चुनावको मुखमा दलबदलको रौनक र अर्थ

चुनावको मुखमा दलबदलको रौनक र अर्थ


चुनावको बेलामा मात्र किन यसरी भदौरे भेल जस्तोगरी पार्टीप्रवेश कार्यक्रमहरू हुने गरेका छन् ? नेपालको राजनीति केवल चुनावको वरिपरि मात्र घुम्दैछ ? राजनीति चुनाव मात्रै हो त ? प्रवेश गर्नेहरूको लागि पनि यही अवसर हो ? यस्ता थुपै सवाल राजनीतिक तथा सार्वजनिक चर्चामा उठ्ने गरेका छन् ।
  • प्रेमराज सिलवाल

वैशाख ३० का लागि तय गरिएको स्थानीय तहको चुनाव नजिक आइरहँदा एक दलबाट अर्काे दल वा एक समूहबाट अर्काेमा जानेहरूको लर्काे देखिन्छ । ‘फलानाको नेतृत्वमा यति हजार’ कार्यकर्ता फलानो दलमा प्रवेश गरे भन्ने समाचार दैनिकजसो आइरहेका छन् ।

राजनीतिक सङ्गठनमा लामो समय लागेकाहरू मात्र होइन सामाजिक जीवनका अनेकौँ क्षेत्रमा क्रियाशील भइ ख्याति कमाएका कलाकार, उद्योगी-व्यावसायी एवम् पेशाकर्मीहरू भटाभट पार्टीमा ‘ज्वाइन’ हुँदै टीका र खादा पहिरिँदै छन् । पार्टीप्रवेशको लहर हेर्दा कुनै कुभ्ममेला वा जात्रा झैँ लाग्न थालेको छ । हालै मात्र कलाकार करिश्मा मानान्धर एमालेमा प्रवेश गरेकी छन् । नायक राजेश हमाल एमाले प्रवेश गर्ने हल्ला राजनीतिक बजारमा आएको छ । आखिर चुनावको बेलामा मात्र किन यसरी भदौरे भेल जस्तोगरी पार्टीप्रवेश कार्यक्रमहरू हुने गरेका छन् ? नेपालको राजनीति केवल चुनावको वरिपरि मात्र घुम्दैछ ? राजनीति चुनाव मात्रै हो त ? प्रवेश गर्नेहरूको लागि पनि यही अवसर हो ? यस्ता थुपै सवाल राजनीतिक तथा सार्वजनिक चर्चामा उठ्ने गरेका छन् ।

नेपालको राजनीतिक इतिहास हेर्ने हो भने विगतका निर्वाचनहरूमा पनि यसरी नै निर्वाचन केन्द्रीत भएर दल बदल्ने राजनीतिक गतिविधि हुँदै आएका हुन् । २०७० को संसदीय निर्वाचनपूर्व तत्कालीन प्रधानमन्त्री प्रचण्ड देशव्यापी हेलिकप्टर दौडाहा गर्दै हजारौँलाई तत्कालीन नेकपा माओवादीमा प्रवेश गराउँदै हिँडेका थिए । तथापि उनको दल सो चुनावमा तेस्रो हुन पुग्यो ।

हालैका घटनाक्रमलाई विश्लेषण गर्ने हो भने वीरगञ्ज, कपिलबस्तु, मोरङ, बारा, कास्कीलगायतका विभिन्न जिल्लाबाट स्थानीय निकायमा विजयी भएका जनप्रतिनिधिहरूसहित हजारौँले एमालेमा प्रवेश पाएका देखिन्छ । उता सिन्धुपाल्चोकमा एमाले छोडेर नेपाली काङ्ग्रेस र समाजवादीमा लाग्नेहरू समेत देखिएका छन् । केहीले माओवादीमा प्रवेश गरेका समाचार आएका भए पनि अधिकांश माओवादीका नेता-कार्यकर्ताले धमाधम सो पार्टी त्याग गर्दै अन्यत्र प्रवेश गर्ने गरेको देखिएको छ । मूल सवालचाहिँ चुनावाको पूर्वसन्ध्यामा यसरी देशैभरी किन दलबदल र नयाँ पार्टी प्रवेश गरिन्छन् । प्रवेश हुन चाहनेहरूले पनि किन चुनावकै समय र सन्दर्भ रोज्ने गरेका छन् ? राजनीति र सङ्गठनको एक मात्र उद्देश्य चुनाव मात्रै हो ? यस्ता प्रश्न खडा भएका छन् ।

चुनावी दलबदलका घटना भने दैनिकजसो भइ नै रहेका देखिन्छन् । यसले नेपाली राजनीति र खासमा नेपालको लोकतान्त्रिक गणतन्त्र, मुलुकको विकास, सुशासन तथा नागरिक जीवनलाई सम्पन्न गर्ने कुरामा के कसरी सार्थक भूमिका निर्वाह गर्ने हुन्- यो प्रश्न आज सर्वाधिक जटिल भएर खडा भएको छ ।

नेपाली राजनीति मूलतः छिमेकी भारतबाट बढी प्रभावित रहँदै आएको देखिन्छ । भारतमा पनि चुनावको सन्दर्भ र अवसरहरूमा दलबदलका घटना वा परिदृष्य बढी नै देखिन्छन् । अघिल्लो दिनसम्म एउटा दल वा समूहबाट झण्डा हल्लाएर जिम्मेवारीमा रहँदै आएको नेता-कार्यकर्ता रातारात अर्काे समूह वा दलमा फुत्त हामफाल्ने गरेको देखिन्छ । यस्तोमा विश्लेषण गर्दा प्रवेश गरेको दलको सिद्धान्त, दर्शन, मूल्य, विचारधारा, कार्यशैली, सुशासनसम्बन्धी नीति तथा प्रणालीको निर्माण एवम् विकाससम्बन्धी अवधारणा आदि जस्ता महत्वपूर्ण पक्ष र क्षेत्रको विश्लेषण गरी पार्टी वा समूह परिवर्तन गर्नेहरू खासै देखिँदैनन् । हुनुपर्नेचाहिँ यो थियो । केवल आफू बसेको दल वा समूहमा भएको व्यक्तिगत टकराव, इर्ष्या, गुटकलह, अर्काेलाई देखाउने, तर्साउने र मोलमोलाई गर्ने, बढी ठूलो पद र हैसियत पाउने आशा आदिबाट दल बदल्ने गरिएका देखिन्छन् । अर्काे भनेको निर्वाचनकेन्द्रीत दलबदलका क्रियाकलापमा स्थानीय तहमा टिकट पाउने जस्ता अपेक्षा समेतले पनि बढी काम गर्ने गरेका देखिन्छन् ।

नेपालको लोकतन्त्रमा देखिएको सबैभन्दा ठूलो रोग वा विकृति भनेको कुनै समूह वा सानो समूहको ठूलो पदमा बसेको जस्तो देखाउने केही वर्ष वा समय ठूला दल वा सत्ता वा सत्तासीन दलको नेतालाई तथानाम गालीगलौज गर्ने, प्रणाली र प्रजातन्त्रको विरूद्ध बोल्ने, नेताले देश लुटे भन्ने र अनर्गल तथानाम मनपरी बोल्ने र सस्तो चर्चामा आउने अनि फेरि त्यो भन्दा ठूलो समूह वा दलमा प्रवेश गर्दै अन्तमा ठूलै दलको केन्द्रीय समिति वा संघीय सांसद्मा उम्मेदवार हुनेचाहिँ बढी नै देखिएको दलबदलु तरिका हुने गरेको देखिन्छ । गायिका कोमल ओली यस्तैमध्येकी उदाहरण हुन् । अहिले राप्रपामा क्रियाशील हुन आएका ज्ञानेन्द्र शाही पनि केही समय राप्रपाको मञ्चबाट चर्का-चर्का कुरा गर्दै गालीको खुड्किलो चढेर एमाले-काङ्ग्रेस जस्ता दलमा नै प्रवेश गर्नेछन् । खासमा यो तरिकाचाहिँ लोकतन्त्रमा हुने कुरा भए पनि एउटा खराब संस्कृति र विकृति पनि हो भन्नुपर्ने हुन्छ । गणतन्त्रपछि नेपालमा केही कुरा फस्टाएको छ भने त्यो पार्टी खोल्ने, दल बदल्ने र चुनावमा ठूला-ठूला फोस्रा गफ चुट्दै नेता भइटोपल्ने !

जबकि राजनीतिको माध्यमबाट सत्तामा पुग्ने र सत्तामार्फत मुलुक र समाजमा अधिकतम प्रगतिशील परिवर्तन वा सुधार गर्ने कुरा हुनु स्वभाविकै हो । वास्तवमा राजनीति भनेको व्यापक कुरा र अवधारणा पनि हो । राजनीति नागरिक र जनतालाई संगठित गरी राष्ट्रिय एकता, अभियान, आन्दोलन, परिवर्तन, संगठन, विकास, निर्माण तथा समग्र सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनको लागि गरिने व्यापक जनआधारित अभियान हो । यहाँ केवल दलमा प्रवेश गर्ने-गराउने र निर्वाचमा जसरी पनि बाकसमा भोट थुपार्ने अनि शक्तिमा पुग्ने कुरालाई मात्र राजनीतिको साध्य र साधन भन्ने सोचियो । यो सोच र व्यवहार विलकुल एकाङ्की र यान्त्रिक सोचको परिणाम हो ।

एउटै मान्छे काङ्ग्रेसको सभामा पनि प्रवेश गरेको छ । एमालेको र अन्य दलको सभामा समेत प्रवेश गर्ने गरेका घटनाहरू समेत अनगिन्ती देखिन्छन् । तर पनि चाहेरै र प्रोत्साहन गरेरै वा अन्य दल वा समूहलाई देखाउन वा तर्साउनको लागि नै भए पनि दलहरू चुनावी पार्टी प्रवेशको कार्यक्रमलाई बढावा नै दिँदैछन् ।

चुनावको अवसरलाई जात्राजस्तो गरी दलत्याग र प्रवेश गर्ने-गराउने मात्र कुराले राजनीतिमार्फत समाज, मुलुक र देश परिवर्तन गर्ने-गराउने महान कार्य र उद्देश्यमा अर्थपूर्ण सहयोग गर्न सक्दैन । टारीखेतमा भदौरे भेलबाट खेतको रोपाइँ गरेको जस्तो अभियानमा राजनीतिक दलहरूका बीचमा होडबाजी देखिन्छ । जसरी भदौको भेलमा भएको रोपाइँको रोपो केही समयमा नै सुक्न पुग्दछ र केही समय हरियो नै भए पनि त्यसबाट उत्पादन भने हुन सक्दैन । पानीको मुल, कुलो, नहर वा खोलाबाट सिँचाइ नगराइ बढी कृषि उत्पादन होला र खाउँला भन्ने किसानले हातलाग्यो शून्ने भएजस्तै चुनावी जात्राको अवसरमा हुने गरेको त्यस्ता दलबदलु क्रियाकलापले मात्र पार्टीको संगठन खासमा तात्विक र अर्थपूर्ण हिसाबमा बलियो बन्न सक्दैन ।

अर्काेतर्फ नेपालका कुनै जिल्लामा कुनै ठूलो नेता आएर केही ठूलो तामझामका साथ कुनै राजनीतिक कार्यक्रम हुँदैछ भने त्यसमा गइ नाम माइकबाट फुक्न लगाइ निधारमा टीका र गलामा खादा लगाइमाग्ने नागरिकहरू र, सो कार्यको लागि उक्साउने अगुवा भनिएका कार्यकर्ताहरूको पनि कमी देखिन्न । एउटै मान्छे काङ्ग्रेसको सभामा पनि प्रवेश गरेको छ । एमालेको र अन्य दलको सभामा समेत प्रवेश गर्ने गरेका घटनाहरू समेत अनगिन्ती देखिन्छन् । यस्तो हुर्दुङ्गे र उटफट्याङ्गे तालले राजनीतिक दलको संगठन, विचार र लक्ष्यमा तात्विक प्रभाव र असर पर्नेचाहिँ होइन । केही क्षण सुन्निएर मोटाएको पानीभुँडी जस्तो मात्रै हुने हो । तर पनि चाहेरै र प्रोत्साहन गरेरै वा अन्य दल वा समूहलाई देखाउन वा तर्साउनको लागि नै भए पनि दलहरू चुनावी पार्टी प्रवेशको कार्यक्रमलाई बढावा नै दिँदैछन् । त्यसरी प्रवेश गर्ने व्यक्तिहरू त्यो दलमा कति टिक्ने हुन् ? तिनले प्रवेश गरी गएका नयाँ दलमा के-कति सहयोग र सक्रियता देखाउन सक्ने हुन् ? नवप्रवेशीहरूलाई दलले के-कसरी आवश्यक जिम्मेवारी दिएर राजनीतिक, वैचारिक तथा सांगठनिक क्रियाकलापमा सक्रिय बनाउन सक्ने हुन् ? यो गम्भीर सवाल हो ।

विगतमा तत्कालीन माओवादी शक्ति र सत्तामा हुँदा प्रवेश गरेका हजारौँ व्यक्ति अहिले कहाँ छन् ? उनीहरूले अहिले के-कस्तो सामाजिक-राजनीति भूमिका पाइरहेका छन् ? यस्ता अनगिन्ती सवाल आज पनि ज्यूँदै छन् । तर पनि चुनावी दलबदलका घटना भने दैनिकजसो भइ नै रहेका देखिन्छन् । यसले नेपाली राजनीति र खासमा नेपालको लोकतान्त्रिक गणतन्त्र, मुलुकको विकास, सुशासन तथा नागरिक जीवनलाई सम्पन्न गर्ने कुरामा के कसरी सार्थक भूमिका निर्वाह गर्ने हुन्- यो प्रश्न आज सर्वाधिक जटिल भएर खडा भएको छ । यस्ता सवाल, विषय र पक्षमा विवेचना र विश्लेषण नगरी ‘होहोहो’ र ‘हाहाहाहा’मा हुँदै आएका पार्टी प्रवेशको अर्थ के हुने हो ? आज यो विषय गम्भीर विश्लेषणको सवाल भएर रहेको देखिन्छ ।