नेपालमा रेडियोको इतिहास

नेपालमा रेडियोको इतिहास


भोजपुरबाट ‘स्वतन्त्र नेपाल रेडियो’ उद्घोषणको शुभारम्भ भएको थियो । बिहान–साँझ दुई पटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिएपछि राणापक्षीय सैनिकले पाख्रीबासमा सात जना भोजपुरे योद्धालाई हत्या गरिदिए । यसपछि सो ट्रान्समिटरलाई रातारात विराटनगरस्थित रघुपति जुटमिलमा लगिएको थियो ।
  • सुनिल उलक

केही दशक पहिलेसम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौँ भने हराउँदै गएको छ । अझ मोवाइलको ब्यापकताले गर्दा ब्यक्तिको साथमा रहने घडीसमेत हराएको छ । अचेल ब्यापक रूपले ब्यापारिक प्रवेश पाएको एफएफ स्टेशनहरूले रेडियोको महत्वलाई कायम राख्न केही हदसम्म मद्दत गरेको छ ।

अङ्ग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिएपछि १९८४ को साउन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रबेशको थालनी भएको देखिन्छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा हल्याण्डबाट उत्पादित फिलिप्सका रेडियोहरू बेलायतबाट नेपालमा प्रवेश भयो । त्यसबेला रेडियो हुनु भनेको धनाड्य हुनुको प्रतीक थियो । अझ रेडियो सेट बजाउन घरमा एन्टेना ठड्याउनुपर्ने हुँदा रेडियो लुकाएर सुन्न मिल्दैनथ्यो । तसर्थ, रेडियो सेट राख्न राणा सरकारसँग अनुमति लिनु पर्दथ्यो । अनुमति नलिइ रेडियो सुनेमा जेल सजायसमेत हुन्थ्यो । मदनमणि दीक्षितले उल्लेख गरेअनुसार वि.सं. १९८६ मा देवमणि दीक्षितले बेलायतबाट मगाएको रेडियो नेपालकै सातौँ रेडियो थियो । दोश्रो विश्वयुद्धताका बेलायतमा रेडियो कमी भएपछि अमेरिकाबाट उत्पादित फिलिप्सकै Philco ब्रान्डका रेडियोहरू भित्रिन थालेको थियो ।

१९९२/९३ मा जुद्धशम्शेरले इलेक्ट्रिक इञ्जिनियर काशिराज पाण्डेलाई विदेशी रेडियो सुनेर समाचारको सँगालो ‘द न्यूज रिल’ तैयार गराइ राणा-दरबारमा उपलब्ध गराउन लगाएका थिए । यसरी रेडियोका समाचारलाई अप्रत्यक्ष रूपमा प्रसार गर्न थालिएको थियो । यो नै नेपालमा रेडियोको महत्वको शुरूवात थियो । यसरी जनतालाई रेडियो सुन्ने बनाउने राणा सरकार दोश्रो विश्वयुद्धको समयमा अङ्ग्रेजविरूद्धको समाचारले चर्चा पाउँदा जनतालाई रेडियो सुन्न बन्देज लगाउन पुग्यो । १९९८ को दशैँअगाडि जुद्धशम्शेरले देश (काठमाडौं) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउँदा यसको सङ्ख्या ४०० वटा थियो ।

कमलमणि दीक्षितले आफ्नो पुस्तक ‘बिर्सेको सम्झेको’मा रेडियोसम्बन्धी आफ्नो अनुभव नै लेखेका छन् । ‘१९९५ मा ठूलो घर अर्थात ठूलो कान्छा बुबाकोमा रेडियो सुन्न उहाँ पुल्चोकदेखि गैरीधारा हिँडेर पुग्नुहुन्थ्यो । विश्व युद्धको समाप्तिपछि सबैले रेडियो फिर्ता पाए । साथमा कमलमणिको बाबाले पनि रेडियो राख्ने अनुमति पाउनुभयो । त्यसपछि घरमै रेडियो सुन्न पाउनुभयो । तर पछि पद्मशम्शेरको समयमा बिजुली अड्डाबाट प्रसारित रेडियो भने वहाँ वनारसमा पढ्न जानुभएकोले सुन्न पाउनुभएन ।

नेपालबाट प्रसारित पहिलो रेडियो कार्यक्रम :

