साफ च्याम्पियन गर्न नेपाललाई प्रस्ताव

साफ च्याम्पियन गर्न नेपाललाई प्रस्ताव



दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आगामी संस्करणको साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको छ । साफले सामाजिक संजालमार्फत आगामी संस्करणको साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको जनाएको हो ।

साफको प्रस्ताव आएसँगै नेपालले च्याम्पियनसिप आयोजनाका लागि आवश्यक बजेट र स्थानको बारेमा जानकारी गराइसकेको तथा त्यसबारेमा साफले अध्ययन गरिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका छन् ।

महासचिव तुलाधरका अनुसार एन्फाले पोखरा र काठमाडौंमध्ये एक स्थानमा च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गरेको छ । नेपालको प्रस्ताव साफले स्वीकार गरेमा नेपाल च्याम्पियनसिप आयोजना गर्न तयार रहेको महासचिव तुलाधरले बताए ।

साफ र एन्फाबीच प्रतावित मागहरूमा सहमति भएमा आगामी अगष्ट १२ देखि २४ सम्म साफ च्याम्पियनसिप नेपालमा हुने छ । पछिल्लो पटक सन् २०१९ मा विराटनगरमा साफ च्याम्पियनसिप भएयता कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको छैन । उक्त प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो ।