बालेनको अग्रताले दिएको सन्देश

बालेनको अग्रताले दिएको सन्देश


राजनीतिक दलको सदस्य नभएर पनि बालेनको राजनीति-प्रवेशले राजनीति गर्नका लागि दल नै रोज्नुपर्छ भन्ने कुरालाई अलिकति पर धकेलिदिएको छ । तथापि, बहुदलीय प्रजातन्त्रमा आगामी दिनमा बालेनले अन्य बालेनहरूको साथ लिएर संरचनागत रूपमै अघि बढ्दा त्यसले थप ब्यवस्थित भएर काम गर्न मद्दत पुग्नेछ ।
  • बबिता बस्नेत

केही महिनाअघिसम्म आफ्नै सर्कलमा मात्रै परिचित नाम ‘बालेन शाह’ अहिले नेपालको राजनीतिमा चासो राख्ने जो-कोहीका लागि आश्चार्यजनक रूपमा आफ्नो वरिपरि छाएको छ । बाहिर निस्कियो बालेनको चर्चा, घर गयो उनकै बारेमा कुराकानी, साथीभाइ भेट्यो यही नाम, मिडियामा उनकै बारेमा जानकारी र विश्लेषण । सार्वजनिक यातायात, सपिङमल, चोक, गल्ली, सडक, कौशी, रेष्टुरेन्ट सबै नै बालेनमय बनेको छ ।

गीत-सङ्गीतमा रुचि भए पनि पप, ऱ्याम्पहरूका बारेमा चासो नराखेका कारणले हुनसक्छ मैले बालेनको नाम काठमाडौं महानगरपालिकामा मेयरको रूपमा स्वतन्त्र उम्मेदवारी दिएपछि मात्रै सुनेकी हुँ । राष्ट्रिय झण्डासहितको फोटो र युटुबमा उनका भनाइहरू, भोट माग्न हिँड्दै गर्दा उनले गरेको मानिसहरूसँगको ब्यवहार, नमस्कार गर्ने तरिका फरक लागेको थियो । सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि खोजी गर्दै जाँदा ऱ्याप गीतहरू भेटिए । यसअघि खासै रुचि दिएर सुनेको, हेरेको रहेनछु, अनौठो लाग्यो । आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्न अप्ठ्यारो मान्नु हुँदैन भन्ने मान्यता राख्छु । ‘ऱ्याप ब्याटल’ हेर्नु त परको कुरा, शब्द नै सुनेको रहेनछु । ‘ऱ्याप ब्याटल’मा जस्ता पनि शब्दहरू प्रयोग गरिने रहेछ । कालो, गोह्रो, होचो, अग्लो, अनुहार कस्तो या भनौँ ‘आउट लुक’को चर्चा निकै हुँदोरहेछ । लैङ्गिक भिन्नता, यौनिकतालगायतका कुरामा संवेदनशीलता नअपनाइ निर्धक्क शब्दहरू फालिँदो रहेछ । तिमी, तपाईं भन्दा बढी ‘तँ’ शब्द चल्दोरहेछ । अश्लील शब्दहरूको प्रयोग सामान्य रहेछ ।

राजनीति र ऱ्यापलाई सँगै राखेर सोच्दा यी दुवैमा सुधार आवश्यक देखिन्छ । राजनीतिमा सुधारको कुरा वर्षौंदेखि गरिएकै छ, उद्देश्य नखल्बल्याइकन ऱ्यापमा प्रयोग हुने शब्द छनौटमा संवेदनशीलता जरुरी छ । मनोरञ्जनका नाममा ऱ्यापमा महिला र एलजीबीटीआईक्यू समूदायप्रति शब्दहरूको निर्मम प्रहार हुँदोरहेछ, हँसिमजाकको विषय बनाइँदोरहेछ । टेलिभिजन र युटुबमा आएका बालेनका अन्तवार्ताहरूमा भने हल्का फुल्का कुराहरूले ठाउँ पाएको देखिएन । काठमाडौं महानगरपालिकामा बालेनको उम्मेदवारीलाई लिएर सुरुमा खासै गम्भीर रूपमा हेरिएन भन्दा पनि हुन्छ । सामाजिक सञ्जालमा लगातारको उपस्थिति र भोट माग्न हिँड्दा सडकमा युवाहरूको घेरा देख्दा तेश्रो मतचाहिँ यिनकै आउँछ जस्तो लागेको थियो । बालेनलाई तेश्रो नम्बरको प्रतिस्पर्धीका रूपमा आँकलन गर्नेहरूको सङ्ख्या ठुलो थियो । पहिलो नम्बरमा आफ्नो आस्था र विश्वासअनुसार मानिसहरूले सिर्जना सिंह र केशव स्थापितलाई राखेका थिए । यी दुईबीच झिनो मतले तलमाथि हुने ठानिएको थियो । तर मत गणना सुरुभएपछि परिणाम अनपेक्षित देखियो, वालेन शाह दुबै उम्मेद्वारलाई निकै पर छाड्दै अघि बढे । यी पङ्क्तिहरू लेख्दैगर्दा उनी प्रतिद्वन्द्वीहरू भन्दा पाँच हजार मतले अगाडि छन् ।

