‘टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु’

‘टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु’


  • स्वयम्भूनाथ कार्की

दिव्य उपदेश भनिने गरेको कृति वास्तविकमा पृथ्वीनारायण शाहको आत्मकथा हो । यसमा उनले नेपाल (तीन शहर)को राजा हुने अभिलाषा आफ्नो मनमा आएदेखि त्यो आकाङ्क्षा पूरा हुँदासम्मको आफ्नो जीवनी बताएका छन् । आफ्नो सङ्घर्षमय जीवनको अन्त्य नजिक आएको आफूलाई आभास भएको छनक पनि दिएका छन् । तीन शहर नेपालको राजा भइसके पछि पनि आफूले गर्न खोजेको तर नभ्याएको तीन कुराको उनले उल्लेख गरेका छन् । राम शाह, महिन्द्र मल्ल तथा जयस्थिति मल्लले झैँ सामाजिक थिति बाँध्ने आफ्नो अभिलाषा, पूर्व-पश्चिमका अनेकाँ ठाउँबाट दक्षिण-उत्तरको अन्य बाटोभन्दा नेपाल भएर नै बाटो कायम गर्ने अभिलाषा तथा दहचोकमा राजधानी सार्ने अभिलाषा पूरा हुन नसकेको अधुरा चाहना उनले उल्लेख गरेका छन् ।

मैतालु भित्र्याउने वा गौना गराउने आफ्नो विवाहमा कबोल गरिएका वा कन्यादानसँगै दान दिइएका एकदन्ता हात्ती र बेहुलीले लगाएको नौलखा भनिएको हार दिग्वन्ध सेनले दिन नमानेपछि त्योसमेत बेहुली बलपूर्वक नै लैजाने चुनौती दिएर मकवानपुरबाट गोर्खाको बाटो लागेका पृथ्वीनारायण शाहमा चन्द्रागिरीबाट तीन शहर नेपाल देखेपछि त्यहाँको राजा हुने लोभ लागेको कुरा स्विकार्छन् । तर, यो नेपाल खाल्टो सर गर्ने (जित्ने) लामो अभियान सम्पन्न हुने ताकासम्ममा तीन शहर नेपालको राजा हुने मोहभन्दा नेपाल एकीकरणलाई लक्ष्य वनाउने मनसायमा पुगेका जस्तो भान यसमा पाइन्छ । उपत्यका सर गर्ने अभियानमा के त्यस्तो कुरा भयो कि त्यसले उनलाई राजधानी नै दहचोक सार्न मन लाग्यो ? यो इतिहासकारले खोज्नुपर्ने तर ध्यान नपुगेको विषय हो ।

जे होस्, यो आत्मकथामा उनले राज्यका केही थिती बाँध्नको निमित्त निर्देशक सिद्धान्त भने प्रतिपादन गरेका छन् । मध्य युगको त्यो क्रुर लडाइँ हुने बेलामा धेरैजसो सामरिक कुराहरूलाई स्थान दिए पनि महत्वपूर्ण राजनैतिक, सामजिक तथा आर्थिक मार्गचित्र उनले प्रस्तुत गरेका छन् । अन्तरिम गणतन्त्रमा महान् छलाङ भनेर चर्चामा ल्याएको भारत र चीनबीचको बाणिज्य पुल हुने कुरा उनको पूरा हुन नसकेको योजनामा रहेछ र त त्यसैबेला भन्छन्- ‘पूर्व पश्चिमको रस्ता बन्द गरी नेपालको रस्ता चलाइदिउँला भन्ने अभिलाषा थियो…’ । शायद रक्सौल काठमाण्डुको बाटो सँगसँगै महेन्द्रले खोेलेको कोदारी राजमार्ग आफ्नो पुर्खाको यही अभिलाषा पूरा गर्ने प्रयत्न थियो कि भन्न सकिन्छ ।

करिव दुई-अढाई दशकपहिले अमेरिकन डलर नेपाली दश रूपैयाँको बराबरी जस्तो थियो, जो वर्तमानमा सय रूपैयाँको हाराहारी कायम छ । यसरी दश गुनाले नेपाली मुद्रामा अवमूल्यन हुँदा नेपाल आर्थिकरूपले कति बलियो भयो यसमा राजनैतिक दलका आस्थावान अर्थशास्त्रीहरूले अनेकौँ तर्क देलान्, सर्वसाधारणको कोणबाट हेर्दा त्यो बेलामा जति श्रम, मेहेनत वा उद्यमले जुनस्तरमा जीवनयापन गर्न सकिन्थ्यो अहिले त्यही स्तरको जीवनयापन गर्न कयौँ गुना ज्यादा श्रम, मेहेनत वा उद्यम आवश्यक परेको तितो तथ्य हो ।

