देउवाद्वारा प्रचण्ड-प्रशंसाको अभीष्ट !

देउवाद्वारा प्रचण्ड-प्रशंसाको अभीष्ट !


कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा ‘प्रचण्डकै प्रतापबाट सारा उपलब्धि हासिल भएको’ घोषणा गरिदिएका छन् । वर्तमान संविधानको सम्पूर्ण जश सभापतिले प्रचण्डको पोल्टामा हालिदिएपछि काङ्ग्रेसी कार्यकर्ताले अब सुशील र गिरिजाप्रसाद कोइरालाहरूको योगदान अब कतातिर खोज्ने ?


प्रमुख राजनीतिक दलहरूले निकै तामझामका साथ आ-आफ्नो महाधिवेशन सम्पन्न गरिरहँदा प्रचण्डनेतृत्वको नेकपा (माओवादी केन्द्र) भने ‘राष्ट्रिय सम्मेलन’को तयारी गर्दै थियो । महाधिवेशन आयोजनाको विषयमा सोच्ने आँटसम्म माओवादीले नगरेको महसूस सचेत तप्काले गरिरहेकै बेला ‘राष्ट्रिय सम्मेलन’ आयोजनासम्म आइपुगेको उक्त दलले एकाएक पार्टीको सम्मेलनलाई ‘महाधिवेशन’मा परिणत गर्ने निर्णय लियो । राष्ट्रिय सम्मेलनका लागि पार्टी-पङ्क्तिमा पैदा भएको उत्साह र सोहीअनुसार पार्टी-प्रतिनिधिको सहभागिता देखेर माओवादी नेतृत्वले महाधिवेशन आयोजनाको ‘अपरिहार्य मामला’ निप्ट्याइदिने सोच बनाएको बुझ्न नसकिने विषय रहेन । यथार्थ जे भए पनि माओवादी केन्द्रको यस निर्णयलाई सुझबुझपूर्ण मान्न सकिन्छ । किनकि, महाधिवेशनस्तरीय तयारी या झमेलाविना नै ‘महाधिवेशन’ आयोजना गरेको भन्दै पार्टीको लाज ढाक्ने अवसर छोपेको छ माओवादी केन्द्रले ।

माओवादीको महाधिवेशनको सन्दर्भबीच विभिन्न राजनीतिक मामला यतिबेला चर्चामा छन् । सो पार्टीले प्रचण्डको नेतृत्वलाई निर्विकल्प ठह¥याएको विषय कुनै आश्चर्यको प्रसङ्ग नभए पनि यसको अन्तर्यबारे निकै बहस र चर्चा गर्न सकिन्छ/गर्नुपर्ने हुन्छ, विशेषगरी उक्त पार्टीका नेता-कार्यकर्ताहरूले । यस्तै, एमसीसीको मुद्धालाई पनि माओवादी महाधिवेशनले पुनः एक पटक बेस्सरी चर्चा र बहसमा उतारिदिएको छ । प्रचण्डले आफ्नो परिचित अन्दाजमा महाधिवेशनमार्फत् उजागर गरिदिएका छन् कि एमसीसी ‘जसरी पनि’ पारित गरिने छ ! हुन त ‘आवश्यक परिमार्जनसहित’ भन्ने शब्दको जलप लगाएर उनले एमसीसीसम्बन्धी आफ्नो ‘मकसद’लाई ढाकछोप गर्ने प्रयत्न गरेका छन्, तर ‘माथि ढाक्न खोज्दा तलतिर ह्वाङ्गै’ भन्ने जनबोली प्रचण्डका अभिव्यक्तिमा स्पष्टै लागु भएको अनुभूति गर्न सकिन्छ । एमसीसीका घोर समर्थक प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवाकै कोटीमा प्रचण्ड पनि एमसीसीको अनुयायी हुन् भन्ने तथ्य अब जति लुकाउन खोज्यो त्यति नै छरपस्ट हुनेछ । पार्टी-महाधिवेशनको मौका छोपेर आफ्नो पार्टी-पङ्क्तिलाई सोझै या घुमाउरो शैलीमा एमसीसीको पक्षमा उभिन प्रचण्डले सन्देशात्मक ‘निर्देशन’ जारी गरेका छन् । एमसीसीको विपक्षमा आफूलाई प्रकट गर्दै आएका माओवादी नेता तथा कार्यकर्ताहरूलाई एमसीसीबारे प्रचण्डको ‘पोजिसन’ले सकसमा पारिदिएको छ, अथवा पारिदिने छ । ‘निर्विकल्प नेतृत्व’को रूपमा स्वीकार गरिसकेपछि एमसीसी त के, गम्भीर भन्दा गम्भीर मुलुकघाती मामलामा पनि माओवादी कार्यकर्ताले समर्थन जनाउने नै छन् । देशभन्दा नेता या नेतृत्वलाई ठूलो ठान्ने ‘झोले-कार्यकर्ता’ पङ्क्तिबाट अर्को आशा गर्न पनि सकिन्न ।

माओवादी महाधिवेशनलाई अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाद्वारा गरिएको प्रचण्डको प्रशंसा पनि यतिबेला राजनीतिक वृत्तमा चर्चाको सन्दर्भ बन्न पुगेको छ । नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापतिसमेत रहेका देउवाले सबै राजनीतिक ‘उपलब्धि’ प्रचण्डको प्रतापबाटै सम्भव भएको भनेर घोषणा गरिदिए । देशले पछिल्ला तीन दशकमा के-कस्तो उपलब्धि हासिल गर्‍यो या गरेन भन्ने विषय पछिल्लो समय निकै विवादास्पद र बहसको सन्दर्भ बन्दै आएको छ । वर्तमान शासक वर्गले दाबी गर्दै आएको ‘उपलब्धि’लाई सकारात्मक रूपमै लिइए पनि देउवाको अभिव्यक्तिले गम्भीर सवाल पैदा गरिदिएको छ, खासगरी प्रजातन्त्र पक्षधर तप्कामा । सार्वजनिक कार्यक्रमबाट उनले ‘प्रचण्डकै प्रतापबाट सारा उपलब्धि हासिल भएको’ घोषणा गरिदिएपछि अब काङ्ग्रेसजनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाहरूको नाम केका लागि जप्ने ? वर्तमान संविधानको सम्पूर्ण जश सभापतिले प्रचण्डको पोल्टामा हालिदिएपछि काङ्ग्रेसी कार्यकर्ताले उनीहरूको योगदान अब कुन विषयमा खोज्ने ? आखिर कल्पनासम्म नगरिएको परिवेशबीच प्रधानमन्त्रीका कुर्ची दिलाइदिएवापत मात्र देउवाले प्रचण्डको गुनगान गाएका होलान् त ? कि एमसीसीको पक्षमा भित्रभित्रै प्रचण्डको दर्बिलो साथ रहेकोले देउवा गद्गद् बनेर सार्वजनिक सभामा त्यसरी पोखिएका हुन् ? यथार्थ दुवै हुन सक्छ ।

जे होस्, कुनै बेला टाउकोको मोल तोक्ने देउवा र देउवाको ज्यान लिन एम्बुस थाप्ने प्रचण्ड एकर्कालाई ‘चुम्माचाटी’ गर्ने अवस्थामा पुगेका छन् । विपरीत राजनीतिक कर्म-धर्म बोेकेका नेता या नेतृत्वहरूबीच मिलाप र सहकार्य हुनुलाई नकारात्मक रूपमा व्याख्या गर्नु अन्यथा ठहरिन सक्छ, यदि देशहितका लागि सहकार्य गरिएको छ भने । होइन र, देशको तालाचाबी परायाको पोल्टामा पार्नका लागि अस्वाभाविक एवम् अशिष्ट अँगालो हालिन्छ भने शङ्का गर्नु, औंलो उठाएर खबरदारी गर्नु र आवश्यक परेमा त्योभन्दा अगाडि बढेर सक्रियता दर्शाउनु सच्चा नेपालीको कर्तव्य हो । देशको नाममा उल्टापुल्टा कर्म गरेर पनि मुलुकको दोहन गर्न छुट पाएकाहरूलाई चिन्ने र, उपयुक्त व्यवहार गरी यथोचित ठेगान लगाउन अब ढिलो भइसकेको छ । देशभक्त नेपालीलाई चेत रहोस् ।