नेपाली काङ्ग्रेसको सभापतिमा देउवाको दोस्रो इनिङ

नेपाली काङ्ग्रेसको सभापतिमा देउवाको दोस्रो इनिङ


‘पार्टीमा सामन्तवाद हाबी भयो’ भनि सार्वजनिक रूपमै देउवाको आलोचना गर्ने कृष्णप्रसाद सिटौलाको दम्भ, ‘गिरोहले पार्टी सञ्चालन गरेको छ’ भनि चर्को विरोध गर्ने प्रकाशमान सिंह र नेतृत्व परिवर्तन अपरिहार्य भएको मुद्दा उठाएर नथाक्ने विमलेन्द्र निधिका लिगेसीको अहंकार, अनि वरिष्ठताको माला जपेर बसेका रामचन्द्र पौडेलको कुण्ठा सबै यसपटक छताछुल्ल भएको छ ।
  • ई. महेन्द्र पराजुली

लोकतन्त्रको परिभाषा र अर्थभित्र गहनाको रूपमा रहेको मात्र नभइ सुन्दर पक्ष मानिने सूचकाङ्क हो स्वच्छ निर्वाचन । निर्वाचनको माध्यमबाट काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मत जाहेर गर्दै नेतृत्व चयन गरे । लोकतान्त्रिक अभ्यास गर्दै नेपाली काङ्ग्रेसले पुनः एक पटक आफूलाई लोकतान्त्रिक पार्टीको रूपमा प्रमाणित गऱ्यो । १४औँ महाधिवेशनमा पुस्तान्तरण र रूपान्तरणको मुद्दाले प्रवेश पाए पनि वंशज र विरासत अनि हाइआर्कीको मनोविज्ञान भने जीवितै थियो काङ्ग्रेसमा । यो मनोविज्ञान काङ्ग्रेसमा अझै पनि रहँदैन भन्ने दरिलो आधार तयार भइनसके पनि यो मुद्दा महाधिवेशनबाट अनुमोदित भएको छ । अपवादको रूपमा मूल नेतृत्वमा कन्जरभेटिभ सोच-विचार बोकेका शेरबहादुर देउवा नै सभापतिमा पुनः दोहरिँदा पुस्तान्तरणको मुद्दा केही समयका लागि ओझेलमा परे पनि रूपान्तरणको जग भने बसेको छ ।

विश्वका केही देश त्यसमा पनि विशेष गरेर दक्षिण एसियाली मुलुकहरूमा जकडिएको वंशज र हाइआर्किको सोचलाई चूनौती दिँदै त्यसलाई खारेज गरिदिए सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले । लिगेसी र हाइआर्कि राजनीतिमा एउटा फ्याक्टर भए पनि यो मानक मात्र पर्याप्त हुन सक्दैन भन्ने पनि प्रमाणित भयो महाधिवेशनमा । लिगेसीको भऱ्याङ टेकेर राजनीति गर्छु भनि उदाएका कुलीन नवराजकुमारका लागि यो सन्देश पनि हो । वंशज र विरासत अनि हाइआर्किलाई मानक बनाएर नेतृत्व हत्याउने काङ्ग्रेसी मानसिकतालाई राम्रै झापड दिए महाधिवेशन प्रतिनिधिले । पार्टीभित्र मात्र होइन, पब्लिकबाट समेत अनुमोदित नेता नै नेतृत्वमा पुग्न सफल हुन्छन् भन्ने मान्यता पनि स्थापित भयो । त्यसको उदाहरण हुन् उपसभापति धनराज गुरुङ अनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ।

