राष्ट्रिय राजनीतिमा एक भिक्षुको भूमिका

राष्ट्रिय राजनीतिमा एक भिक्षुको भूमिका


कुनै पनि देशमा धार्मिक व्यक्ति वा संस्था राजनैतिक मामिलामा सक्रिय हुनुको पछाडि आफ्नो मौलिक उद्देश्यबाट पछि हट्नुभन्दा पनि राष्ट्रियता, धर्म र संस्कृति, जातिगत जीवनपद्धति र अस्तित्वको मुद्दा त्यसभित्र लुकेको हुन्छ ।
  • भिक्षु आनन्द

परमार्थ र प्रसङ्गले भिक्षु जीवन र राजनीति दुई पृथक विषय-क्षेत्रहरू हुन् । तर इतिहास, समय र परिस्थितिसँग लामो सहयात्रा गर्दा दुई अलग परिधिभित्र सीमित भएर पनि अन्तरसम्बन्धको साइनो बाँध्ने अनौठो र चमत्कारिक अवस्था जुर्दोरहेछ । अपरिचित दुई छिमेकी एउटै स्थानमा वर्षौंदेखि आमनेसामने वा छिमेकीको रूपमा बस्दा अन्तरसम्बन्ध र आत्मियता बढ्दै गएझैँ २५ सय वर्षदेखिको समाज, आर्थिक, राजनैतिक तथा भौगोलिक सहयात्राको २१औँ शताब्दीसम्म पुग्दा भिक्षुजीवन र राजनीतिबीच अन्तरसम्बन्ध कायम रहँदै आएको देखिन्छ । इतिहासको हरेक मोडमा एकले अर्कोलाई प्रभाव पार्ने, आपसी सहयोग गर्ने, दुःख साटासाट गर्ने जस्ता प्रवृत्तिहरू विकसित हुँदै आइरहेको देखिन्छ । भलै २५ सय वर्षअघिको समाज-आर्थिक परिवेशमा बुद्धको ‘दसराज धर्म’ जस्तो सुशासनको राजनैतिक उपदेश ‘सप्तअपहरणीयधर्म’ जस्तो राष्ट्रियता र अखण्डताको मार्गदर्शन, आक्रमणकारी कोसल राजा विदूदभको सशस्त्र आक्रमणबाट हुनसक्ने आफ्ना देश र जनताको नरसंहार जोगाउन ‘मातृभूमिको हावासमेत मलाई सुखदायक छ’ भन्ने जात्यानुरागी उद्गार र मातृभूमिप्रतिको प्रेम होस् या २१औँ शताब्दीमा म्यान्मारमा बौद्ध भिक्षुहरूको प्रजातान्त्रिक आन्दोलन नै किन नहोस्, भिक्षुहरूले राजनीति गर्नुहुँदैन भन्नेहरूको मुखमा बुझो लगाइदिएको छ ।

पृथक-पृथक क्षेत्र बीचमा पनि प्रत्यक्ष वा परोक्ष रूपमा चक्रीय सह-सम्बन्ध (Circle-relationship) विद्यमान छ । यसको सरल उदाहरण म मानिस र वनस्पति (वृक्ष/बिरुवा) बीच देख्छु । वृक्षले वातावरणलाई अक्सिजन प्रदान गर्छ । मानिस त्यही अक्सिजन लिएर कार्बनडाइअक्साइड फ्याँक्छ, सोही कार्बनडाइअक्साइडलाई तानेर वृक्ष सप्रिन्छ । यहाँ मानिस र वृक्षबीचको अन्तरनिर्भरता (Inter-dependency) राम्रोसँग देखिएको छ । यसरी मानिस र वृक्ष अत्यन्त भिन्न प्रकृतिको भए पनि अन्तरसम्बन्ध प्रगाढ छ । धर्म, भिक्षुजीवन र राजनीतिबीच पनि अदृश्य तथा सूक्ष्म सम्बन्ध गाँसेको देखिन्छ ।

