बढ्दो ओमिक्रोन संक्रमणको चपेटमा अष्ट्रिया

बढ्दो ओमिक्रोन संक्रमणको चपेटमा अष्ट्रिया


  • विशेष सम्वाददाता, भियना (अष्ट्रिया)

कोरोनाको ओमिक्रोन म्युटेत भ्येरियन्ट (भाइरस)को बढ्दो संक्रमणसँगै अष्ट्रियामा कोभिड १९ सुरु भएयता आज (१२ जनवरी) पहिलो पटक अहिलेसम्मकै उच्च रेकर्ड पार गरेको छ। यहाँको आधिकारिक निकायले दिएको रिपोर्टअनुसार आज बुधबार बिहान ९ः२० बजेसम्म १७ हजार भन्दा बढी व्यक्तिहरुमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

क्रिसमस छुट्टी सकिएसँगै स्कुलहरु सुरु हुँदा संक्रमण केही बढ्ने अनुमान गरिएता पनि आज अप्रत्यासित रुपमा संक्रमणको पारो ह्वात्तै बढेको हो । भलै, यहाँस्थित भाइरोलोजिस्टहरुले संक्रमणको दर दैनिक करिब १५ हजार पुग्ने अनुमान गरेका थिए ।

अघिल्लो हप्ता साउथ अफ्रिका तथा संयुक्त अधिराज्यका अनुसन्धानबाट निस्किएको प्रथम नतिजाले ओमिक्रोन ज्यादा छिटो फैलिने सक्ने तर ‘माइल्डु’ देखिने भन्ने जनाइएको थियो । तर यो ‘माइल्डुु’ भन्ने शब्दलाई डाक्टरहरुले सामान्य रुपमा लिन नहुने प्रतिक्रिया जनाइरहेका छन्। किनकि, हरेक ‘माइल्ड सिन्टोम’ नै ‘सेभियर’को कारण बन्ने उनीहरुको तर्क छ।

कोभिड-१९ ओमिक्रोन संक्रमणको पारो बढेता पनि अस्पताल भर्ना भएर उपचार गराउनुपर्ने संक्रमितको संख्या नबढेको कारण साथै कोभिड संक्रमणको दोश्रो लहर हुँदाको अवस्था जस्तो जटिल अवस्था नरहेको र मात्र इन्टेन्सिभ उपचारका लागि प्रयोग गरिने IMCU हरु प्रशस्त रहेको हुँदा सरकारी निकाय लकडाउनका विषयमा बाहिर बहस गरेको देखिँदैन साथै यस्तै अवस्था रहिरहेको खण्डमा लकडाउन नगरिकन, कोरोना का विविध रक्षात्मक उपायहरु अवलम्बन गर्दै अगाडि बढ्न सकिने यहाँस्थित अधिकारीहरुको सोच रहेको जनाइएको छ।

कोभिडविरुद्दको आभियानमा करिब ८० लाख जनसंख्या रहेको अष्ट्रियाले करिब ५ लाखभन्दा बढी दैनिक निःशुल्क पिसिआर टेस्ट गर्दै आउनुका साथै निःशुल्क खोप एवम् बुस्टर खोपका लागि अभियान नै संचालन गरिरहेको छ ।