‘धराप गठबन्धन नगर्दा नै ठिक, भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ’

‘धराप गठबन्धन नगर्दा नै ठिक, भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ’


  • राजेश्वर खनाल (चितवन कांग्रेस सभापति)

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका छन् । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजेश्वर खनालको संयोजनमा सोमबार पहिलो पटक गठबन्धनको बैठक बसेको छ । बैठकमा भएको छलफल र कांग्रेसको अडानको विषयमा कुलप्रसाद काफ्लेले सभापति खनालसँग गरेको कुराकानी :

० भरतपुर महानगरको मेयरको उमेदवारमा कांग्रेसको दाबी किन ?
– कुनै पनि वस्तु एक किलो पुऱ्याउनु छ भने एक पाउ थप्न सजिलो हुन्छ तीन पाउ होइन । त्यो भनेको के भने कांग्रेसलाई माओवादीले मत हाल्दा जित्ने सम्भावना बढी छ । माओवादीलाई कांग्रेसले मत हाल्दा जित्ने सम्भावना कम छ । हामीसँग जम्मा मतको ८० प्रतिशत मत छ । उहाँहरुसँग २० प्रतिशत मात्रै छ । पहिलाको पर्म पनि तिर्नु पऱ्यो नि । १० हजार मत भएको माओवादीलाई ४० हजार मत भएको कांग्रेसले मत हालिदिएर, अझ त्यतिले पनि नपुगेर च्यातचुत पारेर जितेको होइन ? त्यसकारण यसपालि महानगरको मेयरको उमेदवार कांग्रेसबाट हुनुपर्छ भनेका छौँ ।

० गठबन्धनको बैठकमा के-के कुरा भए ?
– जिल्लामा संयोजनका लागि मलाई नै संयोजक तोकेर परिपत्र आएको छ । त्यसकारण मैले नै संयोजन गरेर मेरै पार्टी कार्यालयमा गठबन्धनको बैठक राखेँ । मैले हाम्रो पार्टीका निर्णय उहाँहरुलाई सुनाएँ । मैले बैठकमा आउँदा आफ्नो पार्टीको निर्णयसहित आउँछु भनेको थिए । यहि हिसाबले हामी अगाडि बढ्ने मनसायमा छौँ । हामीसँग धेरै पदहरु छन् । सात पालिकामा प्रमुख र उपप्रमुखगर्दा १४ पद, ९८ वटा वडा छन् । जिल्ला समन्वय समिति छ । यसरी सबैतिर तालमेल गरेर अघि बढौँ भन्ने कुरा राखेँ । उहाँहरुले पनि ठिक छ कुरा राखौँ, छलफल गर्दै अगाडि बढौँ । नमिलेका कुरा मिलाउँदै जाऔँ भन्नुभयो ।

० भनेपछि महानगरको प्रमुख कांग्रेसले पाउनुपर्छ भनेर स्पष्ट रुपमा भन्नुभयो ?
– हाम्रो बटम लाइन नै यही हो । आइतबार मात्रै मैले मेरो नेपाली कांग्रेसको जिल्ला कार्यसमिति बैठक सम्पन्न गरेँ । त्यो बैठकमा केन्द्रबाट गठबन्धनका दलबीच भएको सहमति अनुसार जुन परिपत्र आएको छ, त्यो परिपत्रका आधारमा जिल्लामा रहेका गठबन्धनका दलहरुबीच तालमेल गरेर अघि बढ्ने निर्णय गऱ्यौँ । दोस्रो निर्णयमा नेपाली कांग्रेसको बटमलाइन के हो त भन्दा महानगरको मेयर पद नछाड्ने भन्ने थियो । त्यहि निर्णय अनुसार आज गठबन्धनको बैठकका उपस्थित भएको भनेर बताएँ ।

० महानगरको मेयरको उमेदवार छान्ने त केन्द्रबाटै हो । जिल्लाको निर्णय विपरित केन्द्रबाट अर्को निर्णय भयो भने त मान्नुपर्ने होला नि ?
– मलाई के विश्वास छ भने मैले केन्द्रीय सभापतिलाई कन्भिन्स गराउँछु । यहाँ पाँच जना केन्द्रीय सदस्य हुनुहुन्छ । ५/६ जना पूर्वसभापति हुनुहुन्छ, माननीय, पूर्वमाननीयहरु हुनुहुन्छ । उहाँहरुको बीचमा म जिल्ला सभापति छु । शेरबहादुर देउवा हाम्रो नेता, हाम्रो सभापति हुनुहुन्छ । हामी सबैले हाम्रो सभापतिलाई कन्भिन्स गराउँछौँ ।

