स्वेताले देउवाको हातबाट काङ्ग्रेसको टीका लगाएपछि…

स्वेताले देउवाको हातबाट काङ्ग्रेसको टीका लगाएपछि…


चर्चित सिने अभिनेत्री एवम् निर्मात्री स्वेता खड्का हालै आफ्ना केही सहकर्मीहरूसहित विधिवत रूपले नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेकी छन् । काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै स्वेता, भुवन केसी, रविन्द्र खड्का जस्ता हस्तीहरूलाई टीका लगाएर पार्टीमा प्रवेश गराएका छन् । चर्चित कलाकारहरूको काङ्ग्रेस-प्रवेशले सम्बन्धित क्षेत्रमा खास चर्चा पायो । कतिले उनीहरूको यस कदमको आलोचना गरे भने कैयनले जमेर प्रशंसा पनि गरे । तर, प्रशंसा गर्नेभन्दा आलोचना गर्नेहरू नै भारी परेजस्तो महसूस भएर हुनुपर्छ, वौद्धिक पहिचान समेत बनाएकी स्वेताले सामाजिक सञ्जालमार्फत् आफू काङ्ग्रेस प्रवेश गर्नुको रहश्य खोलिदिइन् । आखिर किन उनले स्थानीय निर्वाचनको मुखैमा काङ्ग्रेस ज्वाइन गरिन् त ? जानकारी लिऔँ स्वेताकै शब्दमा ।

‘कलाकारिता, ब्यवसाय अनि समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतिक मूलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखि नै महामानव विशेस्वरप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्ततः उनै महामानवको बिचारधारामा आफुलाई समाहित गर्दै नेपाली काङ्ग्रेससँग आफ्नो आवद्धता जनाएकी छु । मैले लिएको यो राजनैतिक निर्णयप्रति विभिन्न क्रिया-प्रतिक्रियाहरू अवश्य नै प्राप्त हुन्छन् । यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रियाहरूलाई म सुझावको रूपमा ग्रहण गर्दै मेरो राजनैतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु ।

एउटा कलाकारले कुनै एक पार्टीको ब्यानरभित्र समाहित हुनु हुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारिता नै गर्नुपर्छ राजनीति गर्नु हुन्न भन्ने धारणाको प्रतिवादस्वरुप मैले नेपाली काङ्ग्रेसको राजनीतिक सिद्धान्तमा आफुलाई समाहित गराएकी छु । यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्व-संवाद, स्व-विश्लेषण र स्व-विचार गरेकी छु । मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जति नै टाढा रहन खोजे पनि हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै । त्यो प्रभावलाई हामी कदापि नकार्न सक्दैनौँ । अतः राजनीतिको यो अक्षुण्ण प्रभावलाई आत्मसात गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, विकासप्रेमी तथा बुद्धिजीवी वर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।

राजनीति विशुद्ध ‘सामाजिक सेवा’को क्षेत्र हो न कि ‘व्यावसायिक पेशा’ । राजनीतिलाई कमाइ गरीखाने माध्यमको रूपमा प्रयोग गरी अकुत सम्पत्ति आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरूलाई विस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनुपर्ने आवश्यकता महसूस गरेकी छु । सधैं राजनीतिलाई ‘फोहोरी खेल’को रूपमा परिभाषित गर्दै नेताहरूप्रति ‘धारे हात’ लगाउने अनि गालीको वर्षा गर्ने हाम्रो निष्कृय प्रवृत्तिलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिस्सा हुनु जरुरी छ । यसको लागि राजनीति नै एउटा उत्तम माध्यम हो । मैले यही माध्यमलाई आत्मसात गरेकी हुँ । यसको लागि मैले आदरणीय बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।

मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्धान्त खराब हुँदैन । त्यो सिद्धान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो । एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा लगायत सबै दलका संस्थागत सिद्धान्तहरू राम्रा छन् । सबै दलले विकास, समृद्धि र परिवर्तनको एजेण्डा उठाएका छन् तर ती एजेण्डाहरू कार्यान्वयन तहमा असफल भएका मात्र हुन् । यही असफलताका कारण उद्योग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटनलगायतका सबै क्षेत्रहरू प्रभावित भएका छन् । हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यसको प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ । अतः केही सीमित ब्यक्तिहरूको स्वार्थका कारण असफल भएका ती एजेण्डाहरूलाई सफल बनाउनको निमित्त हामी सबैको सक्रियताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको ‘लेउ’लाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आफैंले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ । अतः सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यसको सरसफाइको लागि हाम्रो सक्रियता खाँचो छ ।

मैले आफ्नो राजनैतिक सक्रियताको लागि भने नेपाली काङ्ग्रेसलाई चुनेकी छु । मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई नेपाली काङ्ग्रेसको सिद्धान्तलाई अँगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहम् भूमिका खेल्ने नेपाली काङ्ग्रेस जस्तो विशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्युप्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई सधैं हिम्मत, हौसला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरू लगायत मेरा शुभचिन्तकहरूप्रति म हार्दिक नमन गर्दछु । विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रूपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु । नेपाली काङ्ग्रेसको नीति, सिद्धान्त र यसको मूल्य मान्यतालाई आत्मसात गर्दै कुनै ब्यक्तिगत स्वार्थहरू नराखी स्वच्छ रूपमा सामाजिक विकास र विसुद्ध ‘सेवा’को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रूपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन । साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरूको हकहितको निमित्त आफ्नो आवाज बुलन्द गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ सशक्त रूपमा अगाडि बढाउनको निमित्त नेपाली काङ्ग्रेससँगको आवद्धताले मलाई थप मार्ग प्रशस्त गराउनेमा विश्वस्त छु ।

अन्तमाः हरेक ब्यक्तिलाई आ-आफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो वेचारिक सिद्धान्तसँग मेल खाने राजनैतिक दलसँगको निकटता, आवद्धता वा सहकार्यपश्चात् पनि फरक विचार राख्ने कुनै ब्यक्ति वा दलप्रति मेरो कुनै पुर्वाग्रह रहने छैन । जो जहाँ रहेपनि, जो जता गए पनि, देश र जनताको निमित्त निःस्वार्थ भावले काम गर्न सकौँ । जय नेपाल !