राजनीति र ऱ्यापलाई सँगै राखेर सोच्दा यी दुवैमा सुधार आवश्यक देखिन्छ । राजनीतिमा सुधारको कुरा वर्षौंदेखि गरिएकै छ, उद्देश्य नखल्बल्याइकन ऱ्यापमा प्रयोग हुने शब्द छनौटमा संवेदनशीलता जरुरी छ । मनोरञ्जनका नाममा ऱ्यापमा महिला र एलजीबीटीआईक्यू समूदायप्रति शब्दहरूको निर्मम प्रहार हुँदोरहेछ, हँसिमजाकको विषय बनाइँदोरहेछ ।

काठमाडौं उपत्यकाको मतलाई प्रायः नेवार समूदायका लागि सुरक्षित मत मानेर चर्चा गरिन्छ । यद्यपि यसप्रकारको अनुमानित चर्चा संसदीय निर्वाचनमा भने लागु भएको थिएन । काठमाडौंबाहिरका एमाले नेता स्व. मदन भण्डारीदेखि माओवादी नेता प्रचण्डसम्मलाई नेवार समूदायको बाहुल्य भएको उपत्यकाले संसद्मा पुऱ्याइसकेको छ । स्थानीय निर्वाचनमा स्थानीय ब्यक्तिहरू नै उठ्ने हुनाले विशेषगरी मेयर-उपमेयरको पदमा सकेसम्म नेवार समूदायबाट उठाउने र निर्वाचित हुने गरिएको थियो । यो इतिहासलाई ब्रेक गर्दै बालेन शाहलाई अगाडि बढाउनमा नेवार समूदायसहित सबै समूदायको उत्तिकै साथ देखियो । बालेनको यो अग्रताले नेपालीहरू कुनै जातविशेष भन्दा बढी परिवर्तनकारी भूमिका निर्वाह गर्ने मान्छे खोज्छन् है भन्ने देखाएको छ ।

बालेनप्रतिको क्रेज गीत-संगीतप्रतिको रुचिभन्दा धेरै माथि परिवर्तनको चाहना हो । विकसित मुलुकमा विभिन्न पेशा-ब्यवसायमा सफल भएका मानिसहरू राजनीतिको पदीय जिम्मेवारीमा आउने चलन छ । यसरी आएका मानिसहरूले ब्यवसायिक रूपमा आफ्नो पदीय धर्म निर्वाह गरी आफ्नो कार्यकाल सकिएपछि फेरि पुरानै पेशामा फर्किका उदाहरणहरू पनि छन् । पेशाले इन्जिनियर बालेनले नगरबासीसामु स्पष्ट भिजन अघिसारेका छन् । थोरै प्रतिबद्धता जनाएर टोल-टोलमा पुगेका उनले धेरै मत ल्याउनुका पछाडि सर्वसाधारणको राजनीतिक दल र तिनका नेताहरूप्रतिको वितृष्णा पनि हो । प्रतिबद्धता गर्ने तर ती पूरा नगर्ने कामले नेताहरूलाई जनताबाट टाढा पुऱ्याइरहेको छ ।

चुनाव महँगो भइरहेको र अहिले ठाउँ-ठाउँमा मत खरिद-बिक्रीका अडियोहरू सार्वजनिक भइरहेको अवस्थामा खासै पैसा खर्च नगरी सामान्य रूपमा पनि जनताको मत पाउन सकिन्छ भन्ने सन्देश बालेनले प्राप्त गरेको मतले दिएको छ ।

राजनीतिक दलको सदस्य नभएर पनि बालेनको राजनीति-प्रवेशले राजनीति गर्नका लागि दल नै रोज्नुपर्छ भन्ने कुरालाई अलिकति पर धकेलिदिएको छ । तथापि, बहुदलीय प्रजातन्त्रमा आगामी दिनमा बालेनले अन्य बालेनहरूको साथ लिएर संरचनागत रूपमै अघि बढ्दा त्यसले थप ब्यवस्थित भएर काम गर्न मद्दत पुग्नेछ । अझै धेरै मतगणना हुन बाँकी रहेकाले भोली जित कसको हुन्छ यसै भन्न सक्ने अवस्था छैन । तर जुन तीव्रताका साथ उनले मत पाइरहेका छन्, त्यो हेर्दा उनी चाँडै नै काठमाडौंको मेयर भए भने अब आश्चर्यको विषय हुने छैन । उनले उठाएका शहरलाई शहर जस्तो बनाउने एजेण्डामा अर्की उम्मेदवार सिर्जना सिंहले गहकिलो तरिकाले उठाएको सुरक्षित शहरको एजेण्डा स्वतः पर्ने नै छ । शहरजस्तो शहर हुनको लागि सुरक्षालाई पहिलो प्राथमिकतामा पार्नुपर्ने हुन्छ । विश्वको सबैभन्दा सुरक्षित शहर मानिएको भियनालाई अहिलेको अवस्थामा पुऱ्याउनका लागि सडकका बिजुलीबत्तिदेखि मानिसले प्रयोग गर्ने शब्दका लागि गुनासो संयन्त्रसम्ममा ख्याल गरिएको पाइन्छ ।

बालेनले पाएको मत र लोकप्रियताको कुरा गर्दा सामाजिक संजाल र युवालाई छुटाउन मिल्दैन । मूलप्रवाहका मिडियाले खासै महत्व नदिएका उनलाई सोसियल मिडियाको ब्यवस्थित प्रयोगले यत्रतत्र सर्वत्र चर्चामा पुऱ्यायो । साथै युवाहरूको साथ बालेन-अग्रताको अर्को महत्वपूर्ण कारण बन्न पुग्यो । दलसम्बद्ध युवाहरू बाहेक अध्ययनरत, जागिरको खोजीमा रहेका, केही गर्न चाहेका तर अवसर नपाएका एवम् विभिन्न क्षेत्र, पेशा, ब्यवसायमा रहेका तर कुनै राजनीतिक दलमा नभएका युवाहरूको रुचि राजनीतिमा करिव शून्य थियो । बेरोजगारी, भ्रष्ट्राचार, ढिलासुस्ती, विभिन्न कार्यालयमा कर्मचारीको ब्यवहारबाट युवाहरूलाई मुलुकप्रति नै निराशा छाएको अवस्था छ । बालेनको साथमा युवाको जमातको अर्थ अब यो देशमा नयाँ नेतृत्व ल्याएर केही फरक गर्न सकिन्छ कि भन्ने अपेक्षा हो । जुन अपेक्षाले अहिले स्थानीय निर्वाचनमा मात्रै नभएर निकट भविष्यमै हुने संसदीय निर्वाचनमा थप बढी स्थान पाउनेछ भनी अनुमान गर्न सकिन्छ । चुनाव महँगो भइरहेको र अहिले ठाउँ-ठाउँमा मत खरिद-बिक्रीका अडियोहरू सार्वजनिक भइरहेको अवस्थामा खासै पैसा खर्च नगरी सामान्य रूपमा पनि जनताको मत पाउन सकिन्छ भन्ने सन्देश पनि बालेनले प्राप्त गरेको मतले दिएको छ । साथै आफ्ना प्रतिद्वन्द्वी या कसैलाई पनि गालीगलौज नगरी आफ्नो एजेण्डा मात्रै अघिसार्दा झन् जनसमर्थन पाइन्छ भन्ने उदाहरण पनि उनले स्थापित गरेका छन् ।