वीरशम्शेरको बेलायत यात्राको सपना

वीरशम्शेरको बेलायत यात्राको सपना


नेपालमा भोटसँगको सम्बन्ध खटनपटन भएको हुँदा वीरशम्शेरले बेलायत जाने चाहनालाई रोकेका थिए भनिए पनि वास्तवमा कलकत्तामा रहेका भाइसरायको भित्री चाह भने वीरशम्शेरलाई बेलायत भ्रमण गर्न अनुमति नदिने नै देखिन्छ । बालक राजा रहेको समय आफ्नै ठूलो बुबाको हत्या गरेर बालक राजाबाट लालमोहर गरि लिएको षडयन्त्रमा अंग्रेज सरकार वीरशम्शेरप्रति रुष्ट थियो । यसैले पनि उनको बेलायत भ्रमणको सपना तुहिएको थियो ।
  • सुनिल उलक

नेपालको प्रधानमन्त्री तथा श्री ३ को रूपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीपसिंह कुँवरका साथै जङ्गबहादुरका सन्तानहरूको हत्या गरी धीरशम्शेरका छोराहरूले एकछत्र रूपमा राणा शासनको बागडोर सम्हाल्न पुगेका थिए । ४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा-नातिहरू या त मारिए या लखेटिए । यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशम्शेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरेपछि वीरशम्शेरले अंग्रेजका विभिन्न शर्तहरू मान्न तयार भएका थिए । भारतीय सेनामा रहेको गोर्खालीहरूको संख्या बढाउनसमेत उनले मञ्जुरी दिएका थिए । तर, भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेनन् । यता रेसिडेन्टका रूपमा रहेका गर्ल्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा स्विकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए । उनले पनि सहयोग गरेनन् । तसर्थ यसको लागि अंग्रेज सरकारका प्रतिनिधिहरूले विभिन्न माग श्री ३ वीरका सामु राख्न थाले । बेलायती सेनामा गोर्खालीहरूको भर्तिकेन्द्र नेपालमा नै राख्ने चाहना एक प्रमुख थियो भने अन्यमा बेलायतीहरूलाई सहज प्रवेश तथा ब्यापार गर्न छुट दिन समेत मागेका थिए । वीरशम्शेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न केही अंग्रेजका चाहना पूरा गरिदिएका थिए ।

यसरी सरकारलाई मान्यता पाएको वीर शम्शेरको सम्बन्ध लर्ड डफरिनसँग खासै राम्रो रहेन । तर त्यसपछिका भाइसरायहरू लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो । सन् १८९२ को मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्ट्सको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढि पूरा भयो । वीरशम्शेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्ट्स निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुँदै घोडामा चढेर काठमाडौं पुगेका थिए । धुमधामका साथ स्वागत गर्न लाखौँ रूपैयाँका पटाकाहरू पड्काइएको थियो । काठमाडौमा उनको लागि १८ हजार सैनिकहरूबाट मार्चपास्ट तथा सलामी दिइएको थियो ।

त्यसबेला नेपाली सेनाका प्रमुख देवशम्शेर थिए । नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्ट्सले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने ब्यवस्था समेत मिलाइदिएका थिए । यसको एक वर्ष नबित्दै श्री ३ वीरशम्शेर इ.सं. १८९३ फेब्रुअरीमा कलकत्ता भ्रमणका लागि निस्किए । नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे । यस भ्रमणमा वीरशम्शेरले बेलायतसँग ८००० मार्टिनी हेनरी राइफलको अर्डर दिनुका साथै मनग्गे गोलाबारुद पनि अर्डर गरेका थिए ।

यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशम्शेर बेलायत घुम्ने सपना देख्न थाले । ठूलो बुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणापरिवारमा निकै चर्चा हुने गर्दथ्यो । त्यसैले वीरशम्शेरलाई पनि बेलायत जाने रहर जाग्यो । सन् १८९५ को अन्ततिर काठमाडौंमा रहेको रेसिडेन्टमार्फत अनुरोधपत्र पठाए । तत्कालिन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुनाले श्री ३ वीर ढुक्क थिए बेलायत घुम्न पाउनेमा । यता भाइसराय भित्रभित्रै चिन्तित थिए– कतै बेलायतबाट अस्विकृत भयो भने नेपालसँगको सम्बन्ध बिग्रन सक्ने आँकलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए ।

वीरशम्शेरको बेलायत भ्रमणको चाहनाको साथ अर्को ध्येय पनि थियो । नेपाल एक स्वतन्त्र राष्ट्रको राजा पृथ्वी वीरविक्रमको राजदूतको रूपमा बेलायत भ्रमण गर्ने वीरशम्शेरको चाह थियो । तर त्यसबेला बेलायत नेपाललाई पूर्णरूपमा स्वतन्त्र राष्ट्रको रूपमा मान्यता नदिने पक्षमा थियो । यो थाहा पाएका वीरशम्शेरले बेलायत भ्रमण त्याग्न सक्ने तर स्वतन्त्र राज्यको अधिकार त्याग्न नसक्ने जानकारी पठाएका थिए । भाइसरायको प्रयासका बाबजुद वीरशम्शेरको यात्रा हुन सकेन । जसको कारण तिब्बतसँगको सम्बन्धका कारण वीरले नेपाल छोड्न नचाहेको प्रचार गरियो ।

वीरशम्शेर जन्मदेखि नै अभागी थिए । उनको जुन समय जन्म भयो त्यो दिन राशिमा अशुभ दिन चलिराखेको थियो । उनको जन्मको केही समयपछि आमाको निधन भएको हुँदा पनि उनलाई ज्योतिषीको सल्लाहअनुसार घर राखिएन । १२ वर्षको उमेरसम्मका लागि ठूलो बुबा जङ्गबहादुरको थापाथली दरबारमा राखियो जहाँ जङ्गबहादुरकी रानी पुतली महारानीले आफ्नै छोराझैँ आफ्ना छोराहरूका साथ हुर्काइन् । थापाथली दरवारमा रहँदा बाल्यकालमा जङ्गबहादुरले उनलाई ‘कैले’ भनेर बोलाउँथे । जङ्गले नै उनको नाम ‘वीर’ भनेर राखिदिएका थिए । उनका दौँतरीहरूमा जङ्गका सन्तान बबरजङ्ग, दीपकुमारी तथा खड्गकुमारीहरू थिए । तर विडम्बना ! यिनै वीरशम्शेरले आफ्नो स्याहारसुसार गर्ने जङ्गबहादुरका सन्तानहरूलाई नै मार्न लगाए ।

ठूलो बुबा जङ्गबहादुरको सामिप्यमा रहँदा उनले शुरुमा दरबार हाइस्कूल र पछि डोवटन कलेज, कलकत्तामा अध्ययन गरे । जङ्गकै कार्यकालमा कलकत्तामा वकिलका रूपमा गए । त्यहाँ उनले नेपालको राजकाजसम्बन्धी कार्य अंग्रेज सरकारका बीच गर्दथे । कलकत्तामा निकै अनुभवहरू सँगालेका उनि अंग्रेजी राम्रै बुझ्दथे । बोल्न अलि कम सक्थे । साथमा हिन्दी, उर्दु र पर्सियन भनि राम्रैसँग बुझ्दथे र बोल्दथे पनि । जङ्गले केही गर्न सक्ने भतिजाको रूपमा उनको चर्चा गर्दथे ।

नेपाल फर्किएपछि पनि उनको रहनसहन विशेष थियो । उनि विशेष तामझामका साथ निसाफ गर्न पुग्दथे । साथमा उनको निजी सौखले बेलायत तथा भारतबाट समेत मगाएर पालिएका विशेष नस्लका गाईहरूको फार्म नै थियो । सो निरीक्षण गर्न दैनिकजसो पुग्दथे । उनको खान्की तथा उनको खवाइको भाँडाहरू विशेष थियो । शुद्ध सुनको थाल, कचौरा तथा ग्लासहरूको तौल ३६२ तोलाको थियो । झण्डै दुई धार्नीकोे सुनका सामग्रीमा वीरशम्शेरलाई खाना पस्किने गरिन्थ्यो । उनको ठूलो थालको तौल नै १४५ तोलाको थियो । १२० तोलाको तीन वटा कचौरा थिए भने ६० तोलाको पानी पिउने जग थियो । साथै १२ तोलाको चम्चा पनि थियो ।

हिन्दु धर्मप्रति कट्टर उनी खाना शुद्ध ब्राम्हणबाट पकाएको मात्र खान्थे । खाना खानुअगाडि कतै विष मिसाएका हुनसक्ने भन्दै एक पण्डितलाई खान लगाएर मात्र आफू खान्थे । खान बस्ने चौकीको वरपर गाईको गोबरले लिन लगाइ शुद्ध र किटाणुमुक्त गराउँथे । हरेक पटक गंगाजलले मात्र हात धुने गर्दथे । खानापछि शुद्ध सुनले बनेको हुक्कामा तम्बाकु तान्दथे । उनको लवाइ पनि विशेष हुने गर्दथ्यो । उनले लगाउने ज्याकेट बेलायतबाट मगाउँथे । प्रायः उनी कोटमा भन्दा बढी ज्याकेटमा नै देखिन्थे । उनको टोपी पनि फ्रान्सेली सैनिकहरूले लगाउने ‘फोरेज क्याप’ हुने गर्दथ्यो ।

ठूलो बुबा जङ्गबहादुर झैँ उनी पनि संगीत तथा नृत्यको सौखिन थिए । उनी दरबारमा सेनाको ब्याण्डले बजाएको संगीत सुन्दथे भने भारतीय शास्त्रीय गीतसंगीत तथा नाचको पनि सौखिन थिए । यही सौखका कारण नेपालमा पहिलो पटक शास्त्रीय संगीतको भेला नै भएको थियो । ‘बगडीको जल्सा’ नामले प्रख्यात यो भेलामा वीरगञ्जनजिकैको गाउँ बगहीमा भएको यस बृहत संगीत भेला वि.सं. १९५६ को पुसमा भएको थियो । त्यस भेलामा भारतीय शास्त्रीय संगीतकारहरूको मेला नै लागेको थियो । सयौ संगीतकार तथा राग–गायनका माहिरहरूको जमघट नै भएको थियो ।

वीरशम्शेरले बनाएको चारबुर्जा दरबार तत्कालिन समयको आधुनिक महलमा पर्दथ्यो । वास्तुकलाविद् जोगवीर स्थापितको डिजाइनमा बनेको यस दरबार पछि उनले छोरा रुद्रशम्शेरलाई दिए । १९९० मा जुद्धशम्शेरबाट लखेटिएपछि यो दरबार बहादुर शम्शेरको हकमा पुग्यो । बहादुर भवनको नाम रहन गएको यो दरबार बोरिसद्वारा नेपालकै पहिलो होटल ‘रोयल होटल’को रूपमा रहन पुग्यो । हाल यस भवनमा निर्वाचन आयोगको कार्यालय रहेको छ ।

यसको साथै रणोद्वीपको नारायणहिटी दरबार भत्काएर त्यहाँ नयाँ दरबार बनाउन लगाएका थिए, जुन दरबार आफ्ना ज्वाइँ पृथ्वी वीर विक्रमलाई दिए । जसले गर्दा पछिसम्म शाह राजाहरूको दरबारका रूपमा रहन गयो । नारायणहिटीको दायाँतर्फ विशाल सेतो दरबार बनाए, जुन छोरा गेहेन्द्रशम्शेरका लागि दिए । बायाँतर्फ फोहरा दरबार बनाए, जुन छोरा प्रतापशम्शेरलाई दिए । फेरि अर्को फोहरा दरबार कान्छी महारानीका लागि पनि बनाइदिए । पहिलो फोहरा दरबार राजा महेन्द्रले भत्काइ नारायणहिटीभित्र गाभे । दोश्रो फोहरा दरबार अमेरिकी राजदुतावासले किन्यो । भाइ जुद्धशम्शेर र उनकी आमा जुहारकुमारीका लागि जावलाखेल दरबार बनाइदिएका थिए । छोरा धर्मशम्शेरका लागि भाटभटेनी दरबार बनाइदिए । भाइ भीमशम्शेरका लागि टंगाल दरबार बनाइदिएका थिए । कान्छी रानी तोपकुमारी देवीका लागि लाल दरबार बनाइदिए जुन हाल याक एण्ड यती होटलका रूपमा रहेको छ ।

यस्तै, वीरशम्शेरले जनताका लागि अस्पताल बनाउन लगाए । जसको नाम शुरुमा पृथ्वी वीर अस्पताल रहेको थियो । यो अस्पताल पहिले रानीपोखरीको पश्चिम हाल राष्ट्रिय नाचघर रहेको ठाउँमा थियो । पछि वीरशम्शेरले नै हालको स्थानमा विशाल भवन बनाउन लगाइ अस्पताल सारेका हुन् । वीरशम्शेरले बेलायती बिग बेनको नक्कल गर्दै रानीपोखरीको पूर्वमा घण्टाघर बनाउन लगाएका थिए । दरबार हाइस्कूलका नाममा स्कूल त थियो तर स्थाइ रूपमा भवन थिएन । वीरशम्शेरले दरबार हाइस्कूलको लागि लामो टहरारूपी भवन बनाइदिए । गहवामाईको मन्दिर रहेको सानो गाउँको नाम गहवा थियो । जसलाई वीरगञ्ज नामाकरण गराइ बस्ती बसाए । साथै त्यहाँ मुडुली दरबार बनाइदिएका थिए ।

