एमाले जिल्ला अधिवेशन : डडेल्धुरामा ओझा र साउद चुनावी मैदानमा

एमाले जिल्ला अधिवेशन : डडेल्धुरामा ओझा र साउद चुनावी मैदानमा


  • डम्बर निदाल, डडेल्धुरा

नेकपा (एमाले)को आठौँ जिल्ला अधिवेशनअन्तर्गत डडेल्धुरामा अध्यक्ष पदका लागि आज (आइतबार) निर्वाचन हुने भएको छ । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, शनिबार दिनभर सहमतिको प्रयास भए पनि सहमति जुटन नसकेपछि अध्यक्षलगायत पदाधिकारीका आकांक्षीबीच चुनाव हुने भएको हो ।

अध्यक्ष पदका लागि एमालेका वर्तमान अध्यक्ष एवम् डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश साउद र अमरगढी नगरप्रमुख एवं पूर्व स्ववियु सभापति विशेश्वरप्रशाद ओझाबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार उद्घघाटन भएको अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । उद्घघाटन शत्र सकिनेबित्तिकै बन्दशत्र शुरु गर्ने तयारी गरे पनि शनिबार मात्रै बन्दशत्र चलेको थियो । अध्यक्षलगायत पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति नजुट्दा निर्वाचन हुने भएको सचिवका उम्मेदवार करन ताम्राकारले बताए ।

त्यसैगरी उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ । जिल्ला सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने बताइएको छ ।

वर्तमान अध्यक्ष साउद एमाले डडेल्धुरा संस्थापन नेतासँगै जिल्ला कमिटी सचिवालय सदस्य रहेका थिए । सातौँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका साउद डा. तारा जोशीसँग पराजित भएपछि नयाँ शक्ति केन्द्र पार्टीमा गएका थिए । नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका नेता एमाले फुटेपछि पुनः एमाले जिल्ला अध्यक्ष भए । डा. जोशीलगायतको समुह अहिले नेकपा समाजवादी पार्टीमा गएका छन् । एमाले फुटेपछि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाली वडा, गाउँ, नगरपालिका कमिटि गठन गरेका साउद अध्यक्ष पदका बलियो दाबेदार ठहरिएका छन् । साउदले डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्ष भएर दुई कार्यकाल सञ्चालन गरेका थिए ।

मेयर ओझा डडेल्धुरा क्याम्पसका पूर्वस्ववियु सभापति तथा एमाले नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । विद्यार्थी राजनीतिबाट स्वतन्त्र बिद्यार्थी युनियनको सभापति हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए । उनि नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै अमरगढी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

डडेल्धुरामा नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन सुरु भएको हो । शुक्रबार जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले गरेका हुन् । उद्घाटन शत्रमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।