‘बीपीका अनुयायी’ कि ‘देउवाका दास’ ?

‘बीपीका अनुयायी’ कि ‘देउवाका दास’ ?


बीपीको मार्गदर्शनबाट परिचालित हुँदै आएको दाबी गर्ने नेताहरू सत्ताको खातिर यस हदमा उत्रन सक्लान् भन्ने सोच्न सकिन्नथ्यो, तर आज आफूलाई वामन्थीकरण गरिरहेको काङ्ग्रेस नामक दलका थुप्रै नेता-कार्यकर्ता या बीपीका कथित अनुयायीहरू आफूलाई ‘देउवाको दास’ तुल्याउन हिच्किचाइरहेका छैनन् ।

‘निर्वाचनको वर्ष’ विशेषण दिइएको नयाँ साल २०७९ को आगमनसँगै स्थानीय चुनावको चहलपहल बढ्दो छ, चुनावी रौनक चढ्दो छ । रौनक यस मानेमा कि उम्मेदवारीको आकाङ्क्षा राख्नेहरू टिकटका लागि नेतृत्व रिझाउन दौडधुप गरिरहेका छन्, रिझाउन नसके धम्क्याउने, धम्कीले नपुगे छँदाखाँदाको दल नै परित्याग गरी अर्को पार्टी प्रवेश गर्ने प्रवृत्ति ब्याप्त छ । चुनावको मौसममा दलबदल गर्ने ‘धन्दा’मा लागेकाहरू रातारात पार्टी प्रवेश गर्ने र छोड्ने क्रियाकलापमा अस्तव्यस्त देखिँदै छन् । मतको लेखाजोखा गर्नेदेखि भोट किनबेचको रणनीति-निर्माण र सम्भावित चुनावी परिणामको आँकलनका चर्चा जताततै चल्न थालेका छन् । दलप्रतिको अन्धभक्ति एकतिर देखिँदै छ भने राजनीतिक दल तथा नेतृत्वको रवैयाबाट वितृष्ण भइ आलोचना गर्ने र अबगाल दिनेको जमात पनि जताततै भेटिँदै छ । यसैगरी, जे-जसरी पनि मतदाता आफ्नो पक्षमा पार्नका लागि दलका नेता-कार्यकर्ताले शुरु गरेको ‘कसरत’ तमासापूर्ण छ । विगतका बाचा ब्यर्थ भएको बिर्संदै नयाँ-नयाँ आश्वासनका पुलिन्दा बाँड्ने निर्लज्ज प्रतिष्पर्धामा नेताहरू उत्रिएका छन् । नेताका गुलिया भाषणमा मग्न हुनेको हुल उस्तै देखिन्छ भने यिनका कुरा अब पत्याउन हुन्न भन्नेहरू पनि उत्तिकै देखापर्दै छन् ।

यस्तै परिवेशमा सबभन्दा रोचक परिदृश्य बनेर प्रकट भइरहेको छ सत्ताधारी पाँचदलीय गठबन्धनबीच भागबण्डामा परेको रडाको ! प्रमुख महानगरका मेयरदेखि तमाम नगरपालिका/गाउँपालिकामा आ-आफ्नै दाबी रहेपछि उत्पन्न असहमतिको अवस्थाले गठबन्धन-नेतृत्व फजितीमा परेको छ । गठबन्धन दलबीच भातृत्व र सह-अस्तित्वको राग अलापेर नथाक्ने नेताहरू परिआए एक्लाएक्लै लड्न तयार रहेको धम्की दिएर जगहँसाइ गर्न थालेका छन् । भर्खरै बीस राजदूत सिफारिसमा लागेको नाता-कृपावादको आरोप उत्कर्षमै रहे पनि उम्मेदवार चयनमा परिवारवाद लाद्ने चेष्टा दर्शाउन पटक्कै शर्म महसूस गरिरहेका छैनन् ‘परमादेशी गठबन्धन’का शीर्ष पात्रहरू ! लोकतन्त्रको कुरा गर्ने तर व्यवहारमा एकतन्त्रीय अभ्यास वर्तमान सत्ताधारी नेताहरूको रवैया छ, जसले वर्तमान व्यवस्थाप्रति नै वितृष्णा बढाइरहेको छ । तर, राजनीतिजीवीहरू यो पटक्कै स्वीकार गरिरहेका छैनन्, अझै पनि जनसमर्थन आफूहरूलाई रहेको भ्रममा परेका ती मनपरी गर्न उद्यत् देखिँदै छन् ।

