यसरी तुहियो एन्फाको बैठक बिथोल्ने थापाको रणनीति

यसरी तुहियो एन्फाको बैठक बिथोल्ने थापाको रणनीति


थापाले फुटबललाई आफ्नो बपौतीकै रूपमा हेर्न छाडेका छैनन् । त्यसैले आफू नभए पनि आफ्ना छोरा गौरव थापालाई जसरी पनि एन्फामा भित्र्याउन प्रयासरत छन् ।

कारवाहीको सन्त्रालले सबै चुप !

  • श्रीविक्रम भण्डारी

अखिल नेपाल फुटबल (सङ्घ) एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फा केन्द्रीय कार्यसमितिको बैठक बिथोल्न हरसम्मत प्रयास गरे पनि अन्ततः एन्फा कार्यसमितिको बैठक सफलताका साथ सम्पन्न भएको छ । शेर्पाले आफूमाथि निराधार आरोप लगाएको, आरोप झूठो साबित भइसक्दा पनि आत्मालोचना नगरेको र आफ्नो परिवारमा ठूलो मानसिक आघात पुगेको भन्दै थापाले एन्फा कार्यसमितिको बैठकमा आफ्नो भनाइ राख्न आग्रहका साथ एन्फामा निवेदन दर्ता गरेका थिए । फिफाद्वारा प्रतिबन्धित व्यक्तिले फिफाको मातहतमा रहेको एन्फाको कुनै पनि कार्यक्रममा सहभागिता जनाउन नपाउने जानकारी हुँदाहुँदै पनि थापाले एन्फाको केन्द्रीय कार्यसमितिलाई प्रभावित पार्न किन यस्तो ‘दुःस्साहस’ गरे त्यो आफैमा चर्चाको विषय बनेको छ ।

थापाले एन्फाका केही पदाधिकारीको सहयोगमा आफ्नो भनाइ राख्ने निहुँमा कार्यसमितिको बैठक बिथोल्न ठूलो कसरत गरे पनि थापा अन्त्यमा असफल भएका छन् । उनको मनसायमा पानी फेरिएपछि एन्फाको कार्यसमितिको बैठकमा उनको अनुरोधपत्रबारेमा एन्फाका कुनै पदाधिकारीले उच्चारणसमेत गरेनन् । कार्यसमितिको बैठकमा थापालाई स्थान दिँदा आफू समेत फिफाको कारवाहीमा पर्ने भएकै कारण थापापक्षका पदाधिकारीले समेत उक्त विषयमा ‘चुँ’ समेत गरेनन् । एन्फाको संस्थापन पक्ष थापाको अनुरोधपत्रको बारेमा बैठकमा चर्चा होस् भन्ने चाहन्थ्यो, तर कुनै पनि पदाधिकारीले थापाको आवाज कार्यसमितिमा घन्क्याउने प्रयत्न गरेनन् । यसरी एन्फाको कार्यसमितिको बैठकलाई असफल पार्ने थापाको रणनीति बीचमै तुहिन पुग्यो । तसर्थ एन्फाका वर्तमान पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमार्फत तिक्तता पोख्दै आएका थापाको यो रणनीति पनि फेसबुकमै सीमित बन्न पुग्यो । उनको अनुरोध फगत अनुरोधमै सीमित बन्न पुग्यो ।

फिफाले गणेश थापालाई दशवर्षे प्रतिबन्ध लगाएर उनको दाह्रा-नङ्ग्रा सबै काटिदिएको अवस्था छ । र पनि, थापाले फुटबललाई आफ्नो बपौतीकै रूपमा हेर्न छाडेका छैनन् । त्यसैले थापा आफू नभए पनि आफ्ना छोरा गौरव थापालाई जसरी पनि एन्फामा भित्र्याउन प्रयासरत छन् । त्यसको लागि उनी साम दाम दण्ड भेदको रणनीति अख्तिार गर्दै बेलाबेलामा एन्फामाथि धावा समेत बोलिरहेका छन् । उनको पछिल्लो अनुरोधपत्रको हर्कत पनि यसैको एउटा नमूना हो । एन्फाका वर्तमान उपाध्यक्ष पंकज नेम्वाङलाई अध्यक्ष पदको ललिपप देखाएर उनीमार्फत थापा गौरवलाई एन्फामा भित्र्याउन लालायित देखिएका छन् । यो कुरा प्रायः असम्भवजस्तै देखिए पनि थापाले नेम्वाङलाई मोहरा बनाउन छाडेका छैनन् । यसर्थमा कि, एएफसीका पूर्वअध्यक्ष हमालले गौरव थापाको खातामा एक लाख डलर हालेको प्रमाणित भएपछि गणेश थापालाई फिफाले १० वर्षे प्रतिबन्ध लगाएको थियो, जसबाट थापाको एन्फा अध्यक्ष पदसमेत गुमेको थियो ।