भरतपुरको मेयरको उम्मेदवारमा कुरा मिलेन भने त गठबन्धन टुट्ने होला नि ?
– भरतपुरमा माओवादीलाई हामीले मेयर दिएनौँ भने गठबन्धन टुट्न सक्छ ! चुनाव जित्यो भने त ठिक छ, हाऱ्यो भने पनि त फेरि गठबन्धन टुट्ने होला नि । त्यहि भएर यस्तो धराप गठबन्धन नगर्दा नै ठिक हुन्छ । एकल निर्वाचनमा जाऔँ । सँगैबस्दा सम्बन्ध नराम्रो हुन्छ भने त फरक-फरक बस्दा नै ठिक हुन्छ नि ।

एकल निर्वाचनमा जाँदा एमालेले जित्ने होला नि । तपाईंहरु यसमा के देख्नुहुन्छ ?
– २०७४ मा पार्टीगत गठबन्धन थिएन । हो, हामीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई मतदान गऱ्यौँ । तर त्यतिबेला संस्थागत गठबन्धन थिएन । व्यक्तिगत गठबन्धन थियो । माओवादीले हामीलाई कहाँ मत हाल्यो त ? वडामा हाम्रो आफ्नै खाले प्रतिस्पर्धा थियो । अन्य पालिकामा उहाँहरुसँगै हाम्रो प्रतिस्पर्धा थियो । कतिपय वडामा उहाँहरुसँग हामी हारेका पनि छौँ । त्यसकारण त्यतिबेला गठबन्धन थिएन केवल पुष्पकमल दाहालको छोरी भएको हुँदा नेपाली कांग्रेसले सत्ता समिकरणका बीचमा एकल सहयोग गऱ्यौँ ।

० अघिल्लो चुनावमा कांग्रेसका उमेदवार दिनेश कोइरालाको उमेदवारी केन्द्रबाट फिर्ता लिइएको थियो । अहिले पनि त्यहि अवस्था आउन सक्ने सम्भावना कति छ ?
– यो के भने, एक पटक भइसकेको पनि भएकाले ‘अगुल्टोले हान्दा तर्सेको कुकुर बिजुली चम्कदा पनि तर्सन्छ’ भनेजस्तै हो । त्यतिखेर समय कम थियो, त्यसलाई व्यवस्थापन गर्न सकिएन होला । अहिले समय प्रशस्त छ । सबै कुराको जानकारी पनि छ । त्यस्तो हुँदैन । एमाले र माओवादीको गठबन्धन भए मात्रै एकल निर्वाचनमा कांग्रेसलाई गाह्रो हो । निर्वाचनका बेला नेताहरुले जनतालाई असीमित सपना देखाउने र जितिसकेपछि न्युनतम कुराहरु पनि पूरा नगर्ने प्रवृत्ति छ । त्यसो भएको हुनाले २०४८ मा हामीले जित्यौँ, २०५१ मा हाऱ्यौँ । २०५६ मा जित्यौँ २०६४ मा हाऱ्यौँ । २०७० मा जित्यौँ २०७४ मा हाऱ्यौँ । अब २०७९ मा जित्ने पालो हाम्रो हो ।

० महानगरको मेयर कांग्रेसले नै पाउनुपर्छ भनेर अडानचाहिँ किन लिनुभएको हो ?
– एउटा कुरा के बुझ्न जरुरी छ भने हाम्रो छुट्टै पार्टी हो । हामीले छुट्टै मूल्यमान्यता राख्छौँ । एउटा कार्यकालमा हामीले कार्यगत एकता गरेको होला । कार्यगत एकता गर्दैगर्दा त्यो बाटो सबैभन्दा पहिला उहाँहरुले छाड्नुभएको हो, हामीले होइन । त्यसकारण यसपटक उहाँहरुले हामीलाई पर्म तिर्नुपर्छ । गठबन्धन भनेको एक अर्कामा सहयोगको आदानप्रदान हो । आलोपालो हो । अहिले हामीले पाउनुपर्छ । उहाँले पाँच वर्षमा गरेको कामको मूल्यांकन कांग्रेसले जुन हिसाबले गरेको छ, उहाँले गरेको कामबाट हामी सन्तुष्ट भएको भए त हामीले कतिपय कुरामा सहमति गर्न सक्थ्यौँ होला नि त । कार्यकर्तामाझ रुख चिह्न लिएर जान नसक्ने स्थिति पनि छ । त्यस्तो सिनारियो पनि बन्दै छ । त्यसकारण पनि यो हामीलाई महत्वपूर्ण छ । एउटा मान्छेलाई जनताले पाँच वर्षका लागि अवसर दिए । त्यही मान्छेलाई पटक-पटक अवसर दिदैनौँ ।