अल्पायुमा नै किन गइन् सञ्जु चौधरी ?

अल्पायुमा नै किन गइन् सञ्जु चौधरी ?


सञ्जु चौधरीको मृत्यु प्रकरणले हाम्रो राज्य र खेलकुद क्षेत्रको बागडोर सम्हालेर बसेको संस्था नै आफ्ना खेलाडीको शारिरीक र मानसिक स्वास्थ्यप्रति कति असंवेदनशील छ भन्ने कुरालाई सतहमा ल्याएको छ । नेपालमा राज्यले खेल र खेलाडीप्रति कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरा थप अध्ययन/अनुसन्धान र बहसको विषय बन्न पुगेको छ ।
  • आशुतोष अधिकारी

सञ्जु चौधरीलाई क्रिकेट असाध्यै मन पर्थ्यो । २०१५/१६ को मध्यसम्म पनि सञ्जु बाँके जिल्लामा मात्र नभएर पश्चिमाञ्चल क्षेत्रमै महिला क्रिकेटको चर्चित नाम बनिसकेकी थिइन् । तर उनको भाग्यमा क्रिकेट हैन, भारतत्तोलन लेखिएको रहेछ । भारतत्तोलन खेल्नकै लागि उनलाई भगवानले २३ वर्षको छोटो र सार्थक जीवन उपहारस्वरूप दिएका रहेछन्, उनको असामयिक मृत्युपछि अब यी शब्दहरू केवल सान्त्वना मात्र बन्न पुगेका छन् ।

सञ्जुका बाबु नेपालगञ्ज शहरको भेरी अञ्चल अस्पतालमा काम गर्थे । त्यसैको सञ्जुको बाल्यकाल पनि नेपालगञ्ज शहरको सेरोफेरोमा बित्यो । भेरी अञ्चल अस्पतालको उनी बस्ने भाडाको घरबाट महेन्द्र रङ्गशाला हिँडेर गए पनि पाँच-सात मिनेटमा पुगिन्थ्यो । उनी आफ्ना टोलका साथी र दाइहरूसँग दिनहुँ खेल्न भनेर रङ्गशालामा पुग्ने गर्थिन् । यसरी सानैबाट उनलाई खेलप्रति लगाव बढ्दै गयो ।

सानैबाट दौड, लङजम्प र हाइजम्प खेलेर हुर्किएकी सञ्जु एथ्लेटिक्स हुँदै क्रिकेटतर्फ आकर्षित भइन् । नेपालगञ्जको रङ्गशालामा धेरै किसिमका खेल गतिविधिहरू हुने गरेता पनि क्रिकेट सबैभन्दा लोकप्रिय थियो । महिला क्रिकेट टोलीले पनि नियमित प्रशिक्षण गर्ने गरेका कारण उनी क्रिकेटतर्फ आकर्षित भइन् र छोटो समयमै यो खेल खेल्ने तरिका र नियमहरू सिकिन् ।

नेपालगञ्जका सिनियर खेलाडीहरूको साथ र सहयोगमा समयक्रमसँगै सञ्जुले आफ्नो खेलकौशललाई तिखार्दै लगिन् र छोटो समयमै जिल्लाको महिला टोलीमा स्थान बनाइन् । उनी राम्रै बलिङ गर्थिन् तर उनलाई बलिङ भन्दा ब्याटिङ गर्न बढी रमाइलो लाग्थ्यो । २०१५ सम्म आइपुग्दा उनी बाँकेको जिल्ला महिला टोलीकी राम्रो अलराउण्डरमा पर्दथिन् । २०१५/१६ मा सञ्जुले विभिन्न जिल्लास्तरीय, क्षेत्रिय र राष्ट्रियस्तरको प्रतियोगिताहरूमा भाग लिने मौका पाइन् ।

कुनै प्रतियोगिता होस् वा नहोस्, सञ्जु अभ्यासका लागि नियमित रूपमा रङगशाला आउँथिन् । नियमित अभ्यास गरेका कारण उनी शारिरीक रूपमा एकदमै ‘फिट’ थिइन्, उनको जीउडाल हरेक खेलका लागि सुहाउने खालको थियो । यस्तैमा, रङगशालामा अभ्यास गर्ने क्रममा भारतत्तोलनका गुरूहरूको नजर सञ्जुमाथि परेको थियो ।

क्रिकेटको एउटा म्याचमा सञ्जु चौधरी

उनको शारिरीक क्षमता र लगनशीलतालाई हेरेर सञ्जुले क्रिकेटजस्तो टिम गेममा भन्दा भारतत्तोलनजस्तो ‘इन्डिभिजुअल’ गेममा लागिन् भने उनी र यो खेल दुवैका लागि राम्रो हुन्छ भनेर दुईपटक नेपालका तर्फबाट एशियाडमा प्रतिनिधित्व गरिसकेका भारतत्तोलनका भेट्रान खेलाडी समसुद्दीन सिद्दिकीका साथै अन्य गुरूहरूले सञ्जुको घरमै पुगेर उनको परिवारलाई सम्झाएका थिए ।

‘अर्का एकजना राजु केसी भन्ने एक परिचितका छोरा प्रकाश र सञ्जुको घरमै पुगेर हामीले उनीहरूको परिवारलाई राजी गराएर उनीहरूलाई यस खेलमा ल्याएका थियौँ’, सिद्दिकीले बताउनुभयो, ‘सञ्जुले हाम्रो यो निर्णयलाई सही साबित गर्दै एकदमै छोटो समयमा यो खेलमा राम्रो गर्दै गईन् । ’ भारतत्तोलनमा लागेपछि पनि उनले कहिले पछाडि फर्केर हेर्नुपरेन । समयसँगै उनले आफ्नो स्तरलाई बढाउँदै लैजान सफल भइन् र राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति कमाइन् ।

सञ्जु चौधरी नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट, प्रतिभाशाली र सफल महिला भारतत्तोलन खेलाडी थिइन् । उनले आफ्नो भारतत्तोलनको छोटो करिअरमा अहिलेसम्म कसैले भेटाउन नसकेका कोशेढुंगाहरूलाई पार गरेर नेपालमा यो खेलको स्तरलाई नै माथि उठाएकी थिइन् । २०१९ मा काठमाडौंमा भएको तेह्रौँ राष्ट्रिय खेलकुदमा उनले श्रीलंकाकी खेलाडी पछाडि पार्दै ५९ केजी समूहतर्फ स्वर्ण पदक जितेकी थिइन् । त्यो ऐतिहासिक पदक अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला खेलाडीले जितेको पहिलो स्वर्णपदक थियो ।

वर्तमान परिप्रेक्ष्यमा पनि उनी निर्विवाद रूपमा नेपाली भारतत्तोलनकी उत्कृष्ट खेलाडी थिइन् । भारतत्तोलनका विभिन्न राष्ट्रिय किर्तिमानहरू सञ्जु चौधरीका नाममा छन् । २०७३ सालको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर भारतत्तोलन खेलमा लागेकी सञ्जुले यो ५-६ वर्षको अन्तरालमा उल्लेखनीय अवसर, उपलब्धि र अनुभव संगाल्ने मौका पाएकी थिइन् र आफूलाई त्यही अनुरूप निखार्दै लान समेत सफल देखिन्थिन् ।

लगभग दुई वर्ष नेपाल प्रहरीको जागिर खाएर पुलिस क्लबमा आवद्ध भएकी चौधरीले ६ महिनाअघि मात्र प्रहरीको जागिर छाडेर हाल प्रशिक्षक सञ्जय महर्जनसँग एशियन गेम्सको तयारी गरिरहेकी थिइन् । सातौँ राष्ट्रिय खेलकुदमा प्राविधिक कारणले अयोग्य घोषित हुँदै बाहिरिनु परे पनि सञ्जुभित्र लुकेको प्रतिभाको पहिचान गरेका प्रशिक्षक सञ्जयले उनलाई काठमाडौं बोलाएका थिए । पछिल्लो समयमा पनि सञ्जुलाई तिनै प्रशिक्षकले आफ्नै घरमा आश्रय दिएर प्रशिक्षण गराइरहेका थिए । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको त्यही घरको भुइँ तल्लामा सोमबार राति पासो लगाएर आफ्नो जीवनयात्रालाई पूर्णविराम लगाइदिइन् ।

सञ्जु चौधरीको असामयिक निधन नेपाली खेलकुदको क्षेत्रका लागि मात्र होइन, समस्त राष्ट्रकै लागि ठूलो क्षति हो । उनी भारतत्तोलन खेलमा अहिलेको पुस्ताले पाएकी एक उत्कृष्ट खेलाडी थिइन् । उनी विगत केही समयदेखि ‘डिप्रेसन’को अवस्थामा रहेको संकेतहरू प्राप्त भएका छन् यद्यपि यो कुराको पुष्टि भने भएको छैन ।

उनको मृत्युपछि उनका एक नजिकका मित्रले उनले बेला-बेलामा ‘मर्न पाए पनि हुन्थ्यो’ र ‘आत्महत्या गर्छु’ जस्ता कुराहरू गर्ने गरेको तर उनले जिस्किएको होला भन्ने सोचेको बताएकी छिन् जुन कुराले उनी डिप्रेसनमा गएको हुनसक्नेतर्फ ईशारा गर्छ । नेपाल प्रहरीको जागिर छाडेपछि उनलाई आर्थिक रुपमा पनि गाह्रो परिरहेको थियो भन्ने कुराहरू पनि बाहिरिएका छन् । तर उनको मृत्युको सत्यतथ्य पत्ता लगाउनेतर्फ कसैले चासो देखाएको पाइएको छैन जसलाई खेदको विषय मान्नुपर्छ ।

बाहिरबाट आफूलाई बलियो देखाइरहे पनि भित्र-भित्र उनलाई केही कुराहरूले खाइरहेको थियो, र ती कारणहरू उनको नितान्तः निजी विषय पनि हुनसक्छन् वा अरू नै केही । उनलाई नजिकबाट चिन्ने उनका आफन्त, उनीसँग धेरै समय बिताउने प्रशिक्षक र खेलाडी साथीहरूका साथै उनले दुःख-सुख बाँड्ने उनका साथी-संगीले पनि त्यस कुराको कुनै भेउ पाउन नसक्नुलाई पनि दुःखद मान्नुपर्छ ।

सबैभन्दा ठूलो खेदको विषय, सञ्जु चौधरीको मृत्यु प्रकरणले हाम्रो राज्य र खेलकुद क्षेत्रको बागडोर सम्हालेर बसेको संस्था नै आफ्ना खेलाडीको शारिरीक र मानसिक स्वास्थ्यप्रति कति असंवेदनशील छ भन्ने कुरालाई पनि सतहमा ल्याएको छ । नेपालमा राज्यले खेल र खेलाडीप्रति कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरा थप अध्ययन/अनुसन्धान र बहसको विषय बन्न पुगेको छ ।