सत्ता–गठबन्धनसँगै पाँच दलका नेतृत्व ‘चुनावी गठबन्धन’का लागि मरिहत्ते गरिरहेका छन्, जबकि चुनावी गठबन्धन सत्ताको गठबन्धनजस्तो स्वभाविक र सहज हुँदैन । विपरीत सिद्धान्त अँगालेका दलहरूबीच चुनावमा गठजोड हुनु भनेको दलले आफ्नो पहिचान र अस्तित्व नै मेटाउनुसरह हो । तर यो कटुसत्य मनन गरी चुनावी-धर्म अवलम्बन गर्ने हिम्मत गठबन्धनकारी दलहरूले दर्शाउन सकेनन् । चुनावमा त हरेक सहभागी दलले आ-आफ्नो सिद्धान्त, नीति, कार्ययोजना जनताबीच लैजाने, बुझाउने र मतदाता आफूतर्फ आकर्षित गर्ने हो । तर साम्यवादको कुरा गर्नेदेखि समाजवाद र जातिवाद, क्षेत्रवाद, वर्णवादसम्मका नारा दिनेहरू, आशा बाँड्नेदेखि आतङ्क फिँजाउनेहरू समेत एकै झुण्ड बनेर जनतामा घोर भ्रम दिने विष्मयकारी चेष्टा आज गरिँदै छ । परस्परमा विपरीत बाटो अँगालेका दलहरूले गठबन्धनरूपी भान्सामा तयार पार्ने ‘खिचडी’ आमनेपालीले कसरी ग्रहण गर्ने हुन् र, यस्तो खिचडी-खुराकको भरमा नेपाल र नेपालीको जनजीवन कसरी अघि बढ्ने हो- विषद् सवाल पैदा भएको छ ।

चुनावी गठबन्धनको सन्दर्भमा नेपाली काङ्ग्रेसमा उत्पन्न विसङ्गति एवम् असमञ्जसको अवस्थाले उक्त राजनीतिक दलप्रति आस्था र स्नेह राख्नेहरूको हृदयमा ऊहापोह पैदा गरिदिएको छ । बीपीको मार्गदर्शनबाट परिचालित हुँदै आएको दाबी गर्ने नेताहरू सत्ताको खातिर यस हदमा उत्रन सक्लान् भन्ने सोच्न सकिन्नथ्यो, तर आज आफूलाई वामन्थीकरण गरिरहेको काङ्ग्रेस नामक दलका थुप्रै नेता-कार्यकर्ता या बीपीका कथित अनुयायीहरू आफूलाई ‘देउवाको दास’ तुल्याउन हिच्किचाइरहेका छैनन् । यो सामान्य सन्दर्भ होइन ।

गठबन्धनभित्रका दलमध्ये अलिक दर्बिलो-गर्विलो इतिहास र छवि बनाएको दल हो नेपाली काङ्ग्रेस । अनेक उतारचढाव देखि-भोगिसकेको यस दलले आफूलाई वामपन्थीकरणबाट जोगाउन सक्नुपर्थ्यो, उल्टै तिनका सारथी बन्दैछ । आफ्नो अस्तित्वको चिन्ता नगरी उ टाक्रेटुक्रे वामपन्थी झुण्डको अस्तित्व स्थापित गरिदिन उद्यत् देखिँदैछ । तमाम इमानदार कार्यकर्ताको भावनामाथि खेलबाड गर्दै वर्तमान काङ्ग्रेस नेतृत्व आत्मघाती दिशातर्फ अन्धाधुन्ध किन अग्रसर छ, बुझ्न नसकी रनभुल्ल छन् बीपीका सच्चा अनुयायीहरू । दोस्रो पुस्ताका प्रभावशाली भनिएका नेताहरूले समेत देउवाको दासत्व स्वीकार गरिसकेकाले तिनले पनि वामपन्थीसँगको गठबन्धनकै पक्षमा वकालत गर्दै आम काङ्ग्रेसजनलाई भ्रमित पार्दै छन् ।