कुनै पनि मूल्य चुकाएर भए पनि आफू सभापतिमा निर्वाचित हुने पृष्ठभूमिमा शेरबहादुर देउवालाई प्राप्त सत्ता र शक्तिको राप-तापले अहम् भूमिका खेल्यो । पार्टी र सरकारको नेतृत्वमा रहेका उनले सत्ता र शक्ति दुबैको चरम दुरुपयोग गर्दै त्यसैको बलमा नेतृत्व हत्याए । यदि देउवा प्रधानमन्त्रीको कुर्सीमा हुँदैन थिए भने उनको पराजय निश्चित हुने विश्लेषण गरिएको थियो । सभापतिमा दोहोरिने आफ्नो एकमात्र मिसनमा सफलता प्राप्त गर्न देउवाले कृष्णप्रसाद सिटौलासँग याचनाको भिख माग्दै सिटौलाका मागप्रति उदार बन्दै सम्झौता गरे । यही अवसरको खोजीमा थिए सिटौला । आफ्नो समूह परित्याग गरी डा. शेखर कोइराला समूहमा जोडिन पुगेका गगनकुमार थापा र झापामा आफ्नो प्रतिद्वन्द्वीका रूपमा रहेका विश्वप्रकाश शर्मासँग बदला लिन कृष्णप्रसाद सिटौलाले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा बन्दूक राखेर दागेको गोली ब्याक-फायर भएर झण्डै आफै घायल भए । सिटौलाले गगन र विश्वलाई प्रदीप पौडेलरूपी एउटा तीर चलाएर एकैचोटि दुई वटा सिकार गर्न गरेको निशाना पनि चुक्यो ।

कार्यवाहक सभापति भैसकेका रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाले अनुदार बन्दै डा. शेखर कोइरालालाई जुनियरको खोट लगाएर डा. शेखरको नेतृत्व अस्वीकार गरेपछि अङ्कगणितले प्राविधिक रूपमा शेरबहादुर देउवा सभापतिमा निर्वाचन हुँदै गर्दा राजनीति भने डा. शेखर कोइरालाले जिते । १३औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर १ सय ३ सदस्यीय कार्यसमितिमा मर्यादाक्रममा ३६औँ वरियतामा रहेका डा. शेखर १४औँ महाधिवेशनमा छलाङ्ग मार्दै एकैचोटि पार्टीको दोस्रो वरियतामा आइपुगेका छन् । आफूलाई नेपाली काङ्ग्रेसको सिनियर हुँ भन्ने दलिल गर्ने उपल्लो तहका नेताले के बुझ्न र स्मरण गर्न जरुरी छ भने दक्षिण अफ्रिकाको देश चिलीमा भर्खरै सम्पन्न निर्वाचनमा ३५ वर्षीय गाब्रियल राष्ट्रपतिमा निर्वाचत भएको । त्यहाँ सिनियर र जुनियरको मुद्दा उठेन । कनिष्ठको उपाधि बाधक बनेन । संस्थापन इत्तरपक्षबाट रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार भएका भए पनि पुस्तान्तरण हुन्थ्यो न रूपान्तरण नै । २०४६ सालदेखि नै पार्टी र सरकारमा देखिने उनै पुराना र बासी अनुहार नै हावी हुने थिए नेताका व्यवस्थापनका नाममा ।

देउवालाई पराजित गर्न दोस्रो चरणमा एकै ठाउँमा उभिने सार्वजनिक प्रतिक्रिया दिएका मात्र नभएर प्रतिबद्धता नै जनाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई त्यस्तो के बाध्यता र विवशता आइलाग्यो देउवाका अगाडि मैनको शिखाझैँ पग्लिन अनि रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई मौन व्रत बस्न । यसको जवाफ माग्ने छ नेपाली काङ्ग्रेसको इतिहासले आज नभए भोलि, भोलि नभए समयको अन्तरालमा । सिंह र निधिले दुई हात जोडेर देउवाको पक्षमा मतदान गर्न महाधिवेशन प्रतिनिधिसँग गिड्गिडाएको दृश्य रोचक माने प्रतिनिधिले । भनिन्छ, ‘युद्ध र प्रेममा जे पनि जायज हुन्छ’ यो मान्यताका उपासक बन्दै देउवासहित पौडेल, सिटौला, सिंह, निधि र डा. शशांकले राजनीतिमा पनि यो सम्भव हुन्छ भन्ने मानक थप गरे ।

‘पार्टीमा सामन्तवाद हाबी भयो’ भनि सार्वजनिक रूपमै देउवाको आलोचना गर्ने कृष्णप्रसाद सिटौलाको दम्भ, ‘गिरोहले पार्टी सञ्चालन गरेको छ’ भनि चर्को विरोध गर्ने प्रकाशमान सिंह र नेतृत्व परिवर्तन अपरिहार्य भएको मुद्दा उठाएर नथाक्ने विमलेन्द्र निधिका लिगेसीको अहंकार, त्यस्तै गरेर वरिष्ठताको माला जपेर बसेका रामचन्द्र पौडेलको कुण्ठा अनि जसरी राणाहरूमा ‘ए’, ‘बी’ र ‘सी’ क्लासको वर्गीकरण थियो त्यसरी नै डा. शशांक र सुजाताले आफूलाई ‘ए’ र ‘बी’ को अनि डा. शेखरलाई ‘सी’ क्लासको कोइरालामा वर्गीकरण गर्दा डा. शेखर कोइरालालाई पराजित गर्न देउवालाई जति सजिलो भयो यो प्रकरणसँगै नेपाली काङ्ग्रेसको इतिहासको कसीमा यी शीर्ष नेताले उभिनुपर्ने पनि भएको छ । भनिन्छ, ‘नदीको प्रवाह विपरीत पौडिने कोसिस गरियो भने किनारा लागिन्छ’, अहिले नै प्रक्षेपण गर्न हतारो हुन्छ होला तर ठ्याक्कै त्यस्तै अवस्था हुन सक्छ आगामी राजनीतिक यात्रा रामचन्द्र, कृष्णप्रसाद, प्रकाशमान, विमलेन्द्र र डा. शशांकको पनि ।

प्रकाशमान सिंह र विमलेन्द्र निधिले डा. शेखर कोइरालालाई समर्थन नगरी शेरबहादुर देउवालाई समर्थन गर्नुको पछाडिको कडी विगतदेखि नै उनीहरूबीचको ‘एण्टी कोइराला’ गठजोड र सिंह र निधि अनि मौन बसेका पौडेलका लागि पार्टीमा पुनः कोइराला विरासत फर्किएमा आपूmहरूका लागि त्यो नेतृत्वको यात्रामा चूनौतीपूर्ण मात्र होइन बाधक पनि बन्न सक्दछ भन्ने लघुताभाष रहेको बताउँछन् त्यसका जानकार । त्यसैले देउवालाई नै नेता मान्दा आफूअनुकूल र सहज हुने निर्णयमा पुगे पौडेल, सिंह र निधि । स्वार्थ मिल्दा एकै ठाउँमा उभिने अनि नमिल्दा परस्पर बिरोधी हुने विगतकै चरित्र प्रदर्शन गरे उनीहरूले महाधिवेशनमा । शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालाई ‘घुलाउने रसायन’ सिटौलाका लागि गगन थापा र विश्वप्रकाश शर्मा बने भने देउवाका लागि प्रकाश र विमलेन्द्र कसरी ‘सुपर ग्लु’ बने अनि रामचन्द्र र डा. शशाङ्कले कस्तो व्रत लिए त्योचाहिँ खोजकै विषय बनेको छ ।

पार्टीमा शेरबहादुर देउवाले स्थापित गरेको ६०–४० को भागबण्डा आफूहरूले नखोज्ने, सभापतिले अगाडि सारेका राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्ने, त्यस्तै गरेर पार्टीमा सबैले उचित र समान अवसर पाउनु पर्ने, विधि, विधान र पद्धतिअनुसार पार्टी सञ्चालनमा आफूहरूले सभापतिलाई पूर्णरूपमा सहयोगको हात बढाउने संस्थापन इत्तरपक्षले प्रतिबद्धता जनाएको पृष्ठभूमिमा अबको एक वर्ष सरकार र चार वर्ष पार्टीको नेतृत्व गर्दा विवादरहित भएर आफू रूपान्तरित भएको प्रत्याभूति दिन सके भने राजनीतिक जीवनको उत्तरार्द्धमा देउवाले इतिहास रच्ने अवसर प्राप्त गर्ने छन् । भनिन्छ, ‘अप्ठ्यारो र सङ्कटको घडीमा नै नेतृत्वको पहिचान हुन्छ’ देउवाका अगाडि अवसर मात्र नभएर चूनौती पनि छन् । सभापतिको दोस्रो इनिङ उनका लागि पहिलो जत्तिकै सरल र सहज पक्कै पनि हुने छैन । धुमिलिएको छवि उकास्दै विगतका विकृति, विसङ्गति अनि गलत कामका ‘ट्«याक रेकर्ड’ सच्याए भने १४ औं महाधिवेशन देउवाका लागि ‘टर्निङ प्वाइण्ट’ बन्न सक्दछ ।

देउवाको कार्यशैलीलाई लिएर १३औँ महाधिवेशनदेखि नै उठेका धेरै मुद्दा थाँती छन् भने प्रश्नहरू पनि अनुत्तरित नै । उनीप्रति लागेका कतिपय संगीन आरोपको खण्डन गर्न सकेका छैनन् देउवाले । शेरबहादुर यसअघि जुन अनुकूलतामा थिए, आफूसँग दुई तिहाई हुँदाहुँदै पनि पुस्तान्तरण र रूपान्तरणको मुद्दा बोकेका परिवर्तनका संवाहकहरूको सशक्त उपस्थितिले त्यो छुट हुने छैन देउवालाई । दुई तिहाईको दम्भ, आड र बलमा हठ गर्दै पुरानै लयमा फर्कने दुष्प्रयास गरे भने उनको यात्रा कठिन मात्र होइन चूनौतीपूर्ण हुने छ । प्राप्त मौकाको सहि सदुपयोग गर्न सकेनन् भने देउवालाई इतिहासले माफ गर्ने छैन । संस्थापन इत्तरपक्षको सदाशयतालाई कमजोरीका रूपमा लिए भने त्यो देउवाका लागि मात्र नभएर सिङ्गो काङ्ग्रेसका लागि दूर्भाग्य हुनेछ । हिजोकै मनोविज्ञान, ढर्रा र ढाँचा अनि शैलीबाट पार्टी सञ्चालन गर्ने कोशिस गरे भने देउवाका लागि पछुताउनुबाहेकको विकल्प बाँकी हुने छैन ।

नेपाली काङ्ग्रेसका लागि परिस्थिति सहज र अनुकूल बन्दै गएको पृष्ठभूमिमा आसन्न तीनै तहको निर्वाचन आफ्नो पोल्टामा पार्न के-कस्ता नीति तथा कार्यक्रम समावेश गरेर घोषणापत्रका माध्यमबाट आम मतदातालाई आकर्षित गर्दै आश्वस्त पार्दछ नेपाली काङ्ग्रेसले, त्यसैले निर्वाचन परिणाम निर्धारण गर्दछ । काङ्ग्रेसको लोकप्रियताको ग्राफ उकालो चढ्छ कि झन् ओह्रालो झर्छ त्यो भने नेतृत्वमा नै भर पर्छ । यसको मापन त्यही बेला गर्नु उचित होला । सभापतिमा देउवाको दोस्रो इनिङको परीक्षण स्थानिय तहको निर्वाचनबाटै सुरु हुनेछ । सङ्घीय संसद्को निर्वाचनमा पार्टीको खस्किएको शाख उकास्न सकेनन् भने देउवाको नेतृत्वमाथि पुनः प्रश्न उठ्ने छ । राजिनामाका लागि दबाव सिर्जना हुने छ । त्यस्तो अवस्थामा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप देउवा राजीनामा दिन बाध्य हुने परिस्थिति हुन सक्छ । तर यदि देउवाले पार्टीलाई बहुमत दिलाए भने फेरि पनि उनी नै प्रधानमन्त्रीको दाबेदार बन्न सक्ने संभावना नकार्न सकिँदैन । त्यसो त नैतिकता देउवाका लागि कुनै नयाँ र नौलो कुरै होइन । देउवाको नेतृत्वमा भएको २०७४ को आमनिर्वाचन परिणामको उदाहरण नै काफी छ देउवालाई बुझ्न ।