काङ्ग्रेसले माओवादीसँग पार्टीएकता गर्दा आकाश खस्ला र ?!

काङ्ग्रेसले माओवादीसँग पार्टीएकता गर्दा आकाश खस्ला र ?!


प्रचण्डको पार्टीले आयोजना गरेको सम्मेलनमा काङ्ग्रेस सभापतिले दिएको वक्तव्यमाथि घोत्लिने हो भने नेपालमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस भन्ने दुई अलग पार्टी अस्तित्वमा नरहेको अनुभूति हुन्छ । प्रचण्डको देवत्वकरण गर्दैगर्दा शेरबहादुरले आफ्ना निर्दोष कार्यकर्ताको हत्या गरिएको स्मरण गरेनन्, न त प्रचण्डको टाउको काटेर ल्याउनेलाई दिने भनी आफैले घोषणा गरेको ५० लाख इनामको नै सम्झना गरे !
  • सागर सुवेदी

कुनै समय थियो- तत्कालिन प्रजातान्त्रिक काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले तत्कालिन अवस्थामा (देउवाकै शब्दमा) आतङ्क मच्चाइरहेको समूहका (यहाँ आतङ्क मच्याइरहेको समूह भन्दा वर्गीय परिवर्तनको लागि बन्दुक समाएकाहरूको अपमान नहोस् भन्नेमा पङ्क्तिकार सचेत छ) नेता प्रचण्डलाई ज्युँदै या मारिएको खण्डमा टाउको लिएर आएमा ५० लाख इनाम दिने औपचारिक घोषणा नै गरे । यसबाट तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी सुप्रिमो प्रचण्डको नेतृत्वमा सञ्चालन गरिएको आतङ्कप्रति कति क्रोधित थिए भन्ने सहजै अनुमान लगाउन सकिन्छ । त्यसबेला जसरी हुन्छ प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेमा देउवा प्रस्ट थिए भन्नेमा द्विविधा राख्नु पर्दैन ।

कथित जनयुद्ध काल (जनयुद्ध भनाउने प्रयास गरिए पनि त्यो मूलतः धन आर्जनको लागि गरिएको ‘धनयुद्ध’ रहेको पुष्टि भइसकेको छ) मा पनि तत्कालिन आतङ्ककारीहरूको निशानामा एमालेका नेता-कार्यकर्ता भन्दा नेपाली काङ्ग्रेसका नेता-कार्यकर्ता नै अधिक परेका थिए । काङ्ग्रेसका सयौँ नेता तथा कार्यकर्ता एवम् केवल काङ्ग्रेसमा आस्था राखेकै कारण पनि कैयनको हत्या भएको थियो, जसको आजसम्म न्यायिक निरुपण हुन सकिरहेको छैन । उनीहरूको परिवारका सदस्यको हत्या तथा अपरहण गरिएको विषयमा न्यायिक निरुपण अझै भएको छैन ।

समय क्रममा परिस्थितिले कोल्टे फे¥यो । तत्कालिन महाराजाधिराजले तत्कालिन काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई चिढ्याउँदै प्रजातान्त्रिक काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको झोकमा तिल्मिलाएका गिरिजाप्रसाद तत्कालिन महाराजाधिराजसँग अत्यन्त क्रोधित थिए । सोही क्रोधका कारण र, अर्कोतर्फ बिन्तीपत्र हाल्दा पनि दरबारले प्रधानमन्त्री नियुक्त नगरेको क्रोध नेकपा एमालेका तत्कालिन महासचिव माधवकुमारमा पनि देखिन्थ्यो । यस्तै-यस्तै विविध स्वार्थको गठजोड हुँदा तत्कालिन राजनीतिक पार्टीहरू आतङ्ककारी संगठन भनिएको तत्कालिन माओवादी समूहसँग मिलेर आन्दोलन गर्ने निर्णय गरे । देखावटी रूपमा आन्दोलन भनिए पनि आन्दोलनमा उत्रिएका शक्तिभन्दा ज्यादा बलशायी तत्कालिन भारतीय सत्तापक्ष र उस्तै दृष्टिकोण राख्ने अरु विदेशी शक्ति हाबी भएको कारण नेपालबाट राजसंस्थालाई पाखा लगाइयो । राजसंस्था पाखा लगाइँदा नैतिकता, विधि र पद्धतिलाई अनुशरण गर्ने हेक्का कसैलाई भएन । राजसंस्थाको अवैधानिक विस्थापनका विषयमा पङ्क्तिकारले धेरै पटक कलम चलाइसकेको छ ।

समय बित्दै गयो । प्रचण्डपुत्रीलाई चितवनको भरतपुर महानगरप्रमुख बनाउँदै माओवादीको नेतृत्व तहमा स्थापना गर्ने उद्देश्यअनुरुप चितवनको भरतपुर महानगरप्रमुखका लागि उम्मेदवार खडा गरियो । स्थानीय निकायको निर्वाचनका दौरान ‘पीडक’लाई काङ्ग्रेस सभापति शेरबहादुर देउवाको ह्विप सरहको आदेशमा ‘पीडित’हरूद्वारा जबर्जस्ती मत दिलाएर जिताउने काम गरियो । यहाँ बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता दिग्गज नेताहरूबाट मार्गदर्शन पाएका काङ्ग्रेस कार्यकर्ताले हँसिया-हथौडामा मत दिएर प्रचण्डपुत्रीलाई जिताए । विधि–पद्धति तथा नैतिकता कसैलाई ख्याल भएन ।

समयक्रममा प्रचण्ड र शेरबहादुर मिलेर आपसी सहमतिमा सरकार चलाए, जसमा प्रचण्डले पनि आफ्नो बाचाअनुरुप शेरबहादुरलाई प्रधानमन्त्री बनाएर आफू बाहिरिए । पार्टी र सिद्धान्त आकाश-जमिन जस्तै फरक भए पनि कामगराइको तौरतरिका प्रचण्ड र शेरबहादुरको उस्तै थियो/छ ।

आज समयले फेरि प्रचण्ड र शेरबहादुरलाई एक ठाउँमा ल्याइदियो, नेकपा एमालेको अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सकिँदैन भन्ने लाग्दासम्म चुपचाप बसेका शेरबहादुर केपी सरकार ढलाउन पक्का सकिन्छ भन्ने विश्वास आर्जन भएपछि प्रचण्डकै सहयोगमा रातारात हस्ताक्षर लिएर शितल निवास पुगे र, त्यसैको कारण आज परमादेशबाट नेपालमा फेरि शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्चीमा विराजमान हुन पाएका छन् । आफ्ना सिद्धान्त किताबका पानामा सीमित राखेका प्रचण्डले केपी सरकार विस्थापन गर्नमा शेरबहादुरलाई मद्धत गरे । आजकल प्रचण्डले पनि यस्तै ‘गुन’ लगाइदिए बापत विभिन्न सार्वजनिक कार्यक्रमहरूबाट ‘हिजोसम्म प्रजातन्त्र स्कुलिङ मानेर आएको तर आज पूर्णतया बामपन्थी बाटो अँगालेको’ काङ्ग्रेसलाई छोडेर जान पाउनुहुन्न भन्दै आइरहेका थिए/छन् ।

‘किताबमा सीमित’ माओवादी केन्द्र भन्ने पार्टीका नेता प्रचण्डको पार्टीले आयोजना गरेको सम्मेलनमा काङ्ग्रेस सभापतिले दिएको वक्तव्यलाई राम्रोसँग सुन्ने हो भने नेपालमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस भन्ने दुई अलग पार्टी अस्तित्वमा नरहेको प्रस्ट अनुभूति हुन्छ । यहाँ न शेरबहादुरले आफ्ना निर्दोष कार्यकर्ताको हत्या गरिएको स्मरण गरे न त प्रचण्डको टाउको काटेर ल्याउनेलाई आफैले दिने भनिएको ५० लाखको सम्झना गरे । उनले प्रचण्ड नै वर्तमान सम्पूर्ण उपलब्धिको प्रमुख कारकपात्रको रूपमा ब्याख्या गरे, माओवादी कार्यकर्ताभन्दा एक कदम अघि बढेर प्रचण्डको देवत्वकरण गरे । प्रचण्डको देवत्वकरण देउवाले गरेको सुन्दा यस्तो लाग्छ कि नेपाली काङ्ग्रेस पार्टी आजसम्म कायम रहनुमा पनि प्रचण्डकै देन थियो ।

प्रधानमन्त्रीसमेत रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बोलेको विषयलाई पङ्क्तिकारले अचम्मको अभिव्यक्तिका रूपमा नलिए पनि अधिक जनता अचम्भित हुनेगरी उनले माओवादी केन्द्रको अधिवेशन उद्घाटन समारोहमा आफ्नो सम्पूर्णप्रायः ब्यक्तब्य प्रचण्डकै गुनगानमा खर्च गरेर स्टेजबाट तल झरे । देउवाको सम्बोधनपश्चात आम नागरिक तहबाट सुझाव दिइयो कि अब नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा बीपीको तस्बिर झिकेर प्रचण्डको तस्बिर स्थापना गरियोस् !

हुन पनि आफ्नो सिद्धान्तलाई पूर्ण रूपमा माओवादीकरण गरेको नेपाली काङ्ग्रेस नामको पार्टी छुट्टै नामबाट नेपालमा रहिरहनुपर्छ भन्ने कम्तिमा पङ्क्तिकार जस्ता बीपी, किसुनजी, गणेशमानहरूलाई नेता मान्ने काङ्ग्रेसीहरूलाई लागिरहेको छैन । त्यसमाथि गगन थापा जस्ता बाह्य शक्तिका ‘एजेन्ट’हरू महामन्त्री निर्वाचित भएको पार्टीको नाम अब परिवर्तन गर्ने या माओवादीसँग पार्टीएकता गर्नुमा नै नाम मात्रमा जीवित ‘नेपाली काङ्ग्रेस’ पार्टीको लागि हितकारी हुने ठहर गर्न सकिन्छ ।

पङ्क्तिकारलाई लागेको विषय भनेको, यसरी एकअर्काको देवत्वकरण गर्दै सँगै मिलेर सरकार चलाउनुपर्छ, शेरबहादुरले ह्विप लगाउँदै उनीहरूकै चुनाव चिन्हमा मत दिएर प्रचण्डपुत्रीलाई निर्वाचित गराउनुपर्छ । प्रचण्ड आफै एकल लडेर जित्ने सुनिश्चिता पनि नभएको देखिरहँदा छोडेर जान पाउनुहुन्न, एक्लै हिँड्न पाइँदैन भन्दै गरिएको अलाप-विलापलाई महसूस गर्दा, सधैंको लागि छोडेर नजाने गरी नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)लाई एकीकरण गरेर ‘नेकपा काङ्ग्रेस केन्द्र’ भन्ने नयाँ पार्टी निर्माण गरी अघि बढ्दा काङ्ग्रेस कार्यकर्तालाई पनि अर्को पार्टीको चुनाव चिन्हमा मत दिएर अर्कै पार्टीको नेतालाई निर्वाचित गराइरहन नपर्ने, साथै पार्टी एकीकरणपश्चात स्थिर शक्तिको रूपमा अलिक लामो समय नेपालमा शासन गरिरहन पाइने !

कसैले यो सुझावलाई सरकारको बागडोरसमेत समातिरहेका देउवासमक्ष पुऱ्याइए उहाँको निम्ति निःशुल्क तर महत्वपूर्ण सुझाव सावित हुने पङ्क्तिकारको ठहर छ । अन्त्यमा, तथाकथित ‘काङ्ग्रेस’का सभापति शेरबहादुर देउवा र माओवादी सुप्रिमो प्रचण्डलाई पार्टी एकीकरणको लागि अग्रिम शुभकामना !

  • भियना (अष्ट्रिया)