मोदीको लुम्बिनी भ्रमणको महत्व बुझौँ

मोदीको लुम्बिनी भ्रमणको महत्व बुझौँ


बुद्धजयन्तीको पावन अवसरमा भारतका प्रधानमन्त्रीको भ्रमण नेपाल-भारतको इतिहासमै पहिलोपटक हुँदैछ । यसलाई राजनीतिक/कुटनीतिक दृष्टिकोणबाट नहेरी विशुद्ध सनातनीहरुको साझा तीर्थस्थलको गरिमा तथा यसको महत्त्व विश्वमा उजागर हुन गइरहेको अर्थमा बुझ्नुपर्छ । यो हामी सबै नेपालीको लागि ठूलो गौरवको विषय हो ।
  • मोहन लामा रुम्बा

नेकपा माओवादीको तत्कालिन सरकारमा संस्कृति तथा पर्यटनमन्त्री रहेका गोपाल किरातीले बुद्धको जन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारप्रसार गराउन भन्दै विश्वचर्चित कुंग फु मास्टर तथा अभिनेता ज्याकि च्यान, जु दङयू, टोनी लङ्क, कुनहिङ सुधारत र श्रीलङ्काका सभामुखलाई सद्भावना दूत बनाउने भनेर पत्रकार सम्मेलनमार्फत् घोषणा गरेको थिए । त्यतिबेला भारतीय कलाकारद्वय शाहरूख खान र अभिनेत्री रेखासँग पनि सद्भावना दूतका लागि सहमति माग गरिएको उनले बताइरहेका थिए । बुद्ध जन्मभूमि लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार होस् र बढी भन्दा बढी नेपालमा पर्यटन वृद्धि होस् भनेर उनले गर्न खोजिएको प्रयास त्यतिबेला विभिन्न कारणले सफल हुन सकेन ।

यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध-जन्मभूमि लुम्बिनीको दर्शन गर्न आउँदैहुनुहुन्छ । उहाँको यो ऐतिहासिक भ्रमणले कुनै ज्याकी च्यान, शाहरुख खानको भन्दा धेरै अर्थमा ठूलो महत्त्व राख्छ । हामी नेपालीहरुको लागि पर्यटनको दृष्टिकोणले मात्र नभइ उहाँको यो भ्रमणले बहुआयमिक महत्त्व राख्ने हुँदा नेपालमा लामो समयदेखि Buddha was born in Nepal भन्दै एउटा मिसन चलाउँदै आएका मिसनेरीहरु, जो आजको २१औँ शताब्दीमा पनि बुद्ध कहाँ जन्मेको भनेर अझैसम्म पनि हामी ‘बुद्धु’ नेपालीहरुलाई ब्यानर बोकाएर दौडाउने गर्दैछन्, जसलाई मोदीको भ्रमणले समुचित जवाफ दिनेछ ।

बुद्ध नेपालमा जन्मेको भनेर कराइ हिँड्न कार्यक्रमको नममा करोडौँ खर्च उपलब्ध गराउने उक्त अद्दृश्य संस्थाहरुले नेपालमा लाखौँ बौद्ध धर्मावलम्बीहरु मासिँदै गएको बारेमा चाहिँ बोल्ने गर्दैनन् । तिनको एकमात्र उद्देश्य हो- ‘बुद्ध नेपालमा जन्मेको’ भन्दै हामीलाई सुगा रटाइ गराएर उफारिरहनु, ता कि नेपालीहरुमा छिमेकी भारतप्रति नकारात्मक भाव जागिरहोस् !!

संयुक्त राष्ट्रसंघले बुद्ध जन्मभूमि लुम्बिनीको उत्खनन् गरेको छ । युनेस्कोद्वारा अनुगमन तथा संरक्षण भइरहेको छ, तर अझैसम्म पनि हामी नेपालीचाहिँ बुद्ध कहाँ जन्मेको ? भन्दै सर्टिफिकेट बोकेर दौडन्छौँ । यो भन्दा हास्यास्पद अरु केही हुनसक्छ ? बुद्ध जन्मभूमिको निर्विवाद कुरामा अरुले होइन हामी आफैंले जानीनजानी विवाद उठाइरहेका छौँ । आजको युगमा विश्वका करोडौँ बौद्ध अनुयायीलाई बुद्ध कहाँ जन्मेको भनेर रटाउन खोज्नु भनेको मुस्लिमलाई हजरत मुहम्मद र इसाईलाई यशु कहाँ जन्मेको भनेर घोकाउन खोज्नु जस्तै हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यस भ्रमणले ‘Buddha was born in Nepal ‘ भन्दै लामो समयदेखि नेपालमा परियोजना चलाइरहेका अन्तर्राष्ट्रिय संस्था र त्यसमा जागिर खाइरहेका कर्मचारीहरुलाई ठूलो धक्का पुग्ने भएको छ, एउटा अन्तर्राष्ट्रिय जगतमा चर्चित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बुद्ध जन्मस्थलको दर्शन भ्रमणमा आउनु भनेको बुद्ध कहाँ जन्मेको हो भनेर समाचार नै प्रमाण बन्न पुग्छ र हाम्रो लुम्बिनीको निशुल्क विज्ञापन !

