नेपालका छिमेकी र सम्बन्धमा सतर्कताको सवाल

नेपालका छिमेकी र सम्बन्धमा सतर्कताको सवाल


आज चीनले ‘व्यापार-युद्ध’बाटै विश्वमा जनसमर्थन जुटाएर आफ्ना उत्पादनको स्वाद चखाउँदै व्यापार-युद्धको गति तीव्र तुल्याइरहेको छ । अब नेपालीले सोच्ने बेला यही हो । हाम्रो देशको जनसङ्ख्या लगभग ३ करोड, त्यसमाथि पनि एक करोड जति त वैदेशिक श्रममा छन् भने उता भारतको जनसङ्ख्या १ अर्ब ३० करोड छ । अब ‘व्यापारी चीन’ले कता हेर्ला त ?

  • रामहरि बाजे

संसारमा कुनै पनि देश एक्लै रहन सक्दैन । चाहे स्वार्थवश होस् चाहे मित्रता संरक्षणको लागि होस्- सम्बन्ध रहेकै हुन्छ । यसै मेसोमा हाम्रा देशभक्त राजा महेन्द्रले नेपाल भू-परिवेष्टित देश भएर पनि तल-माथिका छिमेकीलाई समान व्यवहार गर्दै सात समुन्द्रपारिका देशहरूसँग गहिरो दौत्य सम्बन्ध कायम राख्न सफल भए । युगोस्लाभियाको राजधानीमा सम्पन्न असंलग्न राष्ट्रको पहिलो विश्व सम्मेलन (जसलाई बेलग्रेट सम्मेलन भनिन्छ) मा श्री ५ महेन्द्रबाट सारगर्वित भाषण गर्दै नेपाल भन्ने देश कहाँ छ भन्नेसमेत थाहै नभएका देशका प्रतिनिधिहरू समेतलाई प्रभाव पार्न सफल भइ विश्वसँग दौत्य-सम्बन्ध बढाउन सफल भएको महान् कदमको सह्राहना गर्नैपर्छ । त्यहाँका आजीवन राष्ट्रपति शान्तिवादी पुरुष एवम् सम्मानित राष्ट्रपति मार्शल जोसेफ टिटोको अध्यक्षतामा भएको उक्त विश्व सम्मेलन यस मानेमा पनि हाम्रालागि समेत ऐतिहासिक बन्न पुगेको छ ।

त्यस्तै, महेन्द्रपछिका राजा वीरेन्द्रबाट भएको ‘सार्क’ स्थापना र नेपाललाई शान्तिक्षेत्र घोषणा गर्दाको गरिमालाई राष्ट्रवादी नेपालीले बिर्सन हुँदैन । तर, सम्पन्न छिमेकी चीनदेखि विश्वका अरू धेरै राष्ट्रहरूले साथ-समर्थन गरिसक्दा पनि हाम्रो अनन्य मित्र भनेर विश्वास गरिएको तथा रोटीबेटीको सम्बन्धले बाँधिएको १७७० कि.मि. सँधियार खुल्ला सीमाना रहेको देशले कुन्नी किन हो शान्तिक्षेत्रको प्रस्ताव समर्थन गर्न मानेन… !? यो पेटबोलीमै बुझे हुन्छ, अर्थात् छिमेकीको नियत प्रष्टै बुझिन्छ ।

यता, रोटीबेटीको सम्बन्ध नभएको हिमाली क्षेत्र र तिब्बत क्षेत्रको कठिन भूगोल तथा सीमित मात्र राजमार्ग जोडिएको देशबाट ज्यादा आशा र भरोसा गर्नु पनि उचित र भरपर्दो हुने छैन । आज चीनले ‘व्यापार-युद्ध’बाटै विश्वमा जनसमर्थन जुटाएर आफ्ना उत्पादनको स्वाद चखाउँदै आफ्नो व्यापार-युद्ध सफल पार्ने गति तीव्र तुल्याइरहेको छ । अब नेपालीले राष्ट्रिय मन-बुद्धिले सोच्ने बेला यही हो । हाम्रो देशको जनसङ्ख्या लगभग ३ करोड, त्यसमाथि पनि एक करोड जति त वैदेशिक श्रममा छन् भने उता भारतको जनसङ्ख्या १ अर्ब ३० करोड छ । अब ‘व्यापारी चीन’ले कता हेर्ला त ? अहिलेलाई यत्ति मात्र … !

  • विदुर-४, नुवाकोट