३ माघ २०७८, सोमबार

राष्ट्रिय एकता दिवस र धुन्धुकारी शासन !

  प्रकाशित मिति
२८ पुष २०७८, बुधबार १७:४३


photo rss

देशै नरहे हाम्रो अस्तित्व हुँदैन, हामी नेपाली हुने थिएनौँ भन्ने तथ्यप्रति आँखा चिम्लिँदै पृथ्वीनारायणप्रति गरिने पूर्वाग्रही व्यवहार मुलुककै विखण्डन र विघटनसम्मको सोच पाल्ने धुन्धुकारीहरूले मात्र गर्न सक्दछन्, यसप्रति तमाम देशभक्त नेपाली सचेत र चनाखो रहनु आजको आवश्यकता हो ।


राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तीन सयौँ जन्मजयन्तिको अवसरमा सार्वजनिक बिदा घोषणा गरी नेपाल सरकारले राष्ट्रिय एकता दिवसलाई भब्यताका साथ मनाउने आशा-अपेक्षा गरिएको थियो । तर, चौतर्फी उठेको यो मागका बाबजुद अत्यन्त सम्वेदनशील यस मामलाप्रति सरकार फेरि पनि उदासिन रह्यो । नेपाल राष्ट्र निर्माणको गौरवशाली दिवसका रूपमा पृथ्वीनारायण शाहको जन्मजयन्ति मनाउने र सार्वजनिक बिदा घोषणा गरी यस दिनको महत्व दर्शाउने सत्कर्म गर्नबाट नेपाल सरकार चुक्न पुग्यो । अर्थात्, मुलुकनिर्माताका प्रति निर्मम वनेर सरकारले आफ्नो गैरराष्ट्रवादी चरित्र उजागर गरिदियो ।

एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो, यसलाई पृथ्वीनारायण शाहका आलोचक या विरोधिले पनि नकार्न सक्दैनन्, नकार्न मिल्दैन । यदि नेपाल राष्ट्रको निर्माण सत्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने कुरा पनि त्यत्तिकै तथ्य र सत्य हो । यसरी घामजत्तिकै छर्लङ्ग रहेको ऐतिहासिक तथ्यलाई ०६३ को कथित लोकतान्त्रिक आन्दोलनपछिको सरकारले नजरअन्दाज गर्दै राष्ट्रनिर्माताको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने तथा उक्त दिन सार्वजनिक बिदा दिने गरिएको परम्परालाई तोडिदियो । त्यसअगाडिका सरकारले यस पुनित दिनको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

राजनीतिक परिवर्तनसँगै उक्त प्रचलनको यसरी अन्त्य गरिएको थियो भने विभिन्न जाति र समुदायले सजिएको मुलुकका केही स्थानमा राष्ट्रनिर्माताका योगदानलाई सङ्कुचित पार्न एकीकरणको औचित्यमाथि नै प्रश्न उठाउने, राष्ट्रनिर्माताको शालिक भत्काउने र, कतिपय अतिवादीहरूले त उनको तस्बिरमा थुक्नेसम्मका जघन्य अपराध गर्दै आए । नेपाल र नेपालीको नाम र पहिचान दिने राष्ट्रनिर्माताको स्मृतिमा ‘पृथ्वीजयन्ती’का दिन राष्ट्रिय एकता दिवस मनाउने पहिलेको परम्परालाई निरन्तरता दिनुपर्ने आवाज चौतर्फी उठिरहेको परिवेशमा यस्तो जघन्य प्रवृत्ति प्रदर्शन गर्ने र देशद्रोहको अपराधमा सजाय गरिनुपर्ने खलपात्रहरूलाई ‘लोकतान्त्रिक स्वतन्त्रता’को नाममा उल्टै पश्रय दिने व्यवहार वर्तमान शासक तथा राजनीतिक नेतृत्वहरूको रहँदै आएको छ । यो अत्यन्त गम्भीर र रहश्यपूर्ण विषय हो । देशै नरहे हाम्रो अस्तित्व हुँदैन, हामी नेपाली हुने थिएनौँ भन्ने तथ्यप्रति आँखा चिम्लिँदै पृथ्वीनारायणप्रति गरिने यस्तो पूर्वाग्रही व्यवहार मुलुककै विखण्डन र विघटनसम्मको सोच पाल्ने धुन्धुकारीहरूले मात्र गर्न सक्दछन्, यसप्रति तमाम देशभक्त नेपाली सचेत र चनाखो रहनु आजको आवश्यकता हो ।

जतिसुकै राम्रा व्यक्तिका पनि कमी-कमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् भन्ने मान्यता पनि छ । यस सन्दर्भमा कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासकका रूपमा पनि चित्रित गर्ने कोशिस पछिल्ला दिनमा गर्दै आएका छन् । जातीय शासनलाई उनले भताभुङ्ग पारेको तथा पृथ्वीनारायणकै पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको, विभिन्न जातजातिको धर्म, संस्कृति-संस्कार मासेको भन्ने पनि कतिपयको आरोप छ । तर, यी आरोप पूरै पूर्वाग्रही बनेर लगाइएका हुन् भनी पुष्टि गर्ने अनेक प्रमाण आज हामीसामु छन् । पृथ्वीनारायणले विजित भूभागमा आफ्नो हैकम नचलाइ स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिइ महत्वका साथ जीवन्त राख्न आदेश दिएको तथ्य अब लुकाएर लुक्दैन । अढाइ सय वर्षअघि नै मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्ने प्रतिबद्धता उनले जनाएका थिए । यसबाट उनी एक दूरदर्शी, राष्ट्रिय एकता र सामाजिक सद्भावले ओतप्रोत भएका राजा थिए भन्ने प्रष्ट हुन्छ ।

पृथ्वीनारायणको दिव्योपदेश निकै मर्मस्पर्शी मात्र नभइ अत्यन्त महत्वपूर्ण र आजको परिवेशमा पनि उत्तिकै सारगर्वित छ । नेपालका शासक र सत्तासीनहरूबाटै भ्रष्टाचारले संस्थागत रूप लिन थालेको यो अवस्थामा वर्तमान तथाकथित ‘सङ्घीय लोकतान्त्रिक नेपाल’को सन्दर्भमा अत्यन्त स्मरणीय हुन आउँछ । किनकि, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्योपदेशहरू नेपालका शासकहरूले आत्मसात् गरेमा मुलुकको राष्ट्रियता, स्वाधीनता संरक्षण र विदेशी हस्तक्षेपलाई निषेध गर्न टेवा पुग्नेमा कुनै तर्कवितर्क गरिरहनै पर्दैन । हालका शासक वर्गले पनि यो कुरा राम्रैसँग बुझेका छन्, तर नबुझेको अभिनय गर्नु या कुतर्क गरेर पृथ्वीनारायणको महान् कर्मलाई अवमूल्यन गर्न खोज्नु बेग्लै पाटो हो, र यही पक्ष नै नेपाल र नेपालीका लागि ठूलो विडम्वना पनि हो ।

जसले जतिसुकै कुतर्क गरे पनि पृथ्वीनारायण शाहको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ पनि हो । आजका नेपाली वर्तमान आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । यसर्थ उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र नभइ शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणको निम्ति बलियो पूर्वाधार पनि हो । शासकहरूले नजरअन्दाज गरे पनि सच्चा नेपालीले यो मनन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोनासंक्रमण भएपछि त्रास

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार

पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि