देउवा दोहोरिएपछि यसरी जाग्दै छ काङ्ग्रेस !

देउवा दोहोरिएपछि यसरी जाग्दै छ काङ्ग्रेस !


‘राष्ट्रियता’ र ‘समाजवाद’को रट लगाउने तर व्यवहार अर्कै-अर्कै गरेर काङ्ग्रेसले पाखण्ड प्रदर्शन गर्दै आएको छ । ‘आशाका पुञ्ज’ बनेर उदाएका काङ्ग्रेस पदाधिकारीहरू यस पाखण्डबाट पार्टीलाई उम्काउन सफल होलान् भन्ने भन्दा पनि आफै ‘देउवा-प्रवृत्ति’मा रुपान्तरण नहोलान् भनी ढुक्क हुन नसकिने अवस्था छ !


नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन प्रक्रियाको अन्त्य हुँदानहुँदैै सामाजिक सञ्जालका साथै नेपाली सञ्चारमाध्यमहरूले उत्साहित भावमा समाचार/विचार सम्प्रेषण गरे- ‘काङ्ग्रेसको महत्वपूर्ण पदमा आश गरिएका युवाहरू पदासिन हुने भए, यी आशाका पुञ्जहरू नेतृत्व तहमा आएपछि अब काङ्ग्रेस फेरिन्छ, देशमा केही हुन्छ !’ यसरी, निकै अघिदेखि धेरैले अपेक्षा गर्दै आएको काङ्ग्रेसमा पुस्तान्तरण र त्यससँगै रुपान्तरणको आशा गर्माएको अवस्था छ, खासगरी काङ्ग्रेसभित्रको ठूलै जमातमा ! तर, यो आशापेक्षाले मूर्तरूप लेला कि मृगतृष्णामै सीमित रहला भन्ने प्रश्नचाहिँ फेरि पनि ज्युँकात्युँ रहेको प्रतीत हुँदै छ ।

काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको बागडोर पुनः शेरबहादुर देउवालाई नै सुम्पिएका छन् । काङ्ग्रेस पार्टीको आधिकारिक प्रतिनिधित्व सभापतिले गर्ने प्रावधान छ । यसअनुसार फेरि पनि शेरबहादुर देउवाको बोली, व्यवहार, कार्यशैलीमै सिङ्गो काङ्ग्रेस पार्टीको स्वरुप झल्कनेमा दुई मत नहोला । महामन्त्री पदलाई जति नै महत्वपूर्ण मानिए पनि काङ्ग्रेसको वर्तमान शैलीअनुसार सभापतिलाई आफ्नो सोचविचारअनुरुप हिँडाउने बुता-बर्कत अन्य पदाधिकारी वा महामन्त्रीको दायित्व बोकेकाहरूले नसक्ने घामजत्तिकै छर्लङ्ग छ । सभापतिले अह्राएको काम गर्ने सहयोगीपात्रको भूमिका मात्र निर्वाह गर्ने हुन् तिनले । सहयोगीको भूमिका निर्वाह गर्न नसके पार्टीभित्रको विद्रोहीका रूपमा भाषणबाजी गर्ने तहमा उत्रनसम्म सक्छन्, तर त्यसले देउवा-प्रवृत्तिमा कुनै फेरबदल आउने छैन ।

पाँच पटक देशका प्रधानमन्त्री भइसकेका देउवा पार्टीसभापतिमा तेहेरिने सम्भावनाको अन्त्य भए पनि उनमा फेरि प्रधानमन्त्री बन्ने आकाङ्क्षा भने जागृत नै रहेको विभिन्न प्रसङ्ग-सन्दर्भहरूले उजागर गरिरहेकै छन् । आफ्नो यस आकाङ्क्षामा ठेस पुग्ने कुनै क्रियाकलाप उनका लागि सैह्य हुनेछैन । यसबाहेक पनि आफ्नो यो दोस्रो कार्यकालमा पूरा गर्नैपर्ने व्यक्तिगत प्रकृतिका ‘केही’ कार्य सम्पन्न गर्न देउवा कटिबद्ध रहेको चर्चा काङ्ग्रेसवृत्तमा शुरु भइसकेको छ । आफ्नो मकसदपूर्तिमा आँच पुग्ने कार्य गर्ने पदाधिकारीलाई भित्तामा पुऱ्याउन उनले कुनै कसर बाँकी राख्ने छैनन् भन्नेमा सन्देह राख्नै पर्दैन । विगत ६ वर्ष अवधिमा शेरबहादुर देउवाले पार्टीलाई कसरी सञ्चालन गरे, जगजाहेर छ । दोस्रो कार्यकालमा फरक गरी देखाउन देउवा स्वयम्मा के-कति बदलाव आएको छ- यो पनि सचेत तप्काले भलिभाँती जानेकै छन् । काङ्ग्रेसको पुस्तान्तरण, रुपान्तरण या परिवर्तनको सन्दर्भमा यो महत्वपूर्ण सवाल हो । र, सँगसँगै उठ्ने प्रश्न यो छ कि चौधौँ महाधिवेशनबाट बदलिन नसकेको नेपाली काङ्ग्रेसले परिवर्तनको तीव्राकाङ्क्षी नेपाली समाजलाई कसरी बदल्ला ? समाजका प्रत्येक व्यक्तिलाई साँचो अर्थमा स्वतन्त्र, स्वावलम्बी, सम्पन्न र सुखी तुल्याउन कसरी सहयोग गर्ला ?

काङ्ग्रेसका विद्यमान राजनीतिकर्मीहरू जनसेवक नभइ ‘राजनीतिजीवी’कै भूमिकामा प्रकट हुँदै आएका पात्रहरू नै हुन्, औंलामा गन्न सकिने केहीलाई छोडेर । ‘राष्ट्रियता’ र ‘समाजवाद’को रट लगाउने तर व्यवहार अर्कै-अर्कै गरेर काङ्ग्रेसले पाखण्ड प्रदर्शन गर्दै आएको छ । कथित तवरमा आशाका पुञ्ज बनेर उदाएका काङ्ग्रेस पदाधिकारीहरू यस पाखण्डबाट पार्टीलाई उम्काउन सफल होलान् भन्ने भन्दा पनि आफै ‘देउवा-प्रवृत्ति’मा रुपान्तरण नहोलान् भनी ढुक्क हुन नसकिने अवस्था छ, वर्तमान काङ्ग्रेसी परिवेशलाई नियाल्दा !

वास्तवमै काङ्ग्रेसको बाटोमा चुनौतीका चाङ छन् । विगत ६ महिनामा देउवानेतृत्वको सरकार तथा सत्ता-गठबन्धनका कमी-कमजोरी छताछुल्ल भएका छन् । विगतमा केपी ओलीका विरुद्ध लगाइएका आरोपहरू यतिबेला आफैंतिर फर्किने अवस्थामा छन् । तर, गठबन्धन सरकारका तमाम कमजोरीका भारी भने केवल काङ्ग्रेसकै थाप्लोमा आइपर्ने अवस्था छ । यस अपजशको भारीबाट काङ्ग्रेसलाई सङ्ग्ल्याउने दायित्वको बोझमा चेपिएर ‘आशाका पुञ्ज’हरू कतै शर्मनाक तवरले बिलाउने त होइनन् भन्ने विडम्बनापूर्ण प्रश्नले कैयन काङ्ग्रेसजनलाई पिरोल्न थालिसकेको छ । काङ्ग्रेसभित्रका पुराना ‘कलपुर्जा’हरूमा सुधारको सम्भावना नरहेको मात्र नभइ नयाँ भनिएकाहरूले आफ्नो ‘गनगने’पनबाट आफूहरूलाई मुक्त गर्न नसक्ने पनि छर्लङ्गै छ । निर्वाचनमा विजयी बनेपछिका अभिव्यक्तिहरूले यस्तै सङ्केत दिएका छन् । गुलिया भाषणको ललिपप चखाएर अन्धभक्त कार्यकर्ताहरूबाट ताली हासिल गर्दैमा काङ्ग्रेसले मुलुक र मुलुकबासीमा उल्लेख्य छाप छोड्न त पक्कै नसक्ला ! यस तिक्त यथार्थका बाबजुद देशको आवश्यकता र जनचाहनाअनुरुप अघि बढ्ने सोच र जोश नेपाली काङ्ग्रेसमा जागृत होस् भन्ने कामना गरौँ ।