उनि आफू कान्छी रानी तोपकुमारी देवीका साथ लालदरबारमा बस्दथे । उनले सो दरबारमा अत्याधुनिक सामग्रीहरूले सजाएका थिए । उनको कोठाहरू बेलायती फर्निचरहरूले सजिएको थियो । काँचका भाडाकुडा किसिम किसिमका थिए । भेनेटिएन (इटलीको) ग्लासका रूपमा प्रख्यात सामग्रीहरूले भरिएका थिए । कोठाका भुइहरूमा इटालियन मार्बल राखिएको थियो भने त्यसमाथि पर्सियन (इरान) कार्पेट ओछ्याइएको थियो । कोठाहरूमा ग्याँस ल्याम्पबाट उज्यालो बनाइन्थ्यो । कोठाका छतहरूमा किसिम किसिमका बेल्जियन क्रिस्टल झुमरहरू झुण्ड्याइएका थिए । बगैंचामा समेत बाफको जेनरेटरबाट कार्वन लाइटहरू बालेर रातमा समेत आकर्षक बनाइएको थियो ।

वीरशम्शेरको विवाह उपेन्द्र (राजा सुरेन्द्रको भाइ) वीर विक्रमको छोरी दिव्येश्वरी राज्यलक्ष्मीसँग भएको थियो । वीरशम्शेरले आफ्नी रानीको लागि सुसारेको रूपमा ठिमीकी नेवार्नी खञ्जँ (उच्चारण गलत पनि हुन सक्छ) नाम गरेकी मैयाँलाई राखे । तर यिनै नेवार्नी मैयाँ वीरकी प्यारी कान्छी महारानी बनिन् । जसलाई पछि तोपकुमारी नाम राखियो ।

यिनको सम्बन्धमा पनि रोचक कथा छ । रानी दिव्येश्वरीको सुसारेको रूपमा राखिएको खञ्जँ निकै राम्री थिइन् । बुबा उपेन्द्रले ति सुसारेलाई हटाउन भने पनि पतिका कारणले सुसारेबाट हटाउन सकेनन् । एकदिन खञ्जँ राति सुतेको समयमा रानी दिव्येश्वरीले अनुहारमा एसिड खन्याइदिए । यस घटनाले वीरको प्रेम खञ्जँप्रति अझ प्रगाढ भयो । उनले उनको अनुहारको उपचार गराए साथै उनीसँग विवाह पनि गरे । साथै महारानीको दर्जा पनि दिलाए र खञ्जँको आँखा राम्रै देख्न सक्ने भयो । अनुहारमा भने केही दाग रह्यो । वीरले महारानीको दर्जा दिलाएका खञ्जँबाट जन्मिएका रुद्रशम्शेर (पोखरा तथा भक्तपुरका बडाहाकिम धनशम्शेरका बुबा)लाई रोलक्रममा पनि राखे । तर पछि जुद्ध शम्शेरले ल्याइतेबाट जन्मिएका सन्तान भएको हुँदा रुद्रशम्शेरको रोलक्रम खोसिदिए र पाल्पा धपाइए ।

यिनै तोपकुमारीबाट जन्मिएका दुई छोरीलाई राजा पृथ्वी वीर विक्रमसँग विवाह गराइदिएका थिए । वीरको चाहना आफ्नो नाति भविष्यको राजा बनाउने थियो । लामो समयसम्म पृथ्वी वीर विक्रमको छोराको जन्म भएन । जेठी छोरी लक्ष्मी राज्यलक्ष्मीलाई पहिलो पटक राजाको उत्तराधिकारीको रूपमा नियुक्त गरियो । अन्ततः करिव ११ वर्षपछि वि.सं. १९६३ को असारमा पंजावबाट विवाह गरि ल्याइएका रानीबाट त्रिभुवनको जन्म भएपछि युवराज घोषणा गरियो ।

