२६ जेष्ठ २०८०, शुक्रबार

कवि कृसु क्षेत्री व्यथित वनिताश्री सम्मानबाट सम्मानित

  प्रकाशित मिति
२५ बैशाख २०७९, आइतबार १७:२५


साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाई विशेषतः काव्यजगत्मा विलयन कविताको माध्यमबाट नयाँ तरङ्ग ल्याउन सफल क्षमतावान् सुन्दर शब्द शिल्पी कवि कृसु क्षेत्रीलाई व्यथित काव्य वनिताश्री सम्मान-२०७८ बाट सम्मानित गरिएको छ ।

आज एक विशेष समारोहमा वनिता त्रैमासिककी सम्पादक तथा प्रकाशक लक्ष्मी उप्रेतीले क्षेत्रीलाई सम्मान गर्नुभयो । सो अवसरमा उप्रेतीले कवि क्षेत्री साहित्यका अतिरिक्त कूटनीतिमा पनि अत्यन्त चर्चित रहेकाले यो सम्मानबाट पुरस्कृत व्यक्तित्वमात्र नभई पुरस्कार दिने संस्था पनि सम्मानित भएको बताउनुभयो ।

झापामा जन्मेका कवि क्षेत्री कविताका अतिरिक्त गीत, गजल, मुक्तकमा सिद्धहस्त रहेको र सम्पादनमा समेत प्रसिद्ध भएको उनका मित्र तथा विलयन लेखनका अर्का प्रवर्तक मनोज न्यौपानेले जानकारी दिनुभयो । विलयन लेखनकै अर्का सहयात्री चेतनाथ धमलाले कवि क्षेत्रीको ‘चराको गीत’ अत्यन्त लोकप्रिय कविता सङ्ग्रह रहेको र उक्त सङ्ग्रह नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रममा समेत परेको जानकारी दिनुभयो ।

कृसु क्षेत्रीले हालै सम्पादन गरेको ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक बृहत् ग्रन्थसमेत त्रिभुवन विश्वविद्यालयको एम फीलको पाठ्यक्रममा परेको धमलाले बताउनुभयो ।

व्यथित काव्य वनिता पुरस्कारबाट विगतमा डा। विष्णु विभु घिमिरे, विश्वविमोहन श्रेष्ठ, भारती गौतम, उषा शेरचन, सुलोचना मानन्धर, नवराज सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, अनिल पौडेल आदि सम्मानित भइसक्नुभएको छ ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्