निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म नेपाली सेना

निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म नेपाली सेना


file photo

नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न-भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो ।

रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट उक्त जनशक्ति गुमाउनुपरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख हिमांशु थापाले जानकारी दिनुभयो । पछिल्लो समय चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी एक सैनिकको ज्यान गएको थियो ।

सेनाले चार दशकअघिदेखि प्रकृति संरक्षणको क्षेत्रमा तैनाथ भई सङ्कटापन्न जनावर तथा प्रकृति संरक्षणमा विशिष्ट योगदान पु¥याउँदै आएको छ । सेनाद्वारा वन्यजन्तु तथा प्रकृति संरक्षणमा गरिएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसासमेत हुँदै आएको छ ।

मुलुकका चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपुरी, सगरमाथा, बाँके, मकालुवरुण, शक्लाफाँटा र शे–फोक्ुण्डोसहित १२ निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्षण, ढोरपाटन शिकार आरक्षण तथा अन्नपूर्ण, कञ्चनजङ्गा, कृष्णसार, मनास्लु, अपिनाम्पा र गौरीशङ्कर संरक्षणमा सेना तैनाथ छ । ती क्षेत्रमा सेनाले हात्ती, डुङ्गा, पैदल, साइकल, मोटरसाइकल र सवारीसाधनबाट अहोरात्र गस्ती गर्दै आएको छ ।

देशका ३३ जिल्लामा फैलिएका १४ संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणमा हाल सेनाको आठ गण, सात गुल्म एक शिक्षालय समेतबाट गरी आठ हजार १९ जनशक्ति प्राकृतिक संरक्षणमा तैनाथ छन् । प्रकृति एवं वन्यजस्तु संरक्षणमा सेनाबाट विशिष्ट योगदान भएकै कारण लोपोन्मुख बाघ र गैँडाको सङ्ख्या १० वर्षको अवधिमा दोब्बर भएको तथ्याङ्ले पुष्टि गरेको छ । सेनाले दिएको तथ्याङ्कानुसार सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ रहेकामा २०१८ को गणनामा २३५ पुगेको थियो । पछिल्लो समय सेना नेपालका हिमालको ओज कायम राख्न हिमाल सफाइ अभियानमा समेत जुटेको छ ।

यस वर्ष पनि सेनाले सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र मनास्लु हिमाल सफाइ अभियानलाई निरन्तता भएको छ । उक्त अभियान आगामी चैत २२ देखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा हिमाली क्षेत्रबाट ३५ टन फोहर सङ्कलन गरिने जानकारी दिइएको छ ।