यो आलेख उनका केही आर्थिक सोचका बारेमा सामान्य नागरिकको बुझाइको रूपमा प्रस्तुत गर्ने प्रयत्न हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कुरा होस् वा व्यापार पनि स्वदेशीकै हातमा रहोस् भन्ने प्रयत्न होस्, त्यसबारेमा अनेकौँ अवसरमा, अनगिन्ती भाषणहरूमा आलोचना वा समर्थनमा भएका कयौँ बहसमा प्रशस्त आएका छन् । आर्थिक विषयमा यो दिव्य उपदेशमा उल्लेखित दुई बुँदाको बारेमा भने कसैले ध्यान दिन उपयुक्त सम्झेको पाइन्न । यी दुई बुँदा हुन्- टक्सार चोखो चलाउनु र अदालतको पैसा दरबारभित्र नहुल्नु ! झलक्क हेर्दा यी दुवै बुँदाको खासै महत्व छैन जस्तो भान पनि पर्न सक्छ । यी दुवै कुराले शास्त्रीय अर्थजगतमा महत्व नदिए पनि ब्यवहारिक अर्थ प्रणालीमा भने महत्व राख्छ । टक्सार चोखो चलाउनु भनेको अर्थ नै आफ्नो मुद्राको अवमूल्यन हुन नदिनु भन्ने हो अनि, अदालतकोे पैसा दरबार नहुल्नु भनेको नै दण्ड वा जरिवानालाई राजश्वको श्रोत नबनाउनु भन्ने हो ।

मुद्राको अवमूल्यन शासकीय अर्थतन्त्रमा सकारात्मक सङ्केतको रूपमा लिने गरिन्छ । शायद यसैको प्रभाव होला करिव दुई-अढाई दशकपहिले अमेरिकन डलर नेपाली दश रूपैयाँको बराबरी जस्तो थियो, जो वर्तमानमा सय रूपैयाँको हाराहारी कायम छ । यसरी दश गुनाले नेपाली मुद्रामा अवमूल्यन हुँदा नेपाल आर्थिकरूपले कति बलियो भयो यसमा राजनैतिक दलका आस्थावान अर्थशास्त्रीहरूले अनेकौँ तर्क देलान्, सर्वसाधारणको कोणबाट हेर्दा त्यो बेलामा जति श्रम, मेहेनत वा उद्यमले जुनस्तरमा जीवनयापन गर्न सकिन्थ्यो अहिले त्यही स्तरको जीवनयापन गर्न कयौँ गुना ज्यादा श्रम, मेहेनत वा उद्यम आवश्यक परेको तितो तथ्य हो । धनी र गरिवको अनुपात खासै फरक नपरे पनि धनी र गरिव बीचको अन्तर भने विकरालरूपले ठुलो हुँदै गएको कुरा नकार्न सजिलो छैन । फेरि अमेरिकाको मुद्रा त बलियो भएको छ, तर अढाइ दशकको अमेरिका र वर्तमान अमेरिकामा कुन ज्यादा उन्नत छ भन्ने कुराको उत्तरमा नै यो बुँदाको सार्थकता छ । टक्सार चोखो चलाउँदा वा मुद्राको अवमूल्यन हुन नदिँदा जनताको प्रगति हुन्छ ।

हरेक व्यक्ति आफ्नो कमाइमा निरन्तर उन्नति चाहन्छ, त्यसैको निमित्त उ हमेसा प्रयत्नशील पनि हुन्छ । यही कुरा राज्यको हकमा पनि लागु हुन्छ । राजश्व वृद्धिको उपाय राज्यले हमेशा खोज्नुपर्ने हुन्छ । राजश्वका हरेक शीर्षकअन्तर्गत हुने राजश्वमा वृद्धि ल्याउने प्रयत्न गर्नु राज्यको काम नै हो । त्यस जमानामा पैसा दरबार हुल्नु भनेको वर्तमानमा राजश्वमा ल्याउनु हो । अदालतको दण्ड जरिवानालाई राजश्व शीर्षक वनाएको वर्तमानमा राजश्व वृद्धिको निमित्त दण्ड जरिवानाबाट प्राप्त हुने रकम वृद्धि गर्नु भनेको के अर्थ हुन्छ त्यसको निमित्त घोरिनुपर्ने आवश्यकता नै छैन । त्यसैले अदालतको पैसालाई राजश्व भन्दा अलग राख्नु नै अपराधमुक्त समाज बनाउनेतिरको यात्रा हो भन्ने कुरा विवादस्पद नहोला ।