श्रीलंकामा बौद्धधर्म र सिंहल बौद्धहरूको जुन जातीय, भाषिक, सांस्कृतिक अक्षुण्ण अस्तित्व कायम छ, त्यो श्रीलंकाको राजनैतिक इतिहासमा बेला-बेलामा बौद्धभिक्षुहरूले नेतृत्वदायी राजनैतिक भूमिका निभाउँदै आएकोले नै हो । श्रीलंकाको इतिहास ग्रन्थ महावंशले स्पष्ट रूपमा त्यहाँ भिक्षुहरूले राष्ट्रिय अखण्डता, जातिय उत्थान, सांस्कृतिक संरक्षण, भाषिक अधिकार जोगाउन उल्लेखनीय निभाउँदै आएको बारे स्पष्ट वार्ता गरेको छ । प्रथम शताब्दिमा दुट्ठगाभिणी अभय राजाको दक्षिण भारतीय तमिल आक्रमणकारी राजा एलारको विरुद्धमा लडेको युद्धमा होस्, १८१५ मा ब्रिटिश अधिराज्यवादको विरोधमा वारियपोल श्री सुमंगल नामको भिक्षुले आफ्नो देशको झण्डाको सत्ता ब्रिटिश झण्डा गाड्दा निर्भिक भइ अगाडि सरी ब्रिटिश झण्डा हटाइ श्रीलंकाको राष्ट्रिय झण्डा फहराउन पुग्दा प्राण आहुति गरेको घटना होस्, १९५० ताका विद्योदय र विद्यालंकार जस्तो प्रसिद्ध बौद्ध अध्ययन पीठका दुई भिक्षु संघ ब्रिटिश अधिराज्यवादबाट राष्ट्र जोगाउने र स्वतन्त्रता हासिल गर्ने अभियानमा होस्, समय-समयमा महत्वपूर्ण राजनैतिक भूमिका खेल्दै आएका थिए । वर्तमानमा पनि श्रीलंकाको भिक्षु संघले राष्ट्रिय, धार्मिक, जातिय हक-अधिकार र अस्तित्व संरक्षणको निमित्त उल्लेखनीय भूमिका निभाउँदै आइरहेका छन् । हाल त्यहाँको संसदीय भूमिकासमेतको निर्वाहमा बौद्धभिक्षुहरू सांसदमा छन् ।

भिक्षुजीवन धार्मिक तथा आध्यात्मिक जीवन हो । तर धर्म र अध्यात्मयात्रामा वरिपरिको समाज, आर्थिक, राजनैतिक वातावरण महत्वपूर्ण हुन्छ । यदि वरिपरिको वातावरण प्रतिकूल रह्यो भने अध्यात्मयात्रा असहज र कष्टमय हुन्छ । त्योभन्दा भिक्षु जीवन सामाजिक जीवनकै एक अभिन्न अङ्ग भएकोले धार्मिक, सांस्कृतिक, जातिक, भाषिक, आदि विषय-क्षेत्रसँग आत्मियता बढेको जीवन पनि हो । त्यसैले समाज र वातावरणमा घट्ने प्रत्येक घटना-परिघटनाले भिक्षु जीवनमा पनि प्रभाव पार्न सक्छ । अर्कोतिर समाजबाट पाउने निरन्तर सहयोगले नै भिक्षुजीवन अगाडि बढ्न सक्ने परिस्थिति छ । राष्ट्र र समाज जब सङ्कटग्रस्त परिस्थितिबाट गुज्रिरहेको हुन्छ तब आफ्नो अध्यात्मयात्राको पाश्र्विय सहयोगी क्षेत्र र समाज उक्त सङ्कटबाट बचाउनु उसको नैतिक जिम्मेवारी हो । मौनव्रत वा निस्कृय रहनु परिस्थितिविरोधि हुनु हो । त्यस्तो परिस्थितिमा जातियता, धार्मिक आदर्श, सांस्कृतिक पहिचान आदि आदर्शवाद कम सान्दर्भिक र दोस्रो महत्वको हुन्छ ।

श्रीलंकामा मात्र होइन, अन्य बौद्ध देशका वर्तमान र अतीतका राजनीतिज्ञ इतिहासमा बौद्ध भिक्षुहरूको उल्लेखनीय योगदान रहिआएको हामी पाउन सक्छौँ । थाइल्याण्डमा राजालगायत राष्ट्रका उच्च ओहदाका पदाधिकारीहरू बुद्धधर्म र बौद्धभिक्षुहरूप्रति जुन विशिष्ट सम्मान र प्रतिष्ठा राख्छन्, इतिहासकालदेखि बौद्ध भिक्षुहरू राष्ट्रको र जनताको हितमा शासकवर्ग (राजालाई) लाई आवश्यक अनुशासन, निर्देशन सल्लाह सुझावहरू दिँदै आइरहेका कारणले नै हुन् । केही वर्षअघिको कुरा हो, जब थाइल्याण्ड आर्थिकरूपमा सङ्कटग्रस्ट अवस्था भोगिरहेको थियो तब थाइभिक्षुहरूबाट र बिहारस्थानहरूबाट आर्थिक सहयोग जुटाउन अभियान चलाएका थिए । बिहारका कोषहरूको रकमसमेत राज्यलाई सहयोगस्वरूप उपलब्ध गराइएका थिए ।

