एनआरएनएको अस्तित्व जोगाउन कुमार पन्तलाई खुलापत्र

एनआरएनएको अस्तित्व जोगाउन कुमार पन्तलाई खुलापत्र



गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले गैरआवासीय नेपाली संघको अस्तित्व खतरामा परेको औंल्याउँदै संघलाई विघटनमा जानुबाट जोगाउनुपर्ने धारणा अघिसारेका छन् । संघको विधान समितिका सह-संयोजकसमेत रहेका गौतमले एनआरएनएलाई विघटन हुनुबाट जोगाउन आग्रह गर्दै संघका अध्यक्ष्य कुमार पन्तको नाममा खुलापत्र लेखेका हुन् ।

निर्वाचनको मिति घोषणा गरी तोकिएको मितिभित्र निर्वाचन गराउन सकिएको खण्डमा गैरआवासीय अभियान जोगिने गौतमको तर्क छ ।

यस्तो छ एनआरएन अगुवा गौतमले अध्यक्ष पन्तलाई लेखेको खुलापत्र –

श्री कुमार पन्त ज्यु,
अध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, काठमाडौं नेपाल

विषय : केन्द्रिय महाधिवेशन तथा निर्वाचन मिति घोषणा सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औँ महाधिवशेन तथा अन्तराष्ट्रिय सम्मेलन गत अक्टोबर महिनादेखि स्थगित छ ।

संघको महाधिवेशनको लागि चयन भएका महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सरोकारवाला पक्षले देखाएको चासोलाई समेत सम्बोधन गर्न यो बीचमा पटक-पटक छलफलहरू भएका थिए ।

संघको निर्वाचनको लागि पाटन उच्च अदालतले समेत वैधानिक रुपमा निर्वाचनको बाटो खोलिदिएको छ । संघको आफ्नै विधानअनुरुप वर्तमान कार्यसमितिको कार्यअवधि २ महिनाभित्र सकिने अवस्था, परराष्ट्र मन्त्रालय र पाटन उच्च अदालतले समेत निर्वाचनको लागि आवश्यक मार्गप्रशस्त गरिसकेपछि कुनै पनि बहानामा निर्वाचन रोक्ने सुविधा अब गैरआवासीय नेपाली संघलाई छैन ।

यसैबीच केन्द्रिय महाधिवेशन आयोजना गर्न र निर्वाचनसम्बन्धी प्रक्रियाका विषयमा संघभित्र उत्पन्न विवाद एवम् असमझदारीलाई अन्त्य गर्न अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान समिति, उम्मेदवारहरू, संघ र सहजकर्ताका बीचमा गत साता भएको सहमति सर्वजनिक भइसकेको छ ।

संघको महाधिवेशन प्रतिनिधि विवादलाई समेत सम्बोधन गर्ने गरि सर्वपक्षीय रुपमा भएको सो सहमतिका आधारमा तत्काल अघि बढ्नुको कुनै विकल्प छैन । तसर्थ, सो सहमतिकै आधारमा संघको १०औँ केन्द्रिय महाधिवेशन तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरि निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरिन्छ ।

सर्वपक्षीय तथा परराष्ट्र मन्त्रालयको जानकारीमा समेत भएको सो सहमति कार्यन्वयन नभए संघ विघटनमा जाने प्रायः निश्चित छ ।

६५ देशका ३५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको मताधिकार सुरक्षित गर्न र संघलाई विघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्न अनुरोध गरिन्छ ।

गंगाधार गौतम
विधान समिति सह-संयोजक तथा
पूर्व अध्यक्ष एनआरएनए बेल्जियम


बोधार्थ :
निर्वाचन समिति, गैरआवासीय नेपाली संघ
संरक्षक परिषद, गैरआवासीय नेपाली संघ
डा. हेमराज शर्मा, महासचिव गैरआवासीय नेपाली संघ
१२ जनवरी २०२२