९ जेष्ठ २०७९, सोमबार

प्रेस स्वतन्त्रता, महँगी र इमानदार पत्रकारिता

  प्रकाशित मिति
२९ बैशाख २०७९, बिहीबार ०४:३२


सर्वसाधारणलाई सत्य तथ्यबाट टाढा राख्ने आक्रामक सत्तानीति, सामान्य मानिसलाई सूचनाबाट मुक्त गर्ने अनैतिक रणनीति या आर्थिक रणनीतिले टाउको उठाएको लोकतन्त्रमा स्वतन्त्र प्रेस र इमानदार पत्रकारिता मौलाउन थप कठिन हुँदै छ ।
  • दीपेन्द्र पाण्डे

३ मे २०२२ को विश्व प्रेस स्वतन्त्रता दिवसको निम्ति Reporters Without Borders (RSF) ले १८० देशमा पत्रकारिताको स्थितिको आँकलन गर्दै विश्व प्रेस सूचकाङ्क प्रकाशित गऱ्यो । प्रेस स्वतन्त्रताको क्षेत्रमा सबैभन्दा खराब राष्ट्र मध्य म्यानमार, चीन, तुर्कमेनिस्तान, इरान, इरिट्रिया र उत्तर कोरिया सामेल गरेको सुचीमा नर्वे, डेनमार्क, स्विडेन, एस्टोनिया, फिनल्यान्ड क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा पर्न सफल भए । दक्षिण एसियामा बङ्गलादेश १६२, पाकिस्तान १५७, भारत १५०, श्रीलंका १४६औँ स्थानमा रहन बाध्य भएको समयमा नेपालले अघिल्लो सालको १०६ स्थानबाट ७६औँ स्थानमा उक्लिन सफल हुँदै विश्वको दृष्टिमा सामान्य इज्जत कमाएको छ ।

‘आरएसएफ’को तथ्यगत दाबीअनुसार सन २०२१ को सैनिक ‘कू’पश्चात् म्यानमारमा पत्रकारिता सबैभन्दा जोखिमको पेसा बन्न पुगेको छ । जेल बस्न, सेनाको अत्याचार सहन, उस्तै परे जीवन नै गुमाउन तयार हुने पत्रकारहरूको मूल्याङ्कन गर्दै ‘आरएसएफ’ले स्वीकार गरेको छ- म्यानमार सैनिक सत्ताको विरोधमा कलम चलाउनु मृत्युसँग कुस्ती खेलेसामान छ । प्रलोभन, धम्की, यातनाबाट नतर्सिएका थुप्रै पत्रकार जेलमा छन् । तीन पत्रकारको हत्या गरिएको छ । यसैगरी इरानमा सन् १९७९ देखि २०२२ सम्म सरकारद्वारा एक हजार भन्दा धेरै पत्रकार गिरफ्तार गरिएको छ । थुप्रै पत्रकारको हत्या गरिएको छ । गायब पारिएको छ । इरानी सत्ताले विदेशी पत्रकारलाई समेत बाँकी राखेको छैन ।

यसैगरी चीनको जेलमा १२० पत्रकार रहेको ‘आरएसएफ’को रिपोर्टमा उल्लेख छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि धावा बोलेपछि प्रेस स्वतन्त्रताको स्थिति थप गम्भीर बन्दै छ । युक्रेन आक्रमणपश्चात् स्वतन्त्र मिडियामाथि रुसले प्रतिबन्ध लगाएको छ । क्रेमलिनले सत्यतथ्य पस्किने मिडिया र पत्रकारलाई ‘विदेशी एजेन्ट’ घोषित गरेको छ । चर्को सैन्य सेन्सरसिपबाट मिडिया गुज्रँदै छ । थुप्रै पत्रकारले निर्वासन रोजेका छन् ।

