नेदरल्याण्डमा नयाँ सरकार गठन, अर्थमन्त्रीद्वारा भिडियोमार्फत शपथ ग्रहण

नेदरल्याण्डमा नयाँ सरकार गठन, अर्थमन्त्रीद्वारा भिडियोमार्फत शपथ ग्रहण



नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ ।

नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गरेका छन् । उनले योसमेत चौथो पटक सरकारको नेतृत्व गरेका हुन् ।

गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको सिन्ह्वाले जनाएको छ ।

नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटिक अपिल, द डेमोक्रेट्स ६६ र क्रिश्चियन युनियन गरी चार पार्टी गठबन्धनमा रहेका छन् ।

शपथ ग्रहण समारोह द हेगस्थित राजदरबारमा आयोजना गरिएको थियो । तर नयाँ अर्थमन्त्री सिग्रिड काग भने शपथ ग्रहण समारोहमा सहभागी भएका थिएनन् । गठबन्धनमा आवद्ध द डेमोक्रेट्स ६६ का नेतृसमेत रहेकी काग कोरोनाभाइरसबाट सङ्क्रमित भएकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नपाएकी बताइएको छ । उनलाई राजाले भिडियोमार्फत शपथग्रहण गराएका थिए ।

राजाले मन्त्रीलाई भिडियो मार्फत शपथ ग्रहण गराइएको नेदरल्याण्डको इतिहासमा यो नै पहिलो घटना भएको जनाइएको छ ।