जुद्धशम्शेरले जफत गराएका रेडियो सेटलाई विश्वयुद्धको समाप्तिपछि फिर्ता गरिदिए । यसपछि प्रधानमन्त्री बनेका पद्मशम्शेरले रेडियो राख्न फुकुवा गरिदिए । साथै काठमाडौंमा नै रेडियो प्रसारणको शुरूवात गराए । समाचार सङ्कलनको कार्यमा शुरूमा राखिएका काशिराज पाण्डेले २००३ माघ १४ गते देखि दिउँसो १ बजेबाट १ः३० सम्म बागबजार बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामबाट रेडियो प्रसारणको आरम्भ गरेका थिए । दोश्रो विश्वयुद्धबाट फर्केका सैनिकले बोकेर ल्याएका वायरलेससेटबाट रेडियो प्रसारण गरेका थिए । ठूला-ठूला लाउड स्पिकरबाट रामायणका श्लोकहरू बजाएर रेडियो प्रसारणको आरम्भ गरिएको थियो । पछि यो प्रसारण काठमाडौं उपत्यकाबाहिर पनि सुनिएको समाचार छापिएको थियो । यो रेडियो प्रसारणको समय बिस्तारै १०ः०० देखि ३ः०० बजेसम्म बनाइएको थियो ।

पहिलो रेडियो प्रस्तोता :

२००३ माघ १४ गते प्रसारण आरम्भ भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डेले प्रसारण आरम्भ गरी नेपालको पहिलो रेडियो उद्घोषक बनेका थिए । उनका साथमा अर्का उद्घोषक त्यतिबेलाका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा थिए । नेपाल ब्रोडकास्टिङबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता बाचन गरेका थिए ।

पहिलो प्रत्यक्ष प्रसारण :

पहिलो पटक राणा प्रधानमन्त्री पद्मशम्शेरको विशालनगर दरबारमा भएको भाषणलाई रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ठूला-ठूला स्पिकर जोडिएकाले नजिकका सबैले राम्ररी सुन्न पाए साथमा रेडियोबाट पनि प्रसारण जोडिएकोले चार भञ्ज्याङभित्र सबैले सो भाषण सुन्ने अवसर पाएका थिए । यसरी शुभारम्भ भएको रेडियो प्रसारण पद्मशम्शेरको पतनसँगै २००४ को अन्तमा बन्द भयो । मोहनशम्शेरले ब्यवस्थित रूपमा रेडियो शुभारम्भ गर्ने उद्देश्यले ट्रान्समिटरहरू झिकाएका थिए तर सो सामग्री २०१३ मा मात्र काठमाडौं आइपुग्यो ।

पोखरामा रेडियो :

बडाहाकिम धनशम्शेरले पोखरामा २००४ साल तिर रेडियो ल्याइसके पनि रेडियो सुन्न सक्नुभयो या भएन भन्ने यकिन हुन सकिएन । तर २००५ मंसिर १८ मा कलकत्ताबाट प्रसारण हुने गोर्खाली प्रोग्राममा महात्मा गान्धीको हत्यासम्बन्धी समाचार सुन्न साहु महाजन तथा सर्वसाधारणलाई आफ्नो मोहरिया टोलस्थित सेतो दरबारमा बोलाएका थिए । पोखरेलीले पहिलो पटक रेडियो सुनेको यही नै हो । यसपछि पोखराका अर्का साहु चन्द्रबहादुर भारीले राणा बडाहाकिम भन्दा म के कम भन्दै कानपुरबाट रेडियो बोकेर आएका थिए । यसरी पोखरामा रेडियोको प्रवेश भयो । यसपछि श्यामसाहू (कर्माचार्य) ले पनि रेडियो ल्याए । २००७ सालको आन्दोलनको समयमा पोखरामा रेडियोको सङ्ख्या निकै बढिसकेको थियो । क्रान्तिको समाचार सुन्न मानिसहरू रेडियो भएको घरमा जम्मा हुने गर्दथे । २०१३ सालतिर त पङ्क्तिकारकै बुबाले पनि रेडियो ल्याइसक्नुभएको थियो । त्यति मात्र नभएर उहाँले रेडियो मर्मत गर्न पनि सिकिसकेका थिए ।

२००५ को साउन १८ गते मोहनशम्शेरको समयमा पनि मोहन आकाशवाणीबाट केही सामग्री प्रसारण गरी आकाशवाणीबाट पनि रेडियो प्रसारण गर्न सकिने सफलता हासिल भएको थियो । यसरी नै २००७ मा राणाविरोधी प्रचारको लागि उपयोग गर्दै २००७ मंसिर २५ देखि माघ १९ गतेसम्म भोजपुरमा नारदमुनि थुलुङले ग्रीसबाट लिएर आएको आकाशवाणीका सामग्रीबाट जयन्द्रबहादुर थपलियाले रेडियो उद्घोषणको थालनी गरेका थिए । यस कार्यका लागि नारदमुनि थुलुङले टेक्निकल सहयोग गरेका थिए । नारदमुनि थुलुङ जो भारतीय सेनाको गोरखा राइफलमा भर्ती भइ दोश्रो विश्वयुद्धमा ग्रीस पुगेका थिए । युद्धको समाप्तिपछि उनले ग्रीस रेडियोबाट विश्वमा शान्तिको आवश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनको यही अनुभवले नै भोजपुरबाट ‘स्वतन्त्र नेपाल रेडियो’ उद्घोषणको शुभारम्भ भएको थियो । बिहान-साँझ दुई पटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिएपछि राणापक्षीय सैनिकले पाख्रीबासमा सात जना भोजपुरे योद्धालाई हत्या गरिदिए । यसपछि सो ट्रान्समिटरलाई रातारात विराटनगरस्थित रघुपति जुटमिलमा लगिएको थियो । जहाँबाट तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियो नामबाट २००७ माघ २० गते दिउँसो २ बजे ‘यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौँ’ भन्ने शबदबाट उद्घोषण थालेका थिए ।