सन् २०१५ मा फिफाले थापालाई फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी १० वर्षको प्रतिबन्ध लगाएको थियो । १३ नोभेम्बर २०१५ मा थापालाई पठाएको पत्रमा फिफाको आचारसंहिताको धारा १३ (सामान्य नियम), धारा १५ (वफादारी), धारा १८ (खुलासा, सहकार्य र खबर गर्ने कर्तव्य), धारा १९ (स्वार्थ बाझिने), धारा २० (उपहार लिन-दिने तथा अन्य फाइदा लिने) र धारा २१ (घुस र भ्रष्टाचार) उल्लङ्घन गरेकोमा दोषी पाएको उल्लेख गरेको छ । अहिले थापाले फिफाको कारवाही भोगेको सात वर्ष भइसकेको छ । र पनि, थापाले आफूलाई आर्थिक मामिलामा दुधले नुहाएको व्यक्तिको रूपमा प्रस्तुत गर्न भने छाडेका छैनन् । एन्फामा दुई दशक भन्दा बढी राज गरेका थापालाई उनको कार्यकालमा लाखौँ आर्थिक हिनामिना गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यो विषयमा थापाले आफूलाई अख्तियारले सफाइ दिएको बताउँदै आएका छन् । साथै आफूले आर्थिक अनियमिता गरेको भए जस्तोसुकै सजाय भोग्न तयार रहेको थापाले हालै सामाजिक सञ्जालमा राखेको भडियोमा समेत उल्लेख गरेका छन् ।

यदि भोलि अख्तियारले तामेलीमा राखेको थापाको मुद्दालाई कसैले उल्टाइदियो भने त्यसपछि उनको जवाफ कस्तो आउला त्यो अहिले चासोको विषय बनेको छ । जसको शक्ति उसैको भक्ति भन्ने कुरा थापालाई राम्रोसँग थाहा छ । देश, काल, परिस्थिति पनि अहिले थापाको पक्षमा छैन । यस्तो विषम परिस्थितिमा थापाले यसरी नै निहुँ खोज्दै गएमा गाडिएको मुर्दा जुनसुकै बेलामा उधिनिने कुरालाई नकार्न सकिँदैन । तसर्थ यतिबेला चर्चाशुन्य बनिसकेको मुद्दालाई थापाले किन उधिनेर आफैलाई विवादमा ताने- बुझ्न नसकिने पहेली बनेको छ । थापाले आफूलाई दुधले नुहाएको व्यक्तिको रूपमा प्रमाणित गर्न जुन जोखिम मोले त्यसले उनको व्यक्तित्वमा नकारात्मक प्रभाव पारेको छ । त्यसैले बेमौसमको बाजा बजाउनुभन्दा ‘स्याल मार्न जाँदा बाघको खजाना बोक्नुपर्ने’ उखानलाई थापाले आत्मसात गर्नुपर्ने देखिन्छ । यसैमा उनको भलाइ र दूरदर्शिता झल्किनेछ ।

दुई दिन (पुष १५ र १६) गतेसम्म चलेको एन्फा कार्यसमितिको बैठकमा १९ वटा एजेन्डामा छलफल भएको थियो । ती एजेण्डाहरूमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्ने सम्बन्धमा, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने सम्बन्धमा, शहिद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग प्रतियोगिता सम्बन्धमा, महिला राष्ट्रिय लिग सम्बन्धमा, विभिन्न समिति तथा उप समितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा, आर्थिक कर्मचारी नियमावली संशोधन सम्बन्धमा, फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने सम्बन्धमा, विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिजियोथेरापीको सामान खरिद गर्ने सम्बन्धमा, एन.एस.एल.को सम्झौता सम्बन्धमा, जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा, जिल्ला तथा प्रदेश फुटबल सङ्घलगायत अन्य सदस्य सङ्घहरू (खेलाडी, रेफ्री, प्रशिक्षक तथा महिला)को निर्वाचन तथा साधारणसभा बैठक सम्बन्धमा थिए ।

त्यस्तै, अन्य एजेण्डाहरूमा सङ्घको नियमित साधारणसभाको बैठक सम्बन्धमा, निर्वाचन निर्देशिका सम्बन्धमा, आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा, सङ्घले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिताहरू लगायत प्रशिक्षणहरूमा लिने शुल्क सम्बन्धमा, सङ्घका विभिन्न कार्यक्रम तथा प्रतियोगिता सभा-सेमिनार बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक भ्रमण भत्ता परिमार्जन गर्ने सम्बन्धमा, वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा र त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट बिक्रीवापत प्राप्त रकम सम्बन्धका एजेण्डा प्रमुख रहेका थिए । त्यस्तै नयाँ एजेन्डाहरू ‘विविध’मा परेका थिए ।

एन्फा कार्यसमितिको बैठकले कार्यसमितिको निर्वाचन जेठ १५ गते गर्ने निर्णय गरेको छ । साथै माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल सङ्घ, सदस्य र सङ्घहरूको निर्वाचन तथा साधारणसभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाइ जारी गर्ने र माघ २९ गते एन्फाको विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले फागुन १५ देखि ३० गते भित्र जिल्ला सङ्घलगायत सदस्य सङ्घहरूको निर्वाचन गर्ने भएको छ । त्यसपछि चैत्र १ देखि १० गते भित्र प्रदेश सङ्घको निर्वाचन गर्ने र २०७९ जेष्ठ १५ गते चुनावी साधारणसभा गर्ने एन्फाले निर्णय गरेको छ । एन्फा निर्वाचनका लागि सदस्य किरण राईको संयोजकत्वमा ८ सदस्यीय र मधुसुदन उपाध्याय उप-संयोजक र कार्यसमिति निर्वाचन नियमावली मस्यौदा समिति गठन गरिएको छ । यो समितिले सङ्घ, जिल्ला फुटबल सङ्घ, सदस्य सङ्घहरू र कार्यसमितिको निर्वाचन गर्न नियमावली मस्यौदा तयार गरी आगामी कार्यकारिणी बैठकमा पेश गर्नेछ ।