मुलुक चलाउने योग्यताको मापदण्ड

मुलुक चलाउने योग्यताको मापदण्ड


मुलुक चलाउने योग्यताको अभावमा अनेकौँ ठगबन्धन भन्न सकिने गठबन्धन हुने गर्दछन् । यस्ता गठबन्धन हुन् वा एकिकरण, ती अस्थायी प्रकृतिका हुन्छन् । सत्ता/शक्तिप्राप्तिको उद्देश्यमा भएका यस्ता अस्थायी गठजोडले जनताको त के कुरा आफ्नै सहयोगी वा साथीहरूलाई पनि भ्रमित पारिरहेको हुन्छ । निर्वाचनताकाका यस्ता गठजोड केही समयमै टुट्ने गर्दछ ।
  • स्वयम्भूनाथ कार्की

क्रान्तिकारी हुने धुनमा मान्छेले यस्ता काम पनि गर्छ जसको पछि सम्झना गर्दा उ स्वयम्लाई अप्रिय लाग्छ, यस्ता कुरा बोल्छ जुन जति नै अशिष्ट भए पनि हेक्का राखेको हुँदैन । विरोधिको भूमिकामा हुन्जेल यस्ता काम-कुराले उसको ‘क्रान्तिकारी’ उचाइ थप्न मद्दत गरेको हुन सक्छ । तर जब आफूले सरकार चलाउन पर्ने अवस्था आउँछ त्यो बेला उसको यही विगतले पोलिरहेको हुन्छ । यसै ग्लानीबोधबाट निक्लने प्रयत्न धेरै हास्यास्पद हुन्छ र असफलताको कारण बन्छ ।

क्रान्तिकारी विद्रोही हुने योग्यता र मुलुक चलाउने योग्यता दुई विपरीत प्रकृतिका हुन् भन्ने कुरा जान्दाजान्दै सम्पुर्णले दुर्दशा भोगिसकेका हुन्छन् । यस्ता कुराको मार नेपालले लामो समयदेखि भोग्दैछ । हिजो समर्पित भएर सघाउनेहरूको मनमा निराशा र कुन्ठाले घर बनाइसकेको छ । धेरैले यो कुन्ठा व्यक्त गर्न सक्दैनन् । यसमा दोषको भागिदार आफू पनि भइएला भन्ने डर पनि हुन सक्छ वा अब उनीहरूमा नैतिक बल समाप्त भएको पनि हुन सक्छ । यस्ता कुराले परिवर्तनपछिको नेतृत्व अपवादबाहेक हमेसा असफल हुने गरेको हुन्छ ।

अनि स्वभाविक प्रश्न उब्जन्छ, आखिर मुलुक चलाउने योग्यताको मापदण्ड के ? जुलुसमा लाठी खाएको कि सुरक्षाकर्मीको मुखमा आगो झोसेको ? विरोधको नाममा तोडफोड गरेको, हिंसा फैलाएको ? के जेलयात्राले मुलुक चलाउने योग्यता थप्छ वा आफ्नो कुरासँग विमति राख्नेको ‘सफाया’ योग्यताको कसी हो ? विस्तारै यस्ता विरोध, विद्रोह वा क्रान्ति आदिको नेतृत्वले सत्ता प्राप्त गरेपछि बुझ्न थाल्छ । उसले बुझ्छ मुलुक चलाउन त आफूले विरोध गरेका तरिका र पद्धति नै चाहिने रहेछ । उसले अनायासै आफूलाई हिजो आफूले खोइरो खनेकाहरूको स्थानमा पाउँछ र हिजोको आफ्नो स्थानमा अरु नै हुन्छन् जो आफ्नो खोइरो खन्दै हुन्छन् । यो निरन्तर अस्थिरता अनि हरेक नेतृत्वको असफलताको नियमित श्रृङ्खला हो ।