प्रशासनिक सुधारमा जङ्गबहादुरको विशेष योगदान छ । उनले बनाएका चार गौडा र तिनमा रहने बडाहाकिमका काम र कर्तव्य विभाजन गरिएको थियो । यि बडाहाकिमहरू राणा दरबारका अति नै निकटस्तहरू हुने गर्दथे । वीरशम्शेरले यस प्रशासनिक कार्यमा केही सुधारहरू गरे । उनले ‘हाजिरी गोश्वारा’को स्थापना गराइ सम्पूर्ण कर्मचारीहरूलाई नियमन गर्न मिलाए । हाजिरीदेखि लिएर कामको विषयमा समेत जानकारी एकै ठाउँबाट गर्ने प्रबन्ध मिलाए । साथै शहर ‘सफाइ अड्डा’को स्थापना गराइ सफाइतिर पनि ध्यान दिएका थिए । प्रशासनिक काममा सहज बनाउन तराईमा १२ ‘जिल्ला’ र पहाडमा २३ ‘तहसिल अड्डा’को ब्यवस्था गरे । तहसिललाई फेरि जिल्ला तथा थुममा विभाजन गराए । यसलाई पनि मौजा र गाउँमा विभाजन गरे । हरेक तहसिलमा हाकिम वा बडाहाकिम रहने ब्यवस्था पनि मिलाए । तराईका जिल्लाहरूलाई पनि चार भागमा विभाजन गराए । माल अड्डाको स्थापना तथा अमिनीको ब्यवस्था पनि गराएका थिए । कानुनको सहजताको लागि ‘अपिल अड्डा’को स्थापना पनि गराएका थिए । वीर शम्शेरले उपत्यकामा सार्वजनिक धाराको रूपमा ‘वीरधारा’ तथा घरमा समेत धाराको प्रबन्ध मिलाएका थिए । जसको ब्यबस्थापनका लागि ‘पानी गोश्वारा’को स्थापना गरेका थिए ।

ठूलो बुबा रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरशम्शेर निकै शंकालु भएका थिए । कतै आफ्नो हत्या गरि भाइहरू सत्तामा आउने षडयन्त्र रच्न सक्ने शंकामा रातदिन रहन्थे उनी । यहि क्रममा भाइ खड्गशम्शेर पनि पाल्पा धपाइएका थिए । रातमा पनि ३–४ पटक कोठा फेरेर सुत्थे । निदाउँदा पनि एक हातले सिरानी च्याप्ने र अर्को हातमा रिवल्वर हुन्थ्यो । कोठा बदलि गर्दा कान्छी महारानी तोपकुमारी पनि एक हातमा चाँदीको पिकदान र अर्को हातमा सुराही बोकेर पछि–पछि लाग्थिन् ।

वीरशम्शेरका जेठा छोरा गेहेन्द्रशम्शेर नेपालकै पहिलो वैज्ञानिक थिए । उनले विभिन्न किसिमका हतियारहरू बनाएका थिए । उनको सेतो दरबारमा विशाल ज्यासल नै बनाएका थिए, जहाँ हावाबाट चल्ने ठूला पंखाबाट बिजुली निकालेका थिए । तर दुर्भाग्य ! उनको केवल ३६ वर्षको उमेरमा निधन भयो । उनको अप्रत्याशित निधनलाई चन्द्रशम्शेरले विष दिएर हत्या गरेको भन्ने गरिन्छ ।
अन्ततः सन् १९०१ को अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए । पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि ब्यवस्था सबै मिलाइनेछ । तर शिकारको निम्तो दिएको एक महिनाअगाडि नै सन् १९०१ मार्च ३ तदनुसार वि.सं. १९५७ फागुन २३ गते मंगलबार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशम्शेरको रक्तचापका कारण देहावसान भयो ।

यहाँ प्रस्तुत गरिएको अति नै गोप्य तत्कालिन समयको पत्र हो यो । यस पत्रमा काठमाडौमा बेलायती रेसिडेन्टका रूपमा रहेका हेनरी वाइली कलकत्ता गएको समय सहायक रेसिडेन्टले कलकत्तामा जानकारी पठाइएको ब्यहोरा देख्न सकिन्छ । वीरशम्शेरको बेलायत भ्रमणको प्रबन्ध मिलाइदिन गरिएको आग्रहलाई कलकत्तामा रहेका भाइसराय सामु राखिदिनको लागि यो पत्र पठाइएको छ । हुन त नेपालमा भोटसँगको सम्बन्ध खटनपटन भएको हुँदा वीरशम्शेरले बेलायत जाने चाहनालाई रोकेका थिए भनिए पनि वास्तवमा कलकत्तामा रहेका भाइसरायको भित्री चाह भने वीरशम्शेरलाई बेलायत भ्रमण गर्न अनुमति नदिने नै देखिन्छ । बालक राजा रहेको समय आफ्नै ठूलो बुबाको हत्या गरेर बालक राजाबाट लालमोहर गरि लिएको षडयन्त्रमा अंग्रेज सरकार वीरशम्शेरप्रति रुष्ट थियो । यसैले पनि उनको बेलायत भ्रमणको सपना तुहिएको थियो ।