विराटनगरबाट नियमित प्रसारण हुन थालेपछि काठमाडौंमा समेत यसको प्रभाव पर्न थालेको थियो । जसले गर्दा मोहनशम्शेरले बिजुली अड्डाबाट साँझ सात बजेदेखि साढे सातसम्म भजन तथा समाचार प्रसारित गरेका थिए । देशमा प्रजातन्त्रको लहर चलेको समय केही समय जुट मिलबाट पनि प्रसारण बन्द भयो । केही समय अन्यत्रबाट प्रसारण भए पनि नियमित हुन सकेन । प्रजातन्त्र आएपछि पुनः नियमित प्रसारणको थालनी भयो । रेडियो स्टेसन राजधानी ल्याउने सहमतिपछि मोहन आकाशवाणी रहेको सिंहदरबारको भवनबाट मोहन आकाशवाणीकै पुरानो ट्रान्समिटरबाट ४१ मिटर शर्टवेभमा नेपाल प्रजातन्त्र रेडियो आरम्भ भयो । पछि भारतीय प्रसारण संस्था आकाशवाणी रेडियोको सहयोगले प्रसारण क्षमतामा वृद्धि भयो । २००७ चैत्र २० गते प्रजातन्त्र नेपाल रेडियोको नियमित प्रसारण आरम्भ भयो । पहिलो दिन बिहान ८ बजे ‘यो प्रजातन्त्र नेपाल रेडियो हो’ भन्ने वाक्यसहित रश्मी राज्यलक्ष्मीले कार्यक्रम शुभारम्भ गरे । तारिणीप्रसाद कोइराला रेडियो नेपालको प्रथम कार्यकारी प्रमुख नियुक्त भएका थिए, यसैले बाँकी कार्यक्रम तारिणीप्रसाद कोइरालाले सञ्चालन गरे ।

यसरी शुभारम्भ भएको ‘प्रजातन्त्र नेपाल रेडियो’को नामपछि ‘नेपाल रेडियो’ हुँदै ‘रेडियो नेपाल’ भयो, जुन नाम हालसम्म नै कायम रहेको छ । पहिलो दिन मात्र एक घण्टा प्रसारण भएको रेडियो प्रसारण समय बढाउँदै लैजाने क्रममा अचेल २४ घण्टा नै प्रसारण हुनुको साथै पाँचै विकास क्षेत्रबाट पनि प्रसारणको थालनी भइसकेको छ ।

तारिणीप्रसाद कोइरालाले केवल ९ महिना स्टेसन डाइरेक्टरको रूपमा सेवा गर्नुभएको थियो । २००८ पुसमा वहाँलाई पदबाट बर्खास्त गरिएको थियो । तर नेपालमा रेडियोको इतिहास लेखिँदा तारिणीप्रसादलाई उचाइमा पुऱ्याइन्छ । जबकि काशिराज पाण्डे तथा नारदमुनि थुलुङको चर्चा नै गरिँदैन ।

एफएमको प्रवेश :

संसारमा पहिलो एफएम सञ्चालन भएको ४५ वर्षपछि नेपालमा पहिलो पटक २०५२ कार्तिक ३० मा रेडियो नेपालले एफएम सञ्चालन गरेको थियो भने निजी स्तरमा २०५२ चैत्र २० गते रेडियो सगरमाथाले एफएम प्रसारणको परीक्षण गरेको थियो । त्यसको २ वर्षपछि २०५४ जेठ ९ गते आधिकारिक रूपमा सरकारको अनुमतिमा नेपालको पहिलो एफएम स्टेसनको रूपमा प्रसारणको आरम्भ गर्न थाल्यो । एफएमबाट पहिलो पटक सरकारी एकाधिकार तोड्दै घमराज लुइँटेलको आवाजमा ‘नमस्कार एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा तथा विज्ञापनरहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो’ भन्दै प्रसारण आरम्भ गरेका थिए । आज सञ्चार मन्त्रालयबाट अनुमति लिएका एफएमको सङ्ख्या ९६२ पुगिसकेको छ । यसमध्ये कति सञ्चालित छन् भन्ने यकिन तथ्याङ्क प्राप्त हुन नसके पनि यसले आमसञ्चारमा रेडियोको भूमिका प्रशस्त बढेको स्पष्ट देख्न सक्छौँ ।