तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


कलाकार कुनै राजनीतिक पार्टीको पेवा बन्नुहुन्न र हुँदैन पनि, ऊ त सबै पार्टी, तह र तप्काका व्यक्तिको मान्छे हो हास्य-व्यङ्ग्य कलाकार मनोज गजुरेलको धारणा हो यो । मूलतः हास्य कलाकार भए पनि गजुरेल हरेक विधासँग आबद्ध छन् । टेलिभिजनमा देखिन्छन् अनि रेडियोमा बोल्छन् । रंगमञ्चमा उत्रन्छन् र सार्वजनिक समारोहमा पनि खुलेर आफ्नो प्रस्तुति दिन्छन् । विभिन्न नेताका क्यारिकेचर गरेर दर्शक तान्न सर्वाधिक सफल गजुरेल एक समय पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचर गरेर पनि खुबै चर्चामा आए । प्रचण्ड अनि माधव नेपाललगायत मुलुकका सबैजसो प्रमुख नेताको अभिनय दुरुस्त गर्न सक्ने बहुप्रतिभाशाली कलाकार मनोज गजुरेलको दृष्टिमा जीवन र जगत् के हो त – तपाईंको दृष्टिमा स्तम्भका लागि राजन घिमिरेसँग यसरी प्रस्तुत भए बहुमुखी प्रतिभाका धनी कलाकार मनोज गजुरेल ः

० जीवन के हो ?
– सङ्घर्ष
० प्रेम के हो ?
– सङ्घर्षलाई सफल बनाउने माध्यम ।
० सुन्दरता के हो ?
– हेराइको सकारात्मक कोण ।
० मन के हो ?
– छाडा साँढे ।
० भावना के हो ?
– वर्षात्मा आउने भेल ।
० विवाह के हो ?
– डिभोर्सको पूर्वतयारी ।
० बन्धन के हो ?
– मायाको निरङ्कुशता ।
० अपमान के हो ?
– मानको हत्या ।
० इज्जत के हो ?
– अहंकारको अर्को रूप ।
० बेइज्जति के हो ?
– इज्जतको टाउकामा आक्रमण ।
० मिलन के हो ?
– विछोडको सुरुवात ।
० विछोड के हो ?
– जीवनको सत्यता ।
० जवानी के हो ?
– विवेक उन्मुक्त भएको समय ।
० बालपन के हो ?
– वास्तविक जीवन
० तृष्णा के हो ?
– अमिलो अङ्गुर
० रिस के हो ?
– क्षणिक पागलपन
० जोश के हो ?
– बलको घमण्ड
० नसा के हो ?
– स्वर्ग पुग्ने गलत बाटो
० यौन के हो ?
– बुझनेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिँड
० सन्तुष्टि के हो ?
– बुढ्यौलीको सङ्केत
० कर्तव्य के हो ?
– नैतिक बन्धन
० विश्वास के हो ?
– तर्क विज्ञानको समाप्त
० असल के हो ?
– अनुसन्धानबिनाको सम्मान
० खराब के हो ?
– निस्त्रिय दिमागको उपज
० सबभन्दा ठूलो धोखा के हो ?
– आफ्नो चेतनालाई ढाँट्नु ।
० दुःख के हो ?
– जीवनको अर्को पाटो ।
० सुख के हो ?
– दुई दिनको पाहुना ।
० खुसी के हो ?
– केही छिनमै फुट्ने अणु ।
० आनन्द केमा छ ?
– ध्यानमा ।
० मित्र को हो ?
– आफ्नै मन
० शत्रु को हो ?
– मन
० सङ्घर्ष के हो ?
– सफलताको प्रयास
० प्राप्ति के हो ?
– खुसीको बाटो
० आस्था के हो ?
– तर्कको समाप्ति
० धर्म के हो ?
– धार्मिकताको सौतेलो भाइ
० नैतिकता के हो ?
– भावना कैदखाना
० चरित्र के हो ?
– विचित्रताको संयोग
० ज्ञान के हो ?
– जीवनको रहस्य खोज्ने गुगल
० बुद्धि के हो ?
– अहंकारको भाँडो
० सम्झौता के हो ?
– आत्मविश्वासको अभाव
० सृष्टि के हो ?
– अन्त्यको सुरुवात
० गुरु को हो ?
– जसको खुट्टा ढोगिन्छ
० राजनीति के हो ?
– राज्यको राजमार्ग
० देश के हो ?
– आफ्नोपनको अभाव
० समाज के हो ?
– मान्छेको भीड
० पद के हो ?
– घमण्डको घैंटो
० विकास के हो ?
– सम्पन्नता
० व्यापार के हो ?
– सपनाको घर
० अनुशासन के हो ?
– छाडा मनलाई बाँध्ने डोरी