियो । त्यसपछि बेलायतको डोभर पुग्नु थियो ।

(यस लेखोटमा प्रस्तुत गरिएको तस्बिर फ्रान्सको बन्दरगाह मार्सिलीको हो । मार्सिलीमा चन्द्रशम्शेरका सामानहरू पानीजहाजबाट निकाल्दै गर्दा पानीले भरिएका गाग्रीहरू ओह्राल्दै गर्दा फ्रान्सेलीहरू जिल्ल र दङ्ग परेर हेरिरहेका र साथमा अन्य नेपाली कामदारहरूले सामान निकाल्दै गरेको पनि तस्बिरमा देख्न सकिन्छ । तस्बिर फ्रान्स-नेपाल दौत्य सम्बन्धको ७०औँ वर्ष पुस्तकबाट साभार गरिएको हो ।)