विश्वमेलामा एनआरएनको नेपाली स्टल रहने

विश्वमेलामा एनआरएनको नेपाली स्टल रहने


  • सनत आचार्य, बेल्जियम

विश्व ऐक्यबद्धता र विविधता प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको विश्वमेलाको समापन समारोह यही २० र २१ मे का दिन बेल्जियमको लुभेनमा आयोजना हुँदैछ ।

अप्रिल १४ बाट प्रारम्भ गरिएको मेला आयोजक समितिका संयोजक वाल्टर जोरिसले मेलामा स्थानीय तरकारी फलफुललगायत जैविक उत्पादनहरूलाई प्रवर्द्धन गर्ने र लुभेन भाषिक हिसाबले पनि विविधता भएको शहर भएकोले भाषिक सद्भाव र विश्व एकताको लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

जोरिसका अनुसार लुभेनको ब्रुल पार्कमा हुने विश्वमेलामा संसारभरीका करिब ३० हजार मानिसले अवलोकन गर्नेछन् । उनले भने- ‘कोरोनाका कारण गत दुई वर्ष यो मेला आयोजना गर्न नसकिए तापनि अहिले परिस्थिति राम्रो भएको कारण मेला पुनः आयोजना गर्न खोजेका छौँ ।’

आयोजकका अनुसार मेलामा १५ वटा स्टलहरू रहने छन् यी स्टलहरूमा स्थानीय संघ-संस्था, व्यवसायीलगायतले विभिन्न खाना तथा स्थानीय व्यवसायका उत्पादन समेत रहनेछन् । मेलामा गैरआवासीय नेपाली संघ बेल्जियम, हिमालय प्रोजेक्ट र सांग्रिला समाज गरी तीन वटा नेपाली संस्थाहरूको पनि स्टल रहने छ ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष खड्कबहादुर केसीका अनुसार बेल्जियममा सबैका बीच नेपाली परिकारहरू लोकप्रिय भएकोले मेलामा आफूहरूले खानाका विभिन्न नेपाली परिकारहरू राखिने छ ।

अध्यक्ष केसीले मेलामा आफूहरूले प्रवासी नेपाली र विदेशीहरूमाझ नेपाली खाना पस्किँदा विदेशमा नेपाली खानाको महत्व बढ्ने र यसले नेपालको समेत परिचय दिने भएकाले भविष्यमा नेपालमा विदेशी पर्यटकहरू नेपाली परिकारका बारेमा पूर्वपरिचित हुने तथा यसले नेपालको होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सहयोग पुग्ने तर्क राखे ।

त्यस्तै, बेल्जियम र यसको छिमेकी देशहरूबाट नेपालीहरू सहभागी भइ मेला अवलोकन र भ्रमण गरी एक आपसमा सद्भाव बढाउन अध्यक्ष केसीले आग्रह गरेका छन् ।

गत अप्रिल १४ बाट सञ्चालन गरिएको उक्त मेलामा प्रदर्शनी, वातावरण संरक्षण खासगरी पानी शुद्धिकरण जस्ता विषयहरूमा केन्द्रित रहेको थियो । त्यस्तै स्थानीय स्तरमा दीगो विकास लक्ष्यप्राप्तिका लागि क्रियाशील समुहबाट सोसम्बन्धी पनि विविध जानकारी गराइएको आयोजकहरूले बताएका छन् ।

२० र २१ मा हुने समापन कार्यक्रममा अफ्रिका, नेपाल र स्थानीय कलाकारहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् ।

उक्त दिन युरो-नेपाल कलाकार सङ्घले पनि गीत, नृत्यलगायत विविध साँस्कृतिक कार्यक्रमहरू आयोजना गरी दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने सङ्घका महासचिव संजय केसीले बताए ।

आयोजकहरूले मेलामा प्रबेशका लागि कुनै शुल्क तिर्न नपर्ने र मेला पहिलो दिन चार बजे र दोश्रो दिन दिनको १२ बजेबाट सञ्चालन हुने जनाएका छन् ।