कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, १६ माघमा बस्ने

कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, १६ माघमा बस्ने


संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।

यस्तै, संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ ।