नक्कली तुसाहिटी र ‘स्टोन क्यान्सर’को पीडा

नक्कली तुसाहिटी र ‘स्टोन क्यान्सर’को पीडा


इतिहास

  • सुनिल उलक

पाटन दरबार क्षेत्रको भ्रमणमा धेरैजसो पुग्ने गर्दछन्, तर त्यहीँ रहेको पाटन सङ्ग्रहालयभित्र खासै पस्दैनन् । किनकि, यो त विदेशीले मात्र हेर्ने झैँ मानिन्छ । यही पाटन सङ्ग्रहालयभित्र छ ऐतिहासिक सुन्दरी चौक तथा तुसाहिटी ।

वि.सं. १६७५ देखि १७१६ सम्म पाटनमा राज्य गरेका सिद्धिनरसिंह मल्लले पाटन क्षेत्रमा धेरै धार्मिक तथा सांस्कृतिक महत्वका कामहरू गरे । कृष्णबाट प्रभावित भएर शिखरशैलीमा कृष्ण मन्दिर बनाएका थिए । यसैगरी कार्तिक नाचको शुरुवात गराए । पाटन दरबार क्षेत्रभित्र निकै सुधार गराए । थुप्रै मन्दिर तथा बिहारहरूको पनि निर्माण गराएका थिए ।

यसैमध्य उल्लेख गर्नैपर्ने पाटन दरबारको सुधारको क्रममा बनाएका तीन चोकहरू थिए – मूलचोक, केशवनारायण चोक तथा सुन्दरी चोक । सुन्दरी चोक पाटन दरबारभित्रका अन्य चोक भन्दा निकै सुन्दर छ । चारैतिर आकर्षक झ्यालसहितका दरबार र बीचमा ठूलो खुला चोक । चोकको बीचमा अति नै आकर्षक धारा- जसलाई तुसाहिटी भनिन्छ । यो हिटी अर्थात् धारा ढुङ्गेधारा नै भए पनि यसको सजावट भने भिन्न प्रकारको छ ।

बि.सं. १७०४ मा जमिनको सतहभन्दा करिव ५ फिट तल तीनतिर विभिन्न ५२ वटा देवीदेवताको आकर्षक ढुङ्गेमुर्तिहरूले सजिएको तथा बीचमा अति राम्रो ढुङ्गेधारालाई सुनको जलप लगाएर बनाइएको छ । ‘तु’ भन्नाले उखु तथा ‘सा’ भन्नाले रस, अर्थात् उखुको रस जस्तै मिठो पानी आउने भएकोले यो धाराको नाम तुसाहिटी रहन गएको हो । तर यसमा पनि केही अन्य तर्क पनि छन् । तुंसालेगु हिटी अर्थात् इनारको पानी यो धाराबाट आउने हुँदा तुंसाहिटी तथा थुँसाहिटी अर्थात् धाराको मुखको आकृति राँगोको मुख जस्तो भएकोले थुँसाहिटीबाट तुसाहिटी भएको भन्नेहरू पनि छन् ।

धारा त धेरै ठाँउमा भए पनि यो धाराको महत्व विशेष हुनुको कारण यो शाही स्नान गरिने धारा भएको भन्ने गरिन्छ । तर यस तर्कलाई अस्विकार गर्नेहरू पनि छन् । चारैतिर देवीदेवताको मुर्ति राखिएको धारामा राजा वा अन्य परिवारले कसरी नुहाउन सक्छ भन्ने तर्क दिइन्छ । अति नै धार्मिक प्रवृत्तिका सिद्धिनरसिंह मल्लले त्यहाँ नुहाउनै सक्दैनन् भन्ने धेरै छन् । तैपनि दरबारभित्रको धारा केवल सजावटको लागि मात्र बनाइएको भने पक्कै होइन । यसको उपयोग नुहाउन नै गरिन्थ्यो । धारासँगै राखिएको ठूलो चारपाटे ढुङ्गाको उपयोग नित्यकर्मको लागि गर्दथे । झण्डै १० इन्च मोटो तथा ८ फिट लम्बाइ र ४ फिट चौडाइको यो ढुङ्गामा बसेर राजा सिद्धिनरसिंह मल्लले दैनिक स्नानपछि योग तथा ध्यान गर्दथे ।

२०६७ सालमा पाटन दरबार क्षेत्रमा पूनःनिर्माणका कामको थालनी भएको थियो । थालनी भएको केही समयमा नै ऐतिहासिक महत्वको तुसाहिटी चोरी भयो । यस धाराको चोरीले ठूलै हल्लाखल्ला पनि भयो । छिटो-छिटो पाटनका मुर्तिकारहरूलाई उस्तै तुसाहिटी बनाउन लगाइयो । तर संयोगले चोरी भएको एक वर्ष नहुँदै २०६८ भदौ २४ गते शनिबार प्रहरीले वास्तविक तुसाहिटी भेट्टायो । तर तुसाहिटी भेटिए पनि सुरक्षाको नाममा वास्तविक तुसाहिटी सुन्दरी चोकमा राखिएन, बरु नक्कली तुसाहिटी राखियो ।

आज पनि वास्तविक तुसाहिटीलाई सङ्ग्रहालयमा नै राखिएको छ भने उस्तै प्रकारको पछि बनाइएको तुसाहिटी यहाँ जडान गरिएको छ । यो त भयो हिटीको कुरा । हालसालै तुसाहिटीमा पाटन दरबार संग्रहालयका कार्यकारी प्रमुखका साथ दरबार क्षेत्र विस्तृत रूपमा घुम्दै गर्दा तुसाहिटीवरपर बनाइएका मुर्तिहरू रहेको ढुङ्गामा भने स्टोन क्यान्सर लागे झैँ देखेपछि मैले सोधेँ– ‘के भएको यस्तो ?’ सङ्गहालयका प्रमुखबाट ‘भित्र-भित्र पानी पसेर यस्तो भएजस्तो छ, ट्रिटमेन्ट गर्दैछौँ’ भन्ने जानकारी पाइयो । हेरौँ अबका वर्षमा कत्तिको उपचार हुन्छ !

(प्रस्तुत तस्बिरमा वास्तविक तुसाहिटीको चोरीपछि उस्तै बनाइएको तुसाहिटीको प्रतिकृति । दोश्रो तस्बिर तुसाहिटी रहेको महत्त्वपूर्ण मुर्तिहरू रहेको ठाउँमा आकर्षक आकृतिहरू कुँदिएको ढुङ्गामा लागेको ‘स्टोन क्यान्सर’, यसको समयमै उपचार नगरिए यसले समुच्च भाग नै कुरुप बनाउने छ ।- ले.)