कोभिडविरुद्धको खोप अनिवार्य गर्ने पहिलो मुलुक अष्ट्रिया

कोभिडविरुद्धको खोप अनिवार्य गर्ने पहिलो मुलुक अष्ट्रिया


  • प्रतीक्षा सुवेदी (खड्की), अष्ट्रिया

युरोपेली मुलुकको सम्पन्नशाली मानिएको राष्ट्र अष्ट्रियाले आगामी फेब्रुअरी १ देखि आफ्नो मुलुकभित्र बसोबास गर्नेहरुको हकमा कोभिडविरुद्धको खोप अनिवार्य रुपमा लगाउनुपर्ने कानुन यहाँको संसद्ले पास गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अष्ट्रिया कोरोना खोप अनिवार्य गर्ने विश्वकै पहिलो मुलुक बनेको छ ।

२०२१ को डिसेम्बर १६ तारिखदेखि लगातार कानुन निर्माणमा जुटेको केन्द्रिय संसद्ले बिहीबार बृहत छलफलसँगै विविध बुँदामा बृहत संशोधनसँगै उक्त कानुन पास गर्ने निर्णय गरेको हो ।

भलै यो कानुनमा सबैलाई खोप अनिवार्यको खाका तयार गरिए पनि गर्भवती, १४ वर्षभन्दा कम उमेरका व्यक्तिहरुका साथै दीर्घ घातक रोगले थलिएकाहरुको सवालमा कानुनले कुनै असर नगर्ने भनिएको छ।

पछिल्लो समय खोप अनिवार्य गर्नेबारे कानुन बनाइन लागेको थाहा भएपश्चात यहाँ अनिवार्य खोपको विरुद्ध हरेक साता सडक प्रदर्शनहरु हुँदै आएका थिए । यसैबीच अष्ट्रियन संसद्ले अनिवार्य खोपका बारेमा नागरिक तहबाट एक्पर्टिज राय मागेको थियो, जसमा करिव १ लाख १० हजार पत्रहरुमार्फत संसद्लाई अनिवार्य खोपका बारेमा, साथै कानुनमा उल्लेख गर्नुपर्ने र नपर्ने विविध विषयहरुमा राय दिइएको थियो ।

सोही रायलाई अध्ययन गर्दै सम्पूर्ण उमेर समूहलाई खोप अनिवजार्य गर्ने भनिएकोमा १४ वर्षभन्दा माथिको उमेर समूहलाई मात्र अनिवार्य खोप लागाउनु पर्ने रखोप लगाउन नमान्नेलाई कस्तो सजाय गर्ने भन्ने विषयमा समेत कानुन स्पष्ट रहेको जनाइएको छ ।

ज्ञातव्य छ, अष्ट्रियाले दोश्रो डोज लगाएको चार महिना पुगेको व्यक्तिहरुलाई उनीहरुले चाहेअनुशारको तेस्रो बुस्ट डोज खोप लगाउँदै आइरहेको छ, साथै लाखौँको संख्यामा दैनिक पिसिआर जाँच पनि गर्दै आइरहेको छ ।