नातिनातिना नजन्माएको भन्दै छोरा-बुहारीविरुद्ध मुद्दा !

नातिनातिना नजन्माएको भन्दै छोरा-बुहारीविरुद्ध मुद्दा !


विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् ।

६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र भव्य विवाहको लागि आफ्नो ठूलो बचत खर्च गरेको दाबी गरेका छन् ।

एक वर्षभित्र नातिनातिना नजन्माए छोरा-बुहारीले क्षतिपूर्ति बापत ६ लाख ५० हजार अमेरिकी डलर दिनुपर्ने उनीहरुको माग छ । यस मामिलामा उनीहरूका छोरा-बुहारीले कुनै टिप्पणी गरेका छैनन् । मानसिक उत्पिडनका कारण सो मुद्धा दायर भएको बताइएको छ ।

आफूले बचत गरेको सबै सम्पत्ति छोराका लागि खर्च गरेको सञ्जिव बताउँछन् । ६५ हजार डलर खर्चेर उनले छोरालाई सन् २००६ मा पाइलटको तालिमका लागि विदेश पठाएका थिए ।

दी टाइम्स अफ इन्डियाले जनाएअनुसार तालिम सकेर छोरा सन् २००७ मा स्वदेश फर्किएका थिए, तर कुनै जागिर पाएनन् । त्यसपछि सञ्जिव परिवारले उनलाई दुई वर्षभन्दा बढी आर्थिक रूपमा सहयोग गरेको थियो ।

अन्ततः दुई वर्षभन्दा केही समयपछि ३५ वर्षीय श्रीय सागरले चालकको जागिर पाए । सन् २०१६ मा एक युवतीसँग छोराको विवाह गरिदिए । विवाहदेखि नै उनीहरूले छोरा-बुहारीबाट नातिनातिनाको अपेक्षा गरेका छन् ।

विवाहमा पाँचतारे होटलमा पार्टी आयोजना गरेको, ८० हजार डलरको सुविधासम्पन्न गाडी किनिदिएको र विदेशमा हनिमुन मनाउन खर्च दिएको समेत अभिभावकले बताएका छन् ।

‘छोराले विवाह गरेको ६ वर्ष भयो, तर पनि उनीहरूले सन्तानको कुनै योजना बनाएका छैनन्,’ सञ्जिवले भनेका छन्- ‘ -कम्तिमा हामीले नातिनातिनासँग समय बिताउन पाए हाम्रो पीडा सहन्थ्यौँ । ’

मानसिक क्रूरताका कारण अभिभावकले पैसा मागेको उनका वकिलले बताएका छन् ।