के राज्यको धर्म हुँदैन ?

के राज्यको धर्म हुँदैन ?


हिले हामीकहाँ राज्यको धर्म हुँदैन भनेर जति पनि भनाइहरू आएका छन् ती हिन्दु धर्मको सवालमा आएका छन् । हिन्दु धर्म राज्य हुनुहुँदैन भन्ने अर्थमा प्रयोग गरिएका छन् ।

  • बबिता बस्नेत

यो संसारमा इश्वरको अस्तित्व छ कि छैन ? अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । इश्वर भन्ने ततव पत्ता लगाउने या छाम्दा भेटिने भन्दा पनि अनुभूति गर्ने कुरा हो । त्यसो त यतिका मन्दिर, मस्जिद, चर्चहरू भौतिक रूपमा खडा भएका छन्, तथापि इश्वर भन्ने कुरा भौतिक नभएर आध्यात्मिक हो । इश्वरसँगको मानवीय सम्बन्ध शारीरिक नभएर आत्मिक हो । इश्वर आत्मासँग सम्बन्धित भएकाले मानिसहरू इश्वरलाई पुकार्दा आत्माबाटै शान्तिको अनुभूति गर्छन् । जतिबेला यो संसारमा कानून भन्ने थिएन, इश्वरकै नाममा मानिसहरू बाँधिए । इश्वरको अस्तित्व धर्मसँग जोडिएको छ र धर्मको सम्बन्ध न्यायसँग छ । धार्मिक हुनु भनेको न्यायिक हुनु हो । मनमा धर्म राखेर बोल भन्नुको अर्थ न्याय राखेर अभिव्यक्ति देउ भनेको हो । धर्मका नाममा अपराध गर्नेहरूको सङ्ख्या पनि यहाँ धेरै छ । उनीहरू आत्मासँग होइन भौतिक रूप देखाएर धर्मको आडमा ब्यापार गर्छन् । आत्मा, सत्य र इमान्दारीसँग उनीहरूको कुनै सम्बन्ध हुँदैन ।

केही दिनअघि नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘राज्यको धर्म हुँदैन’ भनी बोलेको कुरालाई लिएर धेरैले चित्त दुखाए । कम्तिमा विश्वप्रकाश जस्ता व्यक्तित्वले यस्तो कुरा नबोलेको भए हुन्थ्यो भन्ने उहाँका शुभचिन्तकहरूको चाहना रहेको पाइयो । सामान्यतया नेताहरूले कतिपय संवेदनशील कुरामा आफ्नो अभिब्यक्ति नदिए पनि फरक पर्दैन । त्यस्तो विषयमा मात्रै अभब्यक्ति अनिवार्य हुन्छ जो न्यायसँग सम्बन्धित छ । आफू मौन बसिदिँदा कसैमाथि अन्याय हुन्छ भने त्यस्तो कुरामा बोल्नैपर्ने हुन्छ । कतिपय कुरालाई नियतवश स्थापित गर्नु छैन भने ‘ओभर लुक’ गरिदिए पनि हुन्छ । राज्यको धर्म हुन्छ या हुँदैन भन्ने बारेमा बोल्नुअघि हामीकहाँ धर्मको बारेमा बृहत छलफल गर्नु आवश्यक हुन्छ । कुनै बहस र छलफल नै नभइ हाम्रो देश नेपाललाई हिन्दु धर्म राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो ।