वैश्ययुगको सत्ता मिडियासँग तर्किन रुचाउँछ । अनुपयुक्त दबाब दिँदै आफ्ना कमजोरीलाई जनता बीच पुग्न नदिन सत्ताले हरदम कोसिस गरिरहेको हुन्छ । यसैगरी प्रेस स्वतन्त्रलाई आफ्नो मात्र विशेषाधिकार ठान्ने र मान्ने शक्तिले यसको ‘महिमा र लाभ’ सर्वसाधारण या सम्पूर्ण समुदायसम्म पुगेको देख्न रुचाउँदैन । गरिब मुलुकमा सत्ताको दुरुपयोग रोक्ने काम स्वतन्त्र मिडियाले मात्र गर्न सक्छ भन्ने बुझेको सत्ताले ‘व्यावसायिक र नीतिगत’ भ्रष्टाचार रोक्न मरिहत्ते गर्ने स्वतन्त्र प्रेसको अतुलनीय भूमिका खोस्न चाहन्छ ।

विश्व-पुँजीवादको आक्रामक उपस्थिति र वैश्ययुगको आतङ्कमा स्वतन्त्र प्रेसको एकल परिभाषा के हुन सक्छ या के हुनुपर्छ ? David Dayen भन्छन्- वास्तवमा स्वतन्त्र प्रेसको अर्थ प्रेसलाई बचाउन लिने विचार हो । स्वतन्त्र प्रेसको जगमा उदाएको पेशेवर समाचार प्रकाशनले ‘फ्री प्रेस’को दुरुपयोग गर्न सत्तासँग सहकार्य गर्न तम्सिन्छ । अति विशिष्ट र आर्थिक कारणप्रति अधिक संवेदनशील बन्न नसकेको राजनीतिमा पेशेवर पत्रकारितामाथि मुद्रास्फीतिको प्रभाव समेत थपिएको समयमा स्वतन्त्र प्रेस जीवित राख्न सानो कर्मले सम्भव देखिएन । स्वतन्त्र प्रेस देखाउन भन्दा बचाउन कठिन वैश्य युगमा उच्चस्तरको पत्रकारिता सोसल मिडियाको खतरनाक ‘विचार र बाढी’को दलदलमा भासिने खतरा चुलिएको छ । द न्युयोर्क टाइम्सका अनुसार मुद्रास्फीतिको आक्रामक वृद्धिले उपभोक्ताहरू आफ्नो दैनिक खर्च घटाउन मजबुर बन्दै छन् । जसले गर्दा स्वतन्त्र पत्रकारले पाठकबाट सिधै प्राप्त गर्ने योगदान खुम्चिन जानेछ । मुद्रास्फीतिको आकासिँदो चपेटामा स्वतन्त्र लेखक, ब्लगर र मिडिया हाउसको कमाउने आधार थप कठिन र अनिश्चित बन्दै छ ।

वैश्य युगको आक्रामक उपस्थितिमा महँगीको महत्त्व कति छ ? विश्व पुँजीवादले नबुझ्ने कुरै रहेन । गरिबलाई राजनीति र पुँजीवादी अर्थनीतिको बारेमा सोच्ने फुर्सदसम्म नदिएर केवल ‘मुसा दौडमा’ व्यस्त राख्न सफल वैश्य युगमा महँगीको आतङ्क रोकिने सङ्केतसम्म देखिँदैन । केवल पेट पाल्न मुस्किल आम्दानीमा मौलाएको महँगीको कारण कति मानिस गरिबीको रेखामुनि पुगे ? अनुसन्धान गर्ने दुःख सत्ताले गर्दैन । पत्रिका र पत्रकारको बलमा गरिएको महँगीको चर्चालाई सत्ता र उसका अङ्गहरूले गोष्ठी र सेमिनारको सस्तो मसला बाहेक केही ठान्दैन । महँगी र गरिबीमा प्रेस स्वतन्त्रता कति मौलाउन सक्छ ? अङ्कगणितको शैलीमा जवाफ खोज्न र पाउन कठिन छ । संविधानसभाबाट संविधान जारी गरेसँगै पाइला-पाइलामा कथित उपलब्धिको औचित्यहीन गर्व गर्ने दलीयतन्त्र र राजनीति हाबी भएको अवस्थामा मुलुकवासीको आवाज थप मधुरो बन्दै छ । केवल कुर्सीकेन्द्रित राजनीति हाबी भएको हाम्रो लोकतन्त्रमा प्रेस स्वतन्त्रताको विश्व ऱ्याङ्किङलाई सत्ताले दुरुपयोग गर्ने खतरा रहिरहन्छ । तर १५औँ नम्बरबाट चौथो स्थानमा उक्लेको एस्टोनियाले प्रेस स्वतन्त्रतालाई सदैव सम्मान गर्दा घटेको एउटा घटना थप रोचक बन्न पुगेको छ ।

