एक्लिए बाबुराम -जयप्रकाश

एक्लिए बाबुराम -जयप्रकाश


शान्ति स्थापना र संविधान निर्माण प्रक्रियालाई द्रुत गति दिँदै सकारात्मक निष्कर्षमा पुर्‍याउने वाचासहित सत्तारुढ हुनुभएका डा. बाबुराम भट्टराई दिनप्रतिदिन सुस्त र असफल देखिन थाल्नुभएपछि प्रधानमन्त्री पदबाट उहाँको राजीनामा माग्न थालिएको छ । बाबुरामको नेतृत्वमा शान्तिप्रक्रिया टुङ्गिन्छ र निर्धारित समयभित्रै संविधान निर्माणको वातावरण बन्न सक्छ भन्ने विश्वासमा रहेका नेपाली काङ्ग्रेस र नेकपा एमालेसहितका प्रजातन्त्रपक्षीय दलहरू निराश भएका छन् र उनीहरू माओवादीले फेरि धोका दिएको निष्कर्षमा पुगेका छन् । त्यसैले दलहरूले एकताबद्ध भई माओवादीमाथि दबाब सिर्जना गर्न प्रयास गरेका छन् । लडाकु पुनर्वर्गीकरण भई स्वेच्छिक अवकाशमा जाने र समायोजनमा जान चाहनेहरूको सङ्ख्या निर्धारण भइसकेपछि पनि माओवादी नेतृत्वले नयाँ बखेडा झिकेर शान्तिप्रक्रिया अवरुद्ध तुल्याइदिएको छ । अवकाशमा जान चाहनेहरूलाई रकम उपलब्ध गराई तत्काल क्यान्टोनमेन्टबाट बाहिर लैजान गरिएको आग्रहलाई माओवादी नेतृत्वले अटेर गरिरहेको छ भने समायोजन प्रक्रिया सुरु गर्न ‘र्‍याङ्किङ’को नयाँ मुद्दा उठाएर अवरोध पैदा गरेको छ । संविधानसभाको कार्यकाल थप गरिनुअघि गत मङ्सिरमा भएको सातबुँदे सम्झौता कार्यान्वयन गर्ने सर्न्दर्भमा माओवादीले जर्नेल र कर्णेलसहित अधिकृत तहका सयौँ पदहरू माग गर्न थालेपछि समायोजन प्रक्रिया पनि अवरुद्ध हुन पुगेको हो । यद्यपि विशेष समिति र उच्च राजनीतिक तहका बैठकहरूमा भने प्रचण्डले जर्नेल-कर्णेल नमागेको स्पष्टोक्ति दिनुभएको छ । तर, माओवादीनिकटका दैनिक तथा साप्ताहिक पत्रपत्रिकाबाट भने जर्नेल-कर्णेलसहित सयौँ अधिकृत तहको पद नपाई समायोजनमा नजाने प्रचारबाजी माओवादीले गरिरहेको छ । प्रचण्डले लडाकु कमाण्डरहरूलाई पनि मेजर पद मात्र लिएर समायोजनमा नजाने अभिव्यक्ति सार्वजनिक गर्न लगाउनुभएको छ । सधैं दोहोरो भूमिका निर्वाह गरी दलहरूलाई गुमराहमा राख्दै आएको माओवादीले यसपटक पनि आफूहरूलाई गुमराहमा राख्ने प्रयास गरेपछि प्रजातन्त्रपक्षीय दलहरू सचेत हुन पुगेका छन् । त्यसैले उनीहरूले बाबुराम नेतृत्वको वर्तमान सरकारलाई चौतर्फी घेराबन्दी सुरु गरेका छन् र राजीनामाको मागसमेत गर्न थालिएको छ । तत्काल शान्ति स्थापना प्रक्रिया सुरु नगरिए प्रधानमन्त्री बाबुरामविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनीसमेत दलहरूले दिएका छन् ।
यसरी बाबुराम भट्टराईले अन्य पक्षको विश्वास गुमाउनुभएको छ भने आफ्नै पार्टी माओवादीभित्र पनि उहाँ एक्लिने अवस्थामा पुग्नुभएको छ । लामो समयदेखि अन्तरद्वन्द्वमा रहेका प्रचण्ड र मोहन वैद्य किरण पक्षबीच तत्कालका निम्ति एकता हुने भएको छ । वैद्य पक्षले एकताको निम्ति प्रधानमन्त्री पदबाट बाबुरामको राजीनामा आउनुपर्ने भनी राखेको र्सतप्रति प्रचण्ड सकारात्मक हुनुभएपछि दुई पक्षबीच सहमतिको स्थिति बनेको हो । प्रचण्ड बाबुरामलाई पदमुक्त गराउन सहमत हुनुभएको छ, तर उहाँले विकल्प निश्चित नभईकन भट्टराईलाई राजीनामा गराउन उचित नहुने धारणा राख्नुभएको छ । वैद्य पक्षले भने तत्काल भट्टराईलाई राजीनामा गराएर विकल्प खोज्ने प्रस्ताव गरेको छ । भट्टराईलाई पदमुक्त गराउने विषयमा भने दुई पक्षबीच सहमति भई नै सकेको छ । यद्यपी तत्कालै आफू भट्टराईविरुद्ध खुला रूपमा लागेको देखाउन भने प्रचण्डले खोज्नु भएको छैन । मंगलबार बेलुका प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रचण्डले बाबुरामलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो । बाबुरामलाई मौखिक समर्थन दिँदादिदैं वैद्यसँग आत्मबन्धन गरेर अघि बढ्ने योजना प्रचण्डले बनाउनु भएको प्रचण्डले बुझिन्छ । त्यसैले शान्ति र संविधानको निम्ति भन्दै जनपरिचालन गर्ने विषयमा पनि प्रचण्ड र वैद्य एकमत भएका छन् । यसलाई वैद्य पक्षले ‘जनसंविधानका लागि जनपरिचालन’ भन्न रुचाएको छ । कब्जा घरजग्गा फिर्ताका सवालमा पनि प्रचण्ड र वैद्य पक्षले समान धारणा बनाएका छन् । कब्जा गर्नेहरूलाई उचित विकल्प तयार गरेर मात्र फिर्ता गर्न दुई पक्षबीच सहमति भएको हो । काङ्ग्रेसलगायतका दलहरू पहिले शान्तिप्रक्रिया टुङ्ग्याएर मात्र संविधान निर्माण गरी जारी गरिनुपर्ने पक्षमा रहेका भए पनि प्रचण्ड र वैद्य लडाकु व्यवस्थापन, शान्तिप्रक्रिया, घरजग्गा फिर्ता र संविधान निर्माणलाई एकसाथ अघि बढाइनुपर्ने धारणामा सहमत भएका छन् । प्रचण्ड र वैद्यबीच सहमति भएपछि अब शान्तिप्रक्रिया थप अवरुद्ध हुने निश्चित भएको छ । यसको असर पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै पर्ने देखिएको छ । भनिन्छ, प्रचण्ड बाबुरामलाई पूर्ण असफल प्रमाणित गरेर सत्ताबाट बाहिर्‍याउन चाहनुहुन्छ । वैद्यसँगको एकताले बाबुरामलाई चर्को दबाबको स्थिति सामना गर्नुपर्ने र दबाबकै कारण प्रधानमन्त्री पद त्याग्न उहाँ बाध्य हुने विश्वास प्रचण्डले गर्नुभएको छ । पार्टीभित्र र बाहिरबाट एकसाथ उत्पन्न हुने दबाबको सामना गर्न सक्ने सामर्थ्य प्रधानमन्त्री भट्टराईमा रहेको विश्वास गरिँदैन । त्यसैले केही दिनभित्रै भट्टराईले राजीनामा गर्नुहुने ठानिएको छ । तर, बालुवाटारका निकटवर्तीहरूले जनाएअनुसार भट्टराई दबाबकै कारण राजीनामा दिएर भाग्ने मानसिकतामा हुनुहुन्न । बरु अवरुद्ध शान्तिप्रक्रियालाई सुचारु गर्न उहाँले सरकारका तर्फबाट विशेष कदम चाल्ने हुनुभएको छ । त्यस्तो कदम स्वेच्छिक अवकाशमा जान चाहने लडाकुलाई रकम हस्तान्तरण गरेर सुरु हुने बताइएको छ । तर, प्रचण्डको सहयोगबिना प्रधानमन्त्रीको मात्र प्रयासले उक्त कार्य कसरी अघि बढ्न सक्ला, विचारणीय छ । यसरी आन्तरिक र बाह्य दुवैतिरबाट दबाब उत्पन्न भएपछि पदत्याग गरेर बाबुराम भट्टराई अचानक नभाग्लान् भन्न सकिँदैन । प्रचण्ड र वैद्यकै कारण ज्यादा अप्ठ्यारो महसुस गर्नुपरेको अवस्थामा भट्टराईले आफ्नो राजीनामाका कारण उनीहरू नै थप सङ्कटमा पर्ने ठानेमा उहाँले राजीनामा दिन सक्नुहुने विश्लेषकहरूको अनुमान छ ।
नेपाली काङ्ग्रेस र एमालेसहित करिब डेढ दर्जन राजनीतिक दलबीच भएको मोर्चाबन्दीले माओवादी नेतृत्वलाई झस्काएको छ । झस्किएका प्रचण्ड र वैद्यले अनुकूल विकल्प प्राप्त नहुन्जेल भट्टराई सरकारकै निरन्तरताको पक्षमा उभिने निष्कर्ष निकाले भने कुनै आर्श्चर्य हुने छैन । त्यस्तै, वैद्य र प्रचण्डले बाबुरामलाई अप्ठ्यारोमा पार्न थालेको अवस्थामा काङ्ग्रेस र एमालेलगायतका दलहरू बाबुरामको रक्षाकवच बन्न सक्ने सम्भावना पनि त्यति नै छ । तत्काल मधेसी मोर्चा सरकारको निरन्तरताको पक्षमा रहेको हुँदा अहिले नै सरकार ढलिहाल्ने विश्वास गर्न सकिँदैन । जे होस्, गत मङ्सिरमा पलाएको आशामा अहिले सङ्कट उत्पन्न भएको छ । संविधानसभाको थपिएको समयसीमाभित्र पनि संविधान निर्माण हुन नसक्ने र शान्तिप्रक्रिया पनि नटुङ्गिने खतराचाहिँ बढेर गएको छ ।