म्यानमारमा पनि हालसालै भिक्षुहरूको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन चर्केको थियो । वर्षौंदेखिको सैनिक शासनको शोषण र उत्पीडनबाट म्यानमार जनतालाई मुक्त गराउन आखिर बौद्ध भिक्षुहरू नै सडकमा उत्रिनुप¥यो र आन्दोलनमा होमिनुपऱ्यो । भिक्षुहरूको नेतृत्व गृहस्थी नेतृत्वभन्दा प्रभावशाली, मार्मिक र संवेदनशील हुन्छ, किनकि वहाँहरूका आदर्शयुक्त जीवनपद्धति नै त्यसको रहस्य तथा मूलाधार हो । तिब्बतमा भइरहेको ‘फ्रि-तिब्बत’ आन्दोलन पनि तिब्बती धार्मिक नेता दलाइ लामासमर्थक तथा चीनको दमन र उत्पीडनबाट उद्वेलित जनताको आक्रोश तथा विद्रोह हो । यस आन्दोलन पनि तिब्बती भिक्षुहरूले तेतृत्व गरेको देख्न सक्छौँ ।

यसरी भिक्षु जीवन र राजनीति हेर्दा दुई फरक तथा अन्तरसम्बन्ध नभएको जस्तो देखिए पनि इतिहासको कालखण्डमा घटेका विभिन्न परिस्थितिजन्य घटनाहरूबाट एकअर्कालाई परस्पर सम्बन्धता गाँस्न सहयोग गरेको देखिन्छ । समय र विश्व-परिवेशको घटनाक्रमसँगै धर्म र राजनीति एक आपसमा नजिकिँदै आइरहेको प्रतीत हुन्छ ।

धर्मको मूल उद्देश्य मानिसको मानसिक-सुख, आध्यात्मिक-विकास तथा दुःख (समस्या) बाट मुक्त (निर्वाण) अवस्थासँग एकायन मार्गको रूपमा जोडिएको हुन्छ । जीवन र जगत्, सांसारिक मोह र बन्धनबाट छुट्ने आधारको रूपमा मानिसले धर्मलाई अँगालेको देखिन्छ । तर धर्मको संस्थागत विकासको क्रममा देशीय, क्षेत्रिय, भूगोलिय, जातीय, वर्गीय अनन्यता पनि ग्रहण गरेको देखिन्छ । केवल आध्यात्मवाद, आदर्शवाद, विज्ञानवाद, परमार्थ-दर्शनको रूपमा मात्र नभइ समयसापेक्ष भौगोलिक पहिचानसँगै ती-ती देश र क्षेत्रका हावापानी, जातीय, भेषभुषा, कला, संस्कृति, आर्थिक, सामाजिक, राजनैतिक पहिचान र जीवनशैलीको रूपमा स्थापित हुँदै गए । धर्म अध्यात्म र मोक्षको अलावा मानिसको दैनिक जीवनशैली र उठ्बस समेत हुन पुगे । धर्मको प्रचारसँगै संस्कृति, सभ्यता, कला, भाषा, शिष्टाचारयुक्त जीवनपद्धतिको विकास भयो । मानिसको प्रत्येक बोलिमा धर्मको प्रभाव पर्न थाल्यो । नराम्रो मानिसलाई बोलचालमा ‘अधर्मी’, ‘पापी’ ‘असभ्य’, ‘अशिष्ट’ ‘बाल’ (low), भन्ने शब्द समेत प्रयोग हुन थाले । यसरी धर्मले मानिसको रगत-मासुसँग गहिरो सम्बन्ध राख्न पुगेको देखिन्छ । धर्मबिना आज मानिस जीवन जीउन कठिनाइ महसूस गर्छ । मानिसले आर्थिक तथा भौतिक रूपमा सुविधासम्पन्न जीवन बिताए पनि धार्मिक-महत्वलाई पनि उत्तिकै स्थान दिएको पाइन्छ ।