महँगीको दलदलमा मिडियाको स्वास्थ्य फस्न पुगे लोकतन्त्र र पत्रकारिता दुब्लाउने छ । फलस्वरूप पैसाको तागतमा हुने दुष्प्रचारले नागरिकलाई नियन्त्रित गर्ने कोसिस थप मौलाउन सक्छ ।

एस्टोनियामा सन् १८५७ देखि एक अखबार निस्किरहेको छ, जसलाई ‘Postimees’ नामले पुकारिँदै आएको छ । सन् १९०१ देखि निरन्तर रूपमा ‘आधिकारिक जर्नल’ प्रकाशित गर्न सत्ताले सहयोग गरिरहेको मुलुकमा स्वतन्त्र प्रेसको महत्त्व र अधिकार जनस्तरमा फैलिएको छ । मिडिया र पत्रकारको समाजप्रतिको दायित्व गज्जबले स्थापित भएको एस्टोनियाको एक अदालतले ‘Eesti Express’ मा काम गर्ने दुई पत्रकारलाई एक-एक हजार युरो जरिबाना गऱ्यो । गैरकानुनी आर्थिक कारोबारमा संलग्न भएको आशङ्कामा पत्रकारले सबैभन्दा ठुलो बैंकको पूर्व अधिकारीमाथि समाचार लेखे । पत्रकारले दिएको तथ्य र समाचारमाथि अदालतले विश्वास गऱ्यो तर राष्ट्रहितको निम्ति उक्त समाचार छपाउनु गलत थियो भन्दै फैसला गरिदियोे । अदालतको फैसलापश्चात् पत्रिकाले लेख्यो- अदालतले तय गर्न सक्दैन कि कुन कुरालाई मिडियाले जनतासामु ल्याउनुपर्छ । अखबारले आफ्नो समाचारमा अडिग रहँदै भन्यो- ‘हाम्रो रिपोर्ट सही छ ।’ मिडियाको दाबी थियो- ‘पत्रिकाले के छाप्ने, के नछाप्ने अदालतले कसरी तय गर्न सक्छ ?’ यसबाट बुझ्न सकिन्छ कि एस्टोनियामा मिडिया कति स्वतन्त्र छ । फैसलापश्चात् मिडियाले आश्वस्त पार्दै लेख्यो- हामी मिडिया हुनुको अर्थ तपाईंहरूलाई महसूस गराइरहने छौँ ।

वैश्य युगको राजनीतिमा पछिल्लो समय हरेक समस्याको दोष कोभिड-१९ को थाप्लोमा हालेर उम्किने कोसिसमा असफल सत्ताहरू सक्रिय छन् । सामान्यतया महँगीको न्यूनतम सिद्धान्त सर्वसाधारणले बझ्छन्, साथै स्वीकार पनि गर्छन् । तर महँगीको कारण उनीहरूको दैनिकी कुन स्तरमा खल्बलिएको छ- शब्दमा बयान गर्न असमर्थ छन् । उनीहरूको गुनासो यति मात्र रहँदै आएको छ, सत्ताको नालायकीको सजाय निर्दोष र गरिब समुदायको थाप्लोमा परेको या पारिएको विषय मिडियाले समेत अनदेखा गर्दैछ । मद्रास्फीतिको कारण बेरोजगारी सामान्य रूपमा कम होला तर इमानदार पत्रकारिताको निम्ति नोक्सानदायक हुन सक्छ । जब विकासको गति सुस्त हुन्छ, बेरोजगारी डरलाग्दो ढङ्गले बढ्न जान्छ । जसले मद्रास्फीतिलाई दुई अङ्कमा हिँडाउन बाध्य बनाउँछ । आर्थिक सङ्कट र मद्रास्फीतिले गाँजेको राजनीतिमा स्वतन्त्र पत्रकारिता थप धरापमा पर्न सक्छ ।

