होमियोप्याथी सरकारको हेपाइमा परेको छ

होमियोप्याथी सरकारको हेपाइमा परेको छ


डा. केपी सुवेदी (एमडी), अ.प्रो., सिनियर कन्सल्ट्यान्ट फिजिसियन

० डाक्टर सा’ब, छोटोमा बुझ्नुपर्दा होमियोप्याथी के हो ?
– होमियोप्याथी समानले समानलाई हटाउँदछ भने वैज्ञानिक सिद्धान्तको आधारमा प्रतिपादित एक सशक्त चिकित्सा विज्ञान हो । यो सरल सुलभ एवम् प्रतिकूल असर नपार्ने सबैले सेवन गर्न मिल्ने चिकित्सा प्रणाली हो ।

० नेपालमा यसको उपयोग कहिलेबाट शुरु गरियो होला ?
– वि.सं. २००४ मा पशुपति मन्दिरक्षेत्र परिषद्मा होमियोप्याथी च्यारिटी सेवा केन्द्र सञ्चालन भएको थियो । त्यसताका नेपालमा हैजाको ठूलो महामारी फैलिएको र सो माहामारीलाई अन्य चिकित्सा प्रणालीले पूर्ण नियन्त्रण दिन नसकेको हुँदा तत्काल भातरको बंगालबाट एक जना होमियोप्याथिक चिकित्सक झिकाइ सरकारले महामारीलाई नियन्त्रणमा लिन सफल भएको इतिहास छ । ती चिकित्सकले एक योगी राम अघोरीबाबालाई प्रशिक्षण दिएका थिए र, तिनै अघोरीबाबाको पहलमा ६ शैय्याको पशुपति होमियोप्याथिक चिकित्सालय हरिहरभवनमा तात्कालीन राजा त्रिभुवनले स्थापना गरेका हुन् ।

० होमियोप्याथीबाट कुन–कुन रोगको उपचार सम्भव हुन्छ, बुझाइदिनुहोस् न !
– सबै रोगहरू- प्यारालाइसिस, पाइल्स, अल्सर, पथरिया, क्यान्सरलगायतका सबै प्रकारका जटिल रोगको उपचार यस प्रणालीबाट सम्भव छ । यो नितान्त व्यक्तिपरक चिकित्सा पद्धति हो । यसमा यो रोग त्यो रोग भन्दा पनि बिरामीमा भएका समग्र लक्षणहरू एकीकृत एवम् तिनको पहिचान गर्न एक्सरे, ल्याब र अन्य रिर्पोट लिइ अनुसन्धान गरिन्छ । एकै रोगका बिरामीमा बेग्लाबेग्लै खालका अनौठा लक्षण हुन्छन् । यस्ता फरक-फरक विचित्रका लक्षणहरूमा बिरामीलाई सोहीअनुसारको विशिष्ट औषधिको प्रयोग गरी रोग नियन्त्रण गरिन्छ । ‘रेयर एण्ड पिकुलियर’ रूपमा प्राप्त लक्षणहरूलाई समेत समाविष्ट गरी टोटालिटी अफ सिम्टम्स्को आधारमा उपचार हुने भएकाले सबै प्रकारका रोगीको उपचार सम्भव हुन्छ । यो नितान्त प्राविधिक विषय भएकाले सबैले नबुझ्न सक्छन् ।

० सबै रोगको उपचार हुन्छ भने यसको विकास र विस्तारमा के गर्न जरुरी छ भन्ने लाग्छ ?
– यसलाई बुँदागत रूपमा भन्नुपर्दा-

१. सरकारले प्रत्येक जिल्ला जिल्लामा छुट्टाछुट्टै वा जिल्ला अस्पतालमा आवश्यकता हेरेर सरकारी होमियोप्याथिक चिकित्सकको दरबन्दी कायम गरी सर्वसाधारणको पहुँचमा होमियोप्याथी चिकित्सकालाई पु¥याउनु पर्छ ।

२. हरेक प्रदेशमा एक-एक प्रादेशिक अस्पताल सञ्चालन गर्नुपर्छ ।

३. काठमाडौंमा राष्ट्रिय स्तरको रिसर्च सेन्टरसहितको अस्पताल सञ्चालन हुनुपर्छ ।

४. नेपाल जडीबुटी आदि प्राकृतिक सम्पदाले सुसम्पन्न छ, त्यसकारण पनि नेपालमा एउटा होमियोप्याथिक औषधि उत्पादन गर्ने कारखानाको स्थापना गरी विदेशमा समेत निर्यात गर्न सकिन्छ ।

५. आवश्यकता हेरी नेपालमा होमियोप्याथिक मेडिकल कलेज टिचिङ हस्पिटल सञ्चालन गर्नु पर्दछ ।

६. स्वास्थ्य महाशाखामा छुट्टै होमियोप्याथिक विभागको स्थापना गर्नु पर्दछ ।

७. सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा होमियोप्याथीलाई समेत समावेश गर्नु पर्दछ ।

८. नेपालमा औषधि उत्पादन नहुन्जेल आयात गर्नुपर्ने विदेशी गुणस्तरीय औषधि कम्पनीहरूलाई सहजरूपमा नेपालमा दर्ता गरी औषधिको परिपूर्ति सहज गराउनु पर्दछ ।

९. नेपालको संविधानको धारा ३५को उपधारा ३ मा प्रत्येक नागरिकलाई समान पहुँचको हक हुनेछ भन्ने लेखिएको भए पनि होमियोप्याथीमाथि यसको विकास–विस्तारमा ध्यान नदिएर सरकारले असमान व्यवहार गरेको छ र सो धाराअनुरुप यस्तो हुनु हुँदैन ।

१०. यस विधालाई आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागको नाममा सम्बोधन गरिनु अत्यन्तै असान्दर्भिक भएकाले तुरुन्त परिमार्जन गरी यसलाई वैकल्पिक विभाग भनी क्रमशः होमियोप्याथिक, आयुर्वेदिक, योगा, युनानी, न्याचुरोप्याथी एवम् आदि अन्यलाई छुट्टाछुट्टै रूपमा सरकारले सम्बोधन गर्नु पर्दछ ।

११. आयुर्वेदिक आफै वैकल्पिक विधा हो र यसलगायतका होमियोप्याथी, योगा, युनानी, न्याचुरोप्याथी अकुपन्जर आदि सबैको नाम उल्लेख गरी एउटा छुट्टै वैकल्पिकि चिकित्सा वा कम्लीमेन्ट्री चिकित्सा विभागको अधीनमा राख्ने व्यवस्था गर्नु पर्दछ । त्यसकारण यी कुनै पनि आधुनिक चिकित्सा विज्ञानभित्र नपर्ने भएकाले यिनको छुट्टै व्यवास्था सरकारले गर्नु उपयुक्त हुन्छ । यदि यो सम्भव नभए होमियोप्याथी विभागको छुट्टै स्थापना गरिनु पर्दछ ।

सरकारद्वारा उल्लिखित कार्यहरू यथाशीघ्र सम्बोधन भए मात्र होमियोप्याथिक चिकित्साको पहुँच सर्वसाधारण एवम् विपन्न वर्गसम्म सहज रूपमा पुग्नुका साथै यसको मर्म र भावनाको पनि सम्मान भएको ठहर्छ भन्ने मेरो धारणा छ ।