यसरी कुनै पनि देशमा धार्मिक व्यक्ति वा संस्था राजनैतिक मामिलामा सक्रिय हुनुको पछाडि आफ्नो मौलिक उद्देश्यबाट पछि हट्नुभन्दा पनि राष्ट्रियता, धर्म र संस्कृति, जातिगत जीवनपद्धति र अस्तित्वको मुद्दा त्यसभित्र लुकेको हुन्छ । नेपालमा विगत पचासौँ वर्षदेखि धर्मनिरपेक्षता वा सर्वधर्म-समभावको सवाल उठिरहेको छ, त्यो जातिगत, भाषागत, क्षेत्रगत, वर्गीय मुद्दा पनि हो । बौद्ध तथा अन्य संघ-संस्था, समय-समयमा धर्मनिरपेक्षताको सवाल उठाउँदै राज्यशक्तिविरुद्ध जुलुस, नारा, विरोध कार्यक्रम गर्नुपछाडि बौद्धहरू आफ्नो धर्मलाई हिन्दुधर्मको तुलनामा राष्ट्रिय-मान्यता, कानूनी-मान्यता, समानात्मताको व्यवहार सुनिश्चित गराउनको लागि नै हो ।

जब कुनै पनि धर्म सम्बन्धित देशमा स्वतन्त्रतापूर्वक अभ्यास गर्नबाट वञ्चित-परिस्थिति भोग्नुपरेको हुन्छ; तब ती धर्मका अनुयायीहरूले आफ्नो धर्मको अस्तित्वको लडाइँ लड्नुपर्ने हुन्छ ।

नेपालको इतिहासमा बेला-बेलामा स्वदेशी तथा विदेशी सङ्कटबाट जोगाउन धार्मिक व्यक्तिहरूले उल्लेखनीय भूमिका निभाउँदै आएका छन् । सातौँ शताब्दीतिर शंकराचार्यको आक्रमण र विध्वंश, १३औँ शताब्दीमा बंगालका समसुद्दीन तुगलुक राणाशासनमा जंगबहादुर, चन्द्र शमशेर, जुद्ध शमशेरकोे अत्याचार, ज्यादति र बुद्ध धर्मको दमन-शोषण भिक्षुहरूको देश निकाला, पञ्चायतकालमा पोखरामा शान्तिस्तूपको विनाश, लुम्बिनीमा जापानी भिक्षुको षड्यन्त्रपूर्ण हत्या आदि घटनाक्रमबाट भिक्षुहरूलाई प्रत्यक्ष वा परोक्ष तवरले राजनैतिकरूपमा अगाडि बढ्नुपरेको बाध्यता थियो । यहाँ धर्मको मूल लक्ष्यलाई पछ्याउनु भन्दा अस्तित्व-सङ्कटलाई हल गर्नुपर्ने बाध्यता थियो । दिवंगत आचार्य भिक्षु अम्रतानन्द महास्थविरको तत्कालिन राजपरिवार र सरकारसँग निकटतम, सुसम्बन्ध नभएको भए देशनिकाला गरिएका भिक्षुहरूलाई स्वदेश फिर्ता गराउने अभियान असम्भव थियो । राजा त्रिभुवनको पालामा विश्वबौद्ध सम्मेलन जस्तो महानकार्य असम्भव थियो । विश्वप्रसिद्ध बौद्ध विद्वान् भिक्षु नारद महास्थविरको नेतृत्वमा श्रीलंकाबाट बौद्ध शिष्ट मण्डल (Buddhist Goodwifll/Mission) नेपाल आइ तात्कालीन राना प्राइममिनिस्टर पद्म शमशेरसँग शिष्टाचार भेट गरि देशनिकाला गरिएका भिक्षुहरूलाई स्वदेश फिर्ता गर्ने र वैशाख पुर्णिमाको दिनमा सार्वजनिक बिदा घोषणा गर्ने ऐतिहासिक कार्य सम्भव थिएन । भिक्षु अमृतानन्द महास्थविरले तत्कालिन परिस्थितिमा टुँडिखेलको खुलामञ्चबाट ‘धर्मनिरपेक्षता’ सवालमा सशक्त ढङ्गले पहिलोपटक सार्वजनिक उद्घोष गर्नुभएको थियो । भिक्षु सुदर्शन महास्थविर भाषिक आन्दोलनमा हिरासतमा समेत पर्नुभएको थियो । भिक्षु अश्वघोष महास्थविर तत्कालिन एमाले पार्टीबाट मनोनित भइ प्रतिनिधिसभामा पुग्नुभएको थियो र धर्मनिरपेक्षता सम्बन्धमा पहिलो पटक सरकारको नीति निर्माण गर्ने तहमा धार्मिक सवालका मुद्दाहरू उठाउन सफल हुनुभएको थियो ।

०६२/६३ को जनआन्दोलनपछि स्थापित अन्तरिम सरकारमा माओवादीको तर्फबाट अन्तरिम विधायक तथा ऐतिहासिक निर्वाचनपछिको पहिलो संविधानसभामा मलाई संसदीय भूमिका निर्वाह गर्ने अवसर मिलेको थियो । जीवनशैलीभन्दा पृथक क्षेत्र भएपनि आफ्नो सरोकारका क्षेत्र र विषयहरू सम्बन्धमा राज्यसंयन्त्रको भित्री तहसम्म आवाज उठाउने मौका मिलेको थियो । मैंले आफ्नो संसदीय भूमिका निर्वाह गर्ने क्रममा लुम्बिनीलाई शीघ्र व्यवस्थित विकास गर्नुपर्ने, भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार गर्नुपर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालयलाई औपचारिक रूपमा शीघ्र कार्यान्वयन गर्नुपर्ने, नेपालका सबै धार्मिक स्थललाई शान्तिक्षेत्र (Peace zone) को रूपमा घोषणा गर्नुपर्ने इत्यादि धार्मिक, सांस्कृतिक तथा शैक्षिक सरोकारका विषयहरू नीतिनिर्माण गर्ने तहमा वकालत गर्ने अवसर मिल्नु बौद्धहरूको आवाज र माग राष्ट्रिय तहमा पुऱ्याउनु सक्नु हो ।

तसर्थ एकजना भिक्षु राजनीतिक रूपमा कुनै भूमिका निभाउनु भनेको आफ्नो सरोकार र विषय क्षेत्रहरू सम्बन्धमा मौलिक हक र अधिकार राज्यसत्ताबाट सुनिश्चित गर्न उदार अभियानमा जुट्नु हो, किनभने २१औँ शताब्दिसम्म पुग्दा धर्म र भिक्षुजीवन २५ सय वर्षअगाडिको समाज-आर्थिक-राजनीतिक परिस्थितिबाट अत्यन्त परिष्कृत र परिमार्जित परिस्थितिमा विद्यमान छ । इलेक्ट्रोनिक मिडिया, सूचना संसार, इन्टरनेट र वेबसाइटको जमाना एकातिर छ भने पुरातनिक शैलीमा नै धर्मको संस्थागत तथा सामाजिक प्रचार गर्ने हो भने बौद्धहरूलाई अन्य धर्मको तुलनामा शदियौँ वर्ष पछि पर्नुपर्ने अवस्था सृजना हुन्छ । यहाँनिर उल्लेखनीय कुरा के भने, बौद्ध भिक्षु, सङ्घ वा संस्था यदि समयसापेक्ष आफूलाई अनुकूल नबनाउने, परिस्थितिको होडमा नचल्ने रुढीवादी धारणा नै बोकेर हिँड्ने हो भने हाम्रो अस्तित्व सङ्कटमा छ । वस्तुगत राजनैतिक, सामाजिक, आर्थिक परिस्थितिसँग हातेमालो गर्नुपर्छ भन्ने मेरो धारणा हो । विशेषतः राज्य-सहयोगविना कुनै पनि धर्म, प्रचार र विकास गर्न कठिनाइ पर्ने भएकोले बौद्धलगायत नेपालका सबै धर्मावलम्बीहरूले धर्मको आधिकारिक हक-स्वतन्त्रता, कानूनी-मान्यता, राज्य-सहयोग तथा सहुलियत सुनिश्चित गर्नको लागि उपायशीली भइ समकालिन राज्यशक्तिसँग सम्बन्ध कायम गर्नैपर्छ । जनआन्दोलनपछिको लोकतान्त्रिक व्यवस्थामा सबै धर्मलाई न्यायिक समानता दिलाउने ‘धर्मनिरपेक्षता’ वा ‘सर्वधर्म समभावको’ संवैधानिक व्यवस्था वैधानिकरूपमा सम्मत भइसकेको परिस्थितिमा बौद्धलगायत नेपालका सबै धर्महरूले आ-आफ्नो ठाउँबाट राज्यसँग समन्वय गरि आ-आफ्नो मौलिक धर्म ब्यवस्थित र विकास गरि नेपाललाई पुनः ज्ञानभूमि, तपोभूमि शान्तिक्षेत्रमा परिणत गर्नु आजको आवशयकता हो ।

(लेखक केन्द्रिय बौद्ध अध्ययन विभाग, त्रिविका पूर्व उपप्राध्यापक, २०६२/६३ आन्दोलनपछि पुनःस्थापित अन्तरिम संसदमा अन्तरिम विधायक तथा २०६४ को ऐतिहासिक निर्वाचनपछिको पहिलो संविधानसभामा धार्मिक तथा नागरिक समाजबाट समानुपातिक प्रणालीबाट संविधान सदस्यसमेत हुनुभएको थियो ।)