हामीले अर्बौं रुपैयाँ खर्च गरेर विज्ञापन गर्नुपर्नेमा सित्तैमा लुम्बिनीको विश्वव्यापी समाचार प्रशारणमार्फत विज्ञापन हुँदैछ, यसबाट हामीले के कसरी पर्यटन क्षेत्रमा लाभा लिन सक्छौँ, भ्रमणलाई बढी भन्दा बढी अन्तर्राष्ट्रिय जगतमा कसरी प्रचारप्रसार गर्न सक्छौँ भनेर सम्बन्धित पर्यटन क्षेत्रका व्यवसायी सरकारी अधिकारीहरु यससम्बन्धी गृहकार्यमा जुट्न पर्‍यो ।

नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलगत्तै ह्वात्तै बढेको धार्मिक पर्यटकहरुको घुइँचोले मुक्तिना आसपास अव्यवस्थित भएर व्यथिति बढेको थियो । त्यसलाई मध्यनजर गर्दै लुम्बिनीको यसपटकको भ्रमणपश्चात् हुने आगन्तुक दर्शनार्थीहरुलाई कमसेकम लुम्बिनीमा आएका पर्यटकलाई वरिपरिको बुद्ध तीर्थस्थल भ्रमण गराउन सक्ने वातावरण तयार गर्न सके उत्तम हुने थियो ।

यहाँनेर एउटा कुराको जानकारी पनि राखौँ, भारतका प्रधानमन्त्री मोदीले बेला बेलामा ‘हमारे बुद्धभूमि भारत…’ भन्दा धेरै नेपालीहरुलाई नपचेको देखिन्छ, तर त्यो अल्पज्ञान हो । भारत नेपाल दुवै बुद्धभूमि हुन् । ऐतिहासिक शाक्यमुनी बुद्ध नेपालमा जन्मेका हुन् भने पौराणिक धेरै बुद्धहरु नेपाल र भारत दुवै देशमा जन्मेका थिए । उदाहरणका लागि पौराणिक काश्यप बुद्ध उत्तर प्रदेशको टंडवा भन्ने गाउँमा जन्मेको हुन् भने नेपालमा कोणागमन (कनकमुनी) बुद्ध निगलिहवामा जन्मेका थिए । यस्ता धेरै पौराणिक बुद्धहरु छन् जुन दुवैतर्फ जन्मेका छन् । दुवैतर्फ पवित्र तीर्थस्थलहरु छन् । त्यसैले भारतले बुद्धभूमि भनेर गर्व गर्दा हामीले स्वाभाविक रूपमा लिनुपर्छ । बरु अन्तर्राष्ट्रिय बौद्ध पर्यटकहरु ९० प्रतिशत भारत पुग्छन्, त्यसलाई कसरी नेपालतर्फ ल्याउने, आएका पर्यटकहरु पनि एकदिने लुम्बिनीको भ्रमण गरेर तुरुन्तै फर्किने गरेकोले नेपाल आर्थिक रूपमा लाभान्वित हुन सकिरहेको छैन । यसलाई कसरी सुल्झाउने भन्नेतर्फ सम्बन्धित क्षेत्रमा संलग्न पात्रहरूले दीर्घकालीन योजना तयारीमा जुट्नुपर्छ ।

२५६६औँ बुद्ध जयन्तीको पावन अवसरमा भारतका प्रधानमन्त्रीको भ्रमण नेपाल-भारतको इतिहासमै पहिलोपटक हुँदैछ । यसलाई राजनीतिक/कुटनीतिक दृष्टिकोणबाट नहेरी विशुद्ध सनातनीहरुको साझा तीर्थस्थलको गरिमा तथा यसको महत्त्व विश्वमा उजागर हुन गइरहेको अर्थमा बुझ्नुपर्छ । यो हामी सबै नेपालीको लागि ठूलो गौरवको विषय हो । तर दुःखद कुरा नेपालको मिडिया क्षेत्र जो हरबखत सलमान खानको विवाह कहिले हुन्छ, भारती सिंहले भर्खरै बच्चा जन्माइन् … जस्ता शीर्षकमा समाचार दिन होडबाजी गर्छन्, अनि Buddha was born in Nepal भन्दै उफ्रेर हिंड्ने पात्रहरू यतिबेला सबै चुपचाप छन्, किन होला ?