श्रीपेच उपहार लिएर फर्किए राजा
प्रकाशित मिति
१४ बैशाख २०७९, बुधबार ०७:१०
भारत भ्रमणको समय सारियो
इटहरीका एक शिल्पीले दिएको श्रीपेच उपहार लिएर पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र झापाबाट काठमाडौं फर्कनुभएको छ । राजा काठमाडौंतर्फ फर्कंदै गर्दा भद्रपुर एयरपोर्टमा इटहरीनिवासी कर्ण विश्वकर्माले राजदण्डसहितको श्रीपेच उपहार दिएका थिए । श्रीपेचमा सुन, चाँदी र मोतीसमेत जडान भएको बताइएको छ । त्यति महँगो उपहार उनले राजसंस्थाप्रतिको अगाध आस्थाका कारण दिएको बताएका थिए । श्रीपेच उपहार प्राप्त गर्दा राजा ज्ञानेन्द्र भावविभोर हुनुभएको बताइएको छ । उहाँले उपहार लिँदै गर्दा मास्क र चश्मा लगाउनुभएको थियो ।
राजपरिवारको यस पटकको एक महिना लामोे झापा बसाइ नितान्त पारिवारिक थियो । उहाँहरूले नयाँ वर्ष सिलगुडीमा मनाउनुभएको थियो भने यसैबीचमा परेको चैतेदशैँ दमकमै परिवारका साथ मनाउनुभएको थियो । यसपटकको भ्रमणमा छोरी प्रेरणा तथा धीरेन्द्रका छोरीहरूसहित पूर्व बडामहारानी कोमलका माइती परिवारको समेत सहभागिता रहेको थियो ।
प्राप्त जानकारी अनुसार झापाबाट सिलगुडी हुँदै नयाँ दिल्लीको भ्रमणमा जाने राजाको कार्यक्रममा केही फेरबदल भएको छ । उहाँको नयाँ दिल्ली भ्रमण केही समय पर सरेको श्रोतले जानकारी दिएको छ । नयाँ दिल्लीमा यस पटक नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको बताइएको थियो । कार्यक्रम राजाका कारणले सरेको हो या नयाँ दिल्लीको कारणले भन्ने चाहिँ थाहा हुन सकेको छैन । श्रोतले भन्यो- ‘समय केही पर सरेको छ र पत्राचार जारी छ ।’
राजाको भारत भ्रमण आचार्य महामण्डलेश्वरमार्फत हुन लागेको थियो । भारत भ्रमणका क्रममा राजाले राजनीतिक ब्यक्तित्वहरूसँगको भेटघाटलगायत विभिन्न धार्मिक अनुष्ठानमा पूजा-अर्चना गर्ने कार्यक्रम रहेको छ । आचार्य महामण्डलेश्वरको निमन्त्रणामा उहाँले सन् २०२१ को अप्रिल महिनामा भारतको उत्तराखण्डमा पर्ने हरिद्वारको भ्रमण गर्नुभएको थियो ।
Shares