मनुस्मृतीमा धर्मको बारेमा ‘धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम् !’ भनिएको छ । यसको अर्थ हुन्छ, धर्मका दस लक्षण छन् : धैर्य, क्षमा, संयम, चोरी नगर्नु, स्वच्छता, इन्द्रियहरूलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र क्रोध नगर्नु । ‘निरपेक्ष’को अर्थ मतलब नगर्नु या चासो नराख्नु या अलग हुनु भन्ने हुन्छ । यस अर्थमा ‘धर्म’ भन्ने कुरा निरपेक्ष हुन सक्दैन । कतिले मनुस्मृतीमा महिला र दलितलाई अपमान गरिएको भनी विरोध गर्ने गरेका छन् तर मुख्य (ओरिजिनल) मनुस्मृतीमा ती कुराहरू छैनन्, पछि हिन्दु धर्मलाई बद्नाम गर्नका लागि थपिएका हुन् भनी मनुस्मृतीका ज्ञाताहरूले बताउने गरेका छन् । भारतमा सन् १९७६ मा भएको संविधान संशोधनका क्रममा अङ्ग्रेजीमा ‘सेकुलर’ शब्द राख्ने भएपछि हिन्दीमा के राख्ने भनेर विद्वान्हरूले धेरै दिमाग खियाएर ‘पंथ’ शब्दको प्रयोग गरेको विभिन्न दस्ताबेजमा उल्लेख छ । अङ्ग्रेजी शब्द ‘रिलिजन’को अर्थ धर्म होइन पंथ हो भनेर त्यतिबेला बहस गरिएको थियो । ‘हिन्दु धर्म नभइ जीवन पद्धति हो र पंथ पूजा पद्धति हो’ भनी भारत कानपुरका प्राध्यापक डा. ए.के. बर्माले यी दुईबीचको भिन्नतालाई स्पष्ट गरेका छन् । डा. बर्माका अनुसार हामी जेलाई धर्म भनिरहेका छौँ त्यो ‘रिलिजन’ हो जसको अर्थ धर्म नभएर पंथ हुन्छ । पंथ या रिलिजनमा चारवटा प्रमुख विशेषता हुन्छन्, एउटा निश्चित इश्वर हुन्छ, निश्चित धर्मग्रन्थ हुन्छ, पूजा पद्धति हुन्छ र अन्तिम गन्तब्य हुन्छ । अहिले हामीकहाँ राज्यको धर्म हुँदैन भनेर जति पनि भनाइहरू आएका छन् ती हिन्दु धर्मको सवालमा आएका छन् । हिन्दु धर्म राज्य हुनुहुँदैन भन्ने अर्थमा प्रयोग गरिएका छन् । तर हिन्दु अरु धर्मजस्तो होइन, यो जीवनशैली हो । हिन्दु धर्ममा निश्चित ईश्वर छैन, हिन्दु धर्मवालम्बीहरूले नपढी नहुने निश्चित धर्मग्रन्थ छैन, न त निश्चित पूजा पद्धति र गन्तब्य नै छ ।

हामीकहाँ प्रजातन्त्रपछिको लोकतन्त्र र लोकतन्त्रपछिको गणतन्त्रमा धर्म-संस्कृतिलाई जति अपमान गऱ्यो त्यति ठुलो मान्छे भइन्छ भन्ने झैँ देखिएको छ, जुन गलत हो । धर्म-संस्कृतिलाई अपमान गर्ने मानिसले सीमित ब्यक्तिहरूबाट केही समयका लागि वाहवाही पाए पनि त्यो दिगो रहँदैन । धर्म र स्वधर्मका बारेमा महाभारतमा कृष्णले अर्जुनलाई लामो समय खर्च गरेर सम्झाएका छन् । धर्मसँग जोडेर हेर्दा विश्वभरी चार प्रकारका राज्य छन्, धार्मिक राज्य, धर्मप्रभावित राज्य, धर्मनिरपेक्ष राज्य र धर्मविरोधी राज्य । धार्मिक राज्यमा धर्मग्रन्थ नै संविधानसरह हुन्छ, जस्तो भेटिकनसिटी जहाँ पोप प्रमुख हुन्छन् । दस्तावेजमा धर्मनिरपेक्ष तर धर्मप्रभावित राज्य धेरै छन् जसमा बेलायत, अमेरिका, स्क्याण्डेनेभियन मुलुकहरू पर्छन् । बेलायतकी महारानी या राजा चर्च अफ इङ्ग्ल्याण्डको प्रम्ख हुन्छन् । धेरै कामहरू प्रार्थनाबाट सुरु गरिन्छ । यस्ता देशहरू धेरै छन् । अमेरिकाको पैसामै ‘वी ट्रष्ट इन गड’ लेखिएको छ । ईश्वरको नाममा सपथग्रहण गरिन्छ । धर्मनिरपेक्ष राज्यले सबै धर्मलाई समान रूपले हेर्छ, धार्मिक भेदभाव राख्दैन । धर्मविरोधी राज्यले धर्म मान्दैन । पूर्व सोभियत संघ, माक्र्सवादी (पोलपोट) शासनकालको कम्बोडिया, चीन, उत्तर कोरिया धर्मविरोधी राज्य हुन् जहाँ धर्मको कुनै स्थान हुँदैन । तर राज्यको धर्म हुँदैन भन्नुचाहिँ सही होइन, राज्यले नागरिकलाई न्याय दिनुपर्छ, राज्य न्यायिक हुनुपर्छ र न्यायको सम्बन्ध धर्मसँग छ ।