यहाँ बहुदल पुनःस्थापनापछि राष्ट्रिय सभागृहका एक कार्यक्रममा गणेशमानले बोलेको एक प्रसङ्ग सान्दर्भिक हुन्छ । उनले इमान्दारीपूर्वक एक घटनाको उल्लेख गरेका थिए । जुलुसको हल्ला सुनेर त्यसमा ध्यान दिएको त जुलुसले गणेशमान मुर्दावाद पो भन्दै रहेछ, यो भन्दा पहिले ‘वीर गणेशमान जिन्दावाद’को नारा सुन्ने बानी भएको यो सुन्दा नरमाइलो लाग्यो । यस्तै कुरा जनअनन्दोलनको लगत्तैपछि विराटनगरको शहीद मैदानमा गिरिजाले भाषणमा उल्लेख गरेका छन् । उनले भनेका थिए ‘विरोध गर्ने बानी परेको अहिले कहिलेकाहीँ आफ्नै सरकारको पनि विरोध गर्न पुगिँदो रहेछ ।’ कमसेकम उनीहरूले यो स्विकार गर्ने हिम्मत त गरे तर यही स्थिति सबै नेताहरूमा छ ।

उनीहरूमा स्विकार गर्ने हिम्मत छैन त्यसैले त्यसको ढाकछोपको निमित्त अनेकौँ सतही बहाना बनाउँछन् । आफ्नो अयोग्यता ढाकछोप गर्न बनाइएको हरेक बहानाले अर्को विवाद हुन्छ र, फेरि त्यसलाई छोप्न अर्को बहाना बनाउँछन् । यो बहानाको श्रृङ्खला निरन्तर चल्छ । फलस्वरुप उनीहरू उपहासका पात्र बन्छन्, मुलुकले थप कष्ट पाउँछ । तिनका गम्भीर लाग्नुपर्ने अभिव्यक्ति सबैलाई हास्यास्पद लाग्ने कारण पनि यही हो । नेपालमा आन्दोलन हाँक्न अनि त्यसलाई सफल बनाउन नेताहरू सफल हुन्छन् तर त्यसको व्यवस्थापन गर्नचाहिँ किन असफल हुने गरेका छन् भन्ने प्रश्नको उत्तर नै यही हो । उनीहरूमा विरोध गर्ने मात्र योग्यता छ मुलुक चलाउने योग्यता छैन । त्यसैले केवल सत्ताको निमित्त पहिले विरोधि मानिएका कसैसँग पनि अँगालोमा बाँधिन पुग्छन् । हिजोका आफ्नाहरूको कोखामा छुरा रोप्न पुग्छन् ।

मुलुक चलाउने योग्यताको अभावमा अनेकौँ ठगबन्धन भन्न सकिने गठबन्धन हुने गर्दछन् । यस्ता गठबन्धन हुन् वा एकिकरण, ती अस्थायी प्रकृतिका हुन्छन् । सत्ता/शक्तिप्राप्तिको उद्देश्यमा भएका यस्ता अस्थायी गठजोडले जनताको त के कुरा आफ्नै सहयोगी वा साथीहरूलाई पनि भ्रमित पारिरहेको हुन्छ । निर्वाचनताकाका यस्ता गठजोड केही समयमै टुट्ने गर्दछ ।

योग्यताको कमीले गरिएका अनेकौँ बहुलट्ठीपूर्ण कामले जनतालाई कष्ट दिन्छ । मुलुकमा आर्थिक सङ्कट आउँछ, महँगी अचाक्ली बढ्छ । त्यसैले जेल बसेको, प्रतिपक्षमा भएको बेला जुलुसमा लाठी/गोली खाएको, पर्चा बोकेको वा पोष्टर टाँसेको ‘योग्यता’ मुलुक चलाउने योग्यता हैन । जुलुसमा ढुङ्गा हानेको, गुलेली चलाएको, मुखमा अगुल्टो झोसेको जस्ता कुराहरू पनि मुलुक चलाउने योग्यता हैन । कुनै सिद्धान्त (?) बोकेर ब्यक्तिहत्या गरेको, हिंसात्मक काम गरेको कुरा त्यसबेलासम्म मात्र राजनैतिक हो कि भनेर भन्न सकिन्छ जुन बेलासम्म त्यो व्यक्ति वा समूह उक्त सिद्धान्तमा अडिग रहन्छ । त्यो सिद्धान्त छोडेर आफूले विरोध गरेको पक्षकै कार्यनीति र पद्धति अपनाउन थाल्नेवित्तिकै त्यो व्यक्तिहत्या वा हिंसा जघन्य अपराधमा परिणत हुन्छ । त्यसैले त्यो मुलुक चलाउने योग्यता हुनै सक्दैन ।