पत्रकारितामा विश्वासको महत्त्व अतुलनीय छ । कथम् कदाचित या सामान्य असावधानीबाट हुने नोक्सानीको क्षतिपूर्ति गर्न पत्रकारिताकालाई झण्डै-झण्डै मुस्किल पर्ने छ । स्वतन्त्र पत्रकारिताले आफ्नो स्थान, महत्त्व र निष्पक्ष भूमिका जोगाउन नसके प्रतिक्रियावादी र फेसबुके समूहले अनुपयुक्त फाइदा लिन सक्ने छ । आर्थिक सफलताको पछाडि कुद्ने मिडिया हाउसले सत्य समाचारमा मितव्ययिता अपनाउन सक्छ । जसले समाचार, सूचनाप्रति सर्वसाधारणको सोच बदलिन सक्छ । जसले गर्दा धनी र गरिबबीच ज्ञानको असमानता बढाउने छ । लोकतन्त्रले प्रेसलाई चौथो अङ्ग मान्न मजबुर भएको समयमा पत्रकारको निजी समस्या र आर्थिक कमजोरी सत्ताको निम्ति वरदान बन्न सक्छ । महँगीको दलदलमा मिडियाको स्वास्थ्य फस्न पुगे लोकतन्त्र र पत्रकारिता दुब्लाउने छ । फलस्वरूप पैसाको तागतमा हुने दुष्प्रचारले नागरिकलाई नियन्त्रित गर्ने कोसिस थप मौलाउन सक्छ ।

वैश्ययुगको महँगीमा पत्रकारको जीवन कठिन भन्दा कठिन बन्नुले स्वतन्त्र पत्रकारिता थप सङ्कटबाट गुज्रिँदै छ । गुगल, फेसबुक, अनलाइन विज्ञापनले थला पर्न थालेको मिडिया हाउसहरू स्वतन्त्र प्रेस जोगाउन नयाँ लडाइँ लड्दै छन् । रणनीतिक लगानी, सत्ताको आशीर्वादले चम्केका व्यक्ति र मिडिया हाउसको एकाधिकार र विज्ञापनको चक्रबाट मुक्त हुँदै बाँच्नुपर्ने स्वतन्त्र मिडियाको अवस्था सोचे जस्तो सरल छैन । समाचारको खोजी गर्नु र लक्षित वर्गसम्म पुऱ्याउने मार्गमा आउने समस्याको बयान गरेर स्वतन्त्र प्रेस बाँच्न सक्ने देखिँदैन । आर्थिक समस्याको भट्टीमा पोलेर निकालेको वास्तविक समाचारले सर्वसाधारणको मन जित्न सफल हुनुलाई पुरस्कार मानेर बाँच्न नसक्ने मिडिया र पत्रकार जोगाउने कार्य कुर्सीकेन्द्रित सत्ताले गर्ने देखिँदैन । सर्वसाधारणलाई सत्य तथ्यबाट टाढा राख्ने आक्रामक सत्तानीति, सामान्य मानिसलाई सूचनाबाट मुक्त गर्ने अनैतिक रणनीति या आर्थिक रणनीतिले टाउको उठाएको लोकतन्त्रमा स्वतन्त्र प्रेस र इमानदार पत्रकारिता मौलाउन थप कठिन हुँदै छ ।


360
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९

भारत जम्मू कश्मीरको रामवन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यु भएको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा