मिचिगनमा १३औँ अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता सम्पन्न

मिचिगनमा १३औँ अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता सम्पन्न


अमेरिकाको मिचिगन स्टेटमा १३औँ अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । आठ देश र अमेरिकाका विभिन्न ११ राज्यका गरि ३१० खेलाडीको उक्त प्रतियोगितामा सहभागिता रहेको थियो । च्याम्पियनसिपमा आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिले ८३ स्र्वण पदक जितेर प्रथम भएको छ ।

पाँच म्याटमा सञ्चालन भएको उक्त च्याम्पियनसिप महोत्वसमा महिला र पुरुष दुवैतर्फ सिनियनयर र जुनियरमा विभिन्न तौल समुह र उमेर समुहको पुम्से र स्पाइरिङ्ग कुरेगिमा प्रतिस्पर्धा गराइएको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ इभेन फ्रान्सवा उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ हेलो क्यानेजो उत्कृष्ट भए ।

यस्तै, रेफ्रिमा पनि महिला र पुरुषमा एक एक जनालाई वेष्ट रेफ्री घोषित गरिएको थियो । पुरुषतर्फ मिचिगनका थोमस सन उत्कृष्ठ भए । महिलामा पेन्सिलभेनियाकी विनिता पुरी राई उत्कृष्ट भइन् ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका थिए । यस्तै रेफ्री चियरमा अस्ट्रेलियाका रेने लेभोस थिए । उनी ओलम्पिक रेफ्रीसमेत हुन् । यस्तै अर्का रेफ्री चियर रेमण्ड सु थिए । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।

अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको पहिलो संंस्करण सन् २००० मा काठमाडौंबाट शुरु भएको थियो । हालसम्म नेपाल, अमेरिका, बेलायत, भारत, हङ्कङ्गमा सम्पन्न भैसकेको छ भने अब आउँदो १४औँ संस्करण दुई वर्षपछि अस्ट्रेलिया वा अन्य कुन मुलुकमा गर्ने भन्ने बारेमा पछि निर्णय गरिने आइओएफटीसीका बोर्ड डाइरेक्टर ग्राण्ड मास्टर दिवाकर डान महर्जनले बताउनुभएको छ ।

च्याम्पियनसिपमा स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिले रेफ्री सेमिनारको समेत आयोजना गरेको थियो । उक्त सेमिनारबाट तेक्वान्दो खेलको परिवर्तित नयाँ नियमको बारेमा पनि सिकाइएको जानकारी १३औँ संस्करणका संयोजक लब गोर्खालीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय संघसंथाका प्रतिनिधिसहित एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष गोपेन्द्र भट्टराईलगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतियोगितामा नेपाल तेक्वान्दो संघका पूर्व प्रशिक्षकहरु सुदर्शन बहादुर केसी, जगनलाल श्रेष्ठ, राजु थापा (क्यानडा), धीरेन्द्र शाही (क्यानडा), लीला शाही (क्यानडा)को सक्रिय सहभागितासहित आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिका प्रशिक्षक तथा प्रतियोगिताका म्यानेजरहरु अमुल गोर्खाली र अनमोल गोर्खालीको सक्रिय भूमिका रहेको थियो ।

कार्यक्रममा बिजयी खेलाडी, रेफ्री, र निर्णायकहरुलाई आइओएफटिसीका महासचिव क्यारेन ब्लाल्कलेज, गैरआवासीय नेपाली संघ अमेरिकाका पदाधिकारीहरु लगायत अन्य अतिथिहरुबाट नेवारी संकृति झल्कने हाकु पटासी लगाएका भोलन्टिएरहरुको सहयोगमा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रम समापनपश्चात साँझ राज प्यालेसमा रात्री भोज तथा स्थानीय कलाकारसहित गायक युवराज चौलागाईको सांगीतिक कार्यक्रम भब्य रुपमा गरिएको थियो ।