कुनै पनि विषयमा सर्वश्रेष्ठ अनुभूति भयो भने त्यसलाई इश्वरीय अनुभूति भनिन्छ । नेपालीमा भगवान् र इश्वर तथा अङ्ग्रेजीमा ‘गड’ शब्द विश्वभरीका मानवजातिले पुकार्छन् । नाम फरक होलान् तर भगवानसंँग टाढा बस्ने या बस्न चाहने मानिसहरू कमै होलान् ।

विश्वशक्ति राष्ट्र अमेरिकाको पैसामै लेखिएको छ, ‘वी ट्रष्ट इन गड’ ! यसको अर्थ हुन्छ, ‘हामी भगवानमा विश्वास गर्छौं ।’ राष्ट्रप्रमुख र सरकारप्रमुखहरूको शपथमा ‘इश्वर’ शब्द उल्लेख हुने नेपाल मात्र नभइ विश्वका अधिकांश मुलुकहरूमा शपथ लिँदा इश्वर शब्द उच्चारण गरिन्छ । राजसंस्था भएका मुलुकहरूमा प्रायः ‘राजा या राजसंस्था, संविधान र इश्वरप्रति’ भनिएको हुन्छ । विभिन्न विकसित या अविकसित मुलुक जे-जस्ता भए पनि शपथको अन्त्यमा धेरैले ‘हेल्प मि गड’ अर्थात् ‘ भगवान् ! मलाई सहयोग गर्नुुस्’ भनी उल्लेख गरिएको हुन्छ । छिमेकी मुलुक भारतमा पनि ईश्वरका नाममै शपथ खाइन्छ । इश्लामिक मुलुकहरूले कुरानलाई राक्षी राखेर या ‘आई स्वेर बाइ अल्लाह’ भन्ने उल्लेख गरेका हुन्छन् । जसले जे नाम दिए पनि पुकारिएको त आखिर ईश्वरलाई नै हो ।

हाम्रो देश नेपाल अहिले हिन्दू धर्म राष्ट्र नभएपनि हिन्दू धर्मप्रभावित राष्ट्र हो । राज्य स्तरमा गोरखाबाट फूलपाती ल्याएर हाम्रो दशैँ सुरु हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । हाम्रा राष्ट्रप्रमुखले दशैँमा सर्वसाधारणलाई टीका-जमरा लगाइ शुभकामना दिन्छन् । राष्ट्रप्रमुखले तलेजु भवानीमा गएर पूजा गरेपछि दशैँको कोजाग्रत सम्पन्न हुन्छ । भोटो देखाउने, कुमारीको दर्शनलगायत यस्ता धेरै कुरा राज्यस्तरबाट हुँदै आएका छन् । जुन अभ्यास अन्य मुलुकमा पनि आफ्नै तौरतरिकाले हुने गर्छ । बेलायतका राजा या महारानीको राज्याभिषेक चर्चले गर्छ । त्यहाँको संसद् प्रार्थनाबाट सुरु हुन्छ । राज्यको धर्म हुँदैन भन्ने ‘स्टेटमेन्ट’ दिनुअघि राज्यको धर्मका बारेमा बहस गरौँ ।