सांस्कृतिक छात्रवृत्तिले आर्जन गरेको विद्धता

सांस्कृतिक छात्रवृत्तिले आर्जन गरेको विद्धता


शिक्षामा अतिक्रमण नहोस् भनेर केही अहोरात्र खटे, तर आज न उनीहरूको त्यो मेहनतको अर्थ रहेको छ न त उनीहरूलाई चिन्न नै खोजिएको छ । बरु नेपालमा ‘नेपाली भाषामा पनि कहीँ शिक्षा हुन्छ ?’ भनेर तिनलाई हियाउने काम भएको छ । सम्भवत: यसैले होला वा थाकेर हो- नेपालको संस्कृति, परम्परा इत्यादिमा भएको नाङ्गो अतिक्रमणको मौन तमासे भएर रहेका छन् ।
  • स्वयम्भूनाथ कार्की

दक्षिण एसिया क्षेत्रिय सहयोग सङ्गठन, सर्वोच्च शिखर धारण गरेको गौरव होस् वा शान्तिदूत भगवान् बुद्धको जन्मथलो, नेपालसँग गौरव गर्ने धेरै कुरा थिए । तीमध्ये कति कुरा प्रकृतिप्रदत्त थिए भने नेपालीले आफ्नो बल, बुद्धि तथा वर्कतले कमाएको साखको सूची पनि कम थिएन । आफ्नो साम्राज्यमा कहिल्यै सूर्य अस्त नहुने दम्भ गर्ने बेलायतले पनि अधीनस्थ गर्न नसकेको केही एसियाली देशमध्ये नेपाल पनि थियो । पुर्खाहरूले पराधीनताले प्राप्त हुने भौतिक लाभ भन्दा अभावको नै भए पनि स्वाधीनता नै रोजे । त्यसैकारणले भारत छोडेर जाँदा रहेकोे बेलायती अवशेष भौतिक पूर्वाधार जस्ता कुरा स्वतन्त्र नेपालमा थिएनन् । त्यसैले नेपालले जे गर्ने हो त्यो आफ्नो बलबुता र कौशलले गर्नुपर्ने थियो ।

हिमवत खण्डमा नेपालले आफ्नो अलग अस्तित्व र परिचय कायम राख्दा यसको डाहा पनि धेरैलाई भयो नै । सांस्कृतिक छात्रवृत्ति दूतावासले बाँड्ने र त्यसलाई आफूले नेपालमा स्थापना गर्न चाहेको व्यक्तिको सिफारिसमा दिने दीर्घकालिन चालले नेपालमा एक अलग्गै किसिमको शिक्षित वर्ग जन्मायो । कर्मकाण्डी र पण्डितहरू त बनारसबाट पढेर आउँदा संकल्पमा हिमवतखण्डे भन्नुको साटो ‘भरतखण्डे’, अनि नेपाल देशे भन्नुको साटो ‘भारतवर्षे’ भन्दछन् । पुरोहितले पढेको श्लोक सर्वसाधारण सबैले बुझ्न नखोज्ने हुँदा यसको त्यति खास नेपाली भावनामा नकारात्मक असर परेको पाइन्न, तर सांस्कृतिक छात्रवृत्तिअन्तर्गत विदेशको लगानीमा पढेर आएका शिक्षितले नै नेपालका बालबालिकालाई शिक्षा दिँदा नेपालको गौरवलाई भन्दा आफूलाई शिक्षा दिने मुलुकको महानता बोध गराउने गर्दछन् ।

चेतनाको स्तरमा भएको यो अतिक्रमणले विस्तारै नयाँ पिढीले पुर्खाको कामलाई हीन देख्ने र विदेशलाई उच्च ठान्ने बानी विकास गर्दै लग्यो । नेपाली भाषाको विरोध गर्ने तर मजदूरी गर्न जान विदेशी भाषा सिक्न पर्याप्त समय र पैसा ऋण लिएर भए पनि खर्च गर्ने चलन नेपालमा सर्वत्र व्याप्त छ । आफूलाई सांस्कृतिक छात्रवृत्तिको सिफारिस गर्नेको केही भए पनि गुण तिर्ने सदिक्षाले उनिहरूको गुण गाउने र लोलो मिलाउने कार्य भएको पनि प्रष्ट देख्न पाइन्छ । आफ्नो जन्मभूमिलाई भन्दा अर्कालाई नै मान दिने, आफ्नो परम्परालाई भन्दा आयातित परम्परालाई अपनाउने यो सांस्कृतिक अतिक्रमण कुनै विवाह समारोहमा प्रत्यक्ष देख्न पाइन्छ । बालन वा सिलोक हाल्ने कोही छैनन् तर जुत्ता लुकाउने आयातित संस्कृति अनिवार्य जस्तै बनेको छ ।

देशी भन्ने शब्दले भारतीय भन्ने जनाउँछ, विदेशी भन्ने शब्दले भारतीयभन्दा बाहेकका देश भन्ने जनाउँछ । यो नै शिक्षाको सुरुवातमा पाठशालामा पढाउन ल्याएका शिक्षकहरूले दिएको ज्ञान हो । न त बनारसबाट शिक्षित पण्डित पुजारीले यो कुरा तोड्न सके न सांस्कृतिक छात्रवृत्तिद्वारा शिक्षितले तोड्न चाहे । विवश भएर आफ्नो देशमाथि गौरव गर्नेहरूले ‘स्वदेशी’ भन्ने शब्द चलाए जसको अर्थ ‘नेपाली’ हुन्छ । शिक्षामा नेपाली पाठ्यपुस्तकको अभावको बहानामा शिक्षामा अतिक्रमण नहोस् भनेर केही अहोरात्र खटे, तर आज न उनीहरूको त्यो मेहनतको अर्थ रहेको छ न त उनीहरूलाई चिन्न नै खोजिएको छ । बरु नेपालमा ‘नेपाली भाषामा पनि कहीँ शिक्षा हुन्छ ?’ भनेर तिनलाई हियाउने काम भएको छ । सम्भवत: यसैले होला वा थाकेर हो- नेपालको संस्कृति, परम्परा इत्यादिमा भएको नाङ्गो अतिक्रमणको मौन तमासे भएर रहेका छन् ।

नेपालीले नेपालको गौरव पुनःस्थापना गर्ने हो भने अब प्रत्येक नेपाली विद्वानहरूको व्याख्यान सुन्दा यो राष्ट्रगौरव मर्दन गर्ने छ/छैन त्यो विचार पुऱ्याइनु पर्दछ । यदि राष्ट्रगौरव मर्दन गर्ने किसिमको लागेमा वहाँले कसरी शिक्षा प्राप्त गर्नुभएको थियो त्यो खोतल्न आवश्यक छ । कुनै नेता वा प्रणालीको वकालत गर्नेहरूको शिक्षादीक्षाको स्थान र अवस्था खोज्न अति जरुरी छ । यसमा उनीहरूको कुनै दोष छैन बरु शिक्षादीक्षा दिने बेलैमा नजानिँदो प्रकारले यो भावना वहाँहरूमा घुसाइएको छ । अब नेपालीले चिकित्सक भएर सांस्कृतिक छात्रवृत्तिको नाममा विचारमा मिसाइएका यस्ता देशद्रोहका विषको उपचार गर्नु पर्दछ । यस्तो विष सबैमा हुँदैन र मात्रा पनि एकनास हुँदैन, तसर्थ सांस्कृतिक छात्रवृत्तिमा ज्ञान आर्जन गर्ने सबैमा विष छ नै भन्ने होइन । यस्ता विष बहुसङ्ख्यकमा पस्न पाएको छैन, थोरैमा मात्र छ । यही कारण हो कि नेपाल भन्ने मुलुकको अस्तित्व र वर्चश्व कायम छ ।