भारतीय महिलाको बेग्लै धन्धा, नेपाली पुरुषहरू सिकार बन्दै

भारतीय महिलाको बेग्लै धन्धा, नेपाली पुरुषहरू सिकार बन्दै



नेपाली पुरुषहरू भारतीय महिलाबाट ब्यापक ठगीमा पर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा आर्थिक वर्ष ०७७/७८ मा परेका ३ हजार ९ सय ६ उजुरीमध्ये १४ सय ७१ वटा घटना पुरुषहरूले दर्ता गरेका छन् । यी घटनामध्ये अधिकांश ठगी र केही अश्लिल सामाग्रीसँग सम्बन्धित छन् । अश्लिल सामाग्री देखाएर ठगी र ब्ल्याकमेलिङ गर्नेमा भारतीय महिलाहरू छन् भने ठगिने र हिंसामा पर्नेमा पुरुषहरू रहेका छन् ।

भारतीय महिलाले फेसबुक तथा अन्य सामाजिक सञ्जालका माध्यमबाट नेपाली पुरुषहरूसँग सम्बन्ध विस्तार गर्ने र नजिक भएपछि नाङ्गो फोटो, भिडियोहरू पठाउ भन्ने, भिडियो कल गरेको बेला संवेदनशील अङ्गहरू देखाउ भनेर आफैं फोटो तथा भिडियो खिच्ने र पछि त्यही फोटो-भिडियोमार्फत ब्ल्याकमेलिङ सुरु गर्ने गरेको पाइएको छ ।

बस्त्रविहीन फोटो तथा भिडियोहरू खिचेपछि ठूलो रकम माग गर्ने, काठमाडौंमा तिमीलाई भेट्न आउनका लागि पैसा पठाइदेउ भन्ने र भनेजति पैसा नदिएपछि सामाजिक सञ्जालमार्फत नै पत्नी, आफन्त तथा नातेदारहरू पत्ता लगाइ उनीहरूलाई अश्लिल सामाग्रीहरू पठाइदिन्छु भनी ब्याकमेलिङ गर्ने गरेका छन् ।

साइबर ब्युरोमा भेटिएका एक उजुरीकर्ताले घटना र विचारसँग कुरा गर्दै आफूलाई जिन्दगीमा ठूलो धोखा भएको, पत्नी र छोराछोरीले थाहा पाउलान् भनेर लामो समयसम्म उक्त महिलालाई पैसा पठाएको, तर ब्ल्याकमेलिङ निरन्तर भएपछि उजुरी गर्न आएको बताए । त्यसरी नेपाली पुरुष फसाउने महिलाहरूले आफ्नो फेसबुकको परिचयमा राजनीतिक दलको नाम र ठूला-ठूला मल्टीनेशनल कम्पनीहरूको नाम राख्ने गरेको थाहा भएको छ । कतिपय पुरुषहरूले विभिन्न कम्पनीमा काम गर्न पाइने उद्देश्यले सम्बन्ध अघिबढाएको बताउने गरेका छन् । भारतीय महिलाहरूलाई प्रयोग गर्ने नियतले सामाजिक सञ्जालमा सम्बन्ध राख्दा आफै नराम्ररी फस्नेको सङ्ख्या बढ्दै गएको छ । कतिपय पुरुषहरू प्रहरीमा मुद्दा दायर भए परिवारका सदस्यले थाहा पाउने ठानी मनमा त्रास पालेर बसेको पनि भेटिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका कतिपय नेपाली पुरुषहरू नेपाली महिलाबाटै यस प्रकारको ठगीमा पर्ने गरेका छन् । रातभरी कुरा गर्ने, अश्लिल फोटो र भिडियोहरू खिच्ने र आफन्तहरूको फेहरिस्त पत्तालगाइ ब्ल्याकमेलिङ सुरु गर्ने गरेको पाइएको छ ।

यसैगरी साइबर क्राइममा पर्ने अधिकांश महिलाहरूले चरित्रहत्याको घटना दर्ता गरेका छन् । एक वर्षमा २ हजार ३ वटा मुद्दा महिलासँग सम्बन्धित रहेका छन् ।