राष्ट्रवाद, राजावाद र राजा

राष्ट्रवाद, राजावाद र राजा


राजा महेन्द्रको देहावसानपछि राष्ट्रवाद र प्रजातन्त्र एकअर्काको विपरीत भनेर सावित गर्न सत्ता नै लाग्यो । ‘साम्यवादी नजिक, प्रजातन्त्रवादीचाहिँ विरोधी’ भन्ने भावना फैलाउने राजाकै सल्लाहकारहरू थिए । महेन्द्रले मेट्दै लगेको यो तीन धारबीचको सीमा वीरेन्द्रको शासनको शुरुमा नै झन प्रष्ट हुँदै गयो ।

  • स्वयम्भूनाथ कार्की

नेपालमा लामो समयसम्म राष्ट्रवाद र प्रजातन्त्रलाई एकअर्काको विलोमको रूपमा प्रस्तुत गरियो । बीपीको सरकार राष्ट्रवादी हो तर प्रजातन्त्रविरोधी हो भन्ने कुराको जवाफमा महेन्द्रले ‘यो कुरा इतिहासले मुल्याङ्कन गर्नेछ’ भनेका थिए । ०१७ सालमा शासन आफ्नो हातमा लिएदेखि मृत्युपर्यन्त उनले गरेको कामले दलमाथिको प्रतिबन्धबाहेक प्रजातन्त्रका मान्यतामा सम्झौता गरेनन् । तर एकथरिले दलतन्त्र मात्र प्रजातन्त्र हो भनेर प्रचारयुद्ध चालु राख्यो भने अर्कोथरिले साम्यवाद मात्र जनवाद भन्ने अडान कायम राख्यो । जतिसुकै दलमा प्रतिबन्ध भए पनि नेपालमा तीन वाद अस्तित्वमा रहे, राष्ट्रवाद प्रजातन्त्रवाद र साम्यवाद ।

महेन्द्रले राष्ट्रवादमा प्रजातन्त्र र साम्यवादको समिश्रण गराए जसलाई पञ्चायती प्रजातन्त्र भनियो । साम्यवादको वर्गसङ्घर्षलाई पञ्चायतले वर्गसमन्वयमा रुपान्तरण गर्ने प्रयत्न गऱ्यो । बीपीको भूमिसुधारको अवधारणालाई कार्यरूपमा ल्याए तर साम्यवादी स्वादमा । यसरी राष्ट्रवाद राजावाद र राजा प्रजातन्त्रवाद र साम्यवाद दुवैको विरुद्ध हैन सहयात्री हो भनी सावित गर्ने प्रयत्न गरे । तर यो क्रम उनीपछि उल्टियो, राष्ट्रवाद र प्रजातन्त्र एकअर्काको विपरीत भनेर सावित गर्न सत्ता नै लाग्यो । साम्यवादी नजिक प्रजातन्त्रवादीचाहिँ विरोधी भन्ने भावना फैलाउने राजाकै सल्लाहकारहरू थिए । महेन्द्रले मेट्दै लगेको यो तीन धारबीचको सीमा वीरेन्द्रको शासनको शुरुमा नै झन प्रष्ट हुँदै गयो ।

विद्यार्थी राजनीतिमा यो वैमनश्य यति धेरै बढ्यो कि ज्यानै जाने झडपहरू पनि भए । विराटनगरमा त्यतिखेर गोवर, भुस र खरानी भनेर एक अर्कालाई सम्बोधन गरेका सम्झने धेरै अहिले पनि जीवित नै होलान् । राष्ट्रवाद राजावाद र राजा एकै हुन् भन्ने राष्ट्रवादी नेपालीको सोच धर्मराउन लागेको त्यही अवसरदेखि नै हो । एकै नभए पनि एउटै टोलीको हो भन्ने आजको धारणा अहिलेसम्म ठिक नै होला । तर स्पष्ट फरक पनि बुझ्न आवश्यक छ । ‘पहिले राष्ट्र, अरु त्यसपछि’ भन्ने सोच राष्ट्रवाद हो भने ‘राजसंस्था भएपछि राष्ट्र स्वतः हुन्छ’ भन्ने सोच राजावादी हो । राजा त्यो राजसंस्थाको प्रतिनिधि हो । तर, एक्लो व्यक्ति हैन आफ्नो सल्लाहकार, गुप्तचर र सुरक्षासंयन्त्र सबैको समिष्टि हो ।

राजसंस्थालाई भूमिकाविहीन बनाइए पनि त्यसको प्रतिनिधिको रूपमा राजाको जयजयकार नेपालीको राजगद्दीप्रतिको आस्था हो । कुनै न कुनै बेला फेरि गद्दी सम्हालेर आफूलाई त्राण दिन्छन् भनेर हो । जुन बेला जनतालाई राजाले गद्दी सम्हाल्ने हिम्मत गर्दैनन् भन्ने लाग्छ त्यो बेला अर्को सम्भावित पात्र खोज्न पनि बेर लगाउने छैनन् ।

कथं कुनै अवस्थामा राजा असफल हुन्छ भने त्यो असफलता एक्लो व्यक्ति ‘राजा’को हैन बरु सल्लाहकार, गुप्तचर र सुरक्षासंयन्त्र सबैको हो । यस्तो अवस्थामा व्यक्ति राजाले आफ्नो असफलतामा यी तीन तत्वहरूमा क-कसको के-के भूमिका छ भनेर केलाउन र सुधार गर्न पर्छ । यदि त्यो गर्न सकेन भने जनताको आस्थाले मात्र काम गर्दैन । किनभने जनताको आस्था भीष्मको जस्तै राजसंस्थाप्रति हो व्यक्तिप्रति हैन । आफ्नो राजा नै नभएको अवस्थामा पनि बेलाइतको राजगद्दीलाई मान्ने अष्ट्रेलियाले एलिजावेथलाई हैन गद्दीलाई मानेको हो । वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रलाई राजा व्यक्तिलाई हैन गद्दीलाई मानेको हो ।

राजसंस्थालाई भूमिकाविहीन बनाइए पनि त्यसको प्रतिनिधिको रूपमा राजाको जयजयकार नेपालीको राजगद्दीप्रतिको आस्था हो । कुनै न कुनै बेला फेरि गद्दी सम्हालेर आफूलाई त्राण दिन्छन् भनेर हो । जुन बेला जनतालाई राजाले गद्दी सम्हाल्ने हिम्मत गर्दैनन् भन्ने लाग्छ त्यो बेला अर्को सम्भावित पात्र खोज्न पनि बेर लगाउने छैनन् । बाक्लै आउने गरेका सन्देश, अभिव्यक्ति आदिले सम्भावित पात्र खोज्न आवश्यक नभएको महसूस भएको त छ । हरेक यस्ता अभिव्यक्तिपछि उत्साहित भएकाहरू जब त्यसको पृष्ठभूमि र कार्ययोजना खाली देख्छन्- निराश हुन्छन् ।

उनले केवल जनतालाई आश्वासनको भरमा समर्थन लिन यस्ता अभिव्यक्ति दिन्छन् भन्ने शङ्का गर्नु निरर्थक हो । किनभने त्यत्रो लामो विरासत आफ्नो पालमा गुम्दा पक्कै पनि सबैभन्दा ठूलो चोट उनलाई नै परेको छ । तर आश्चर्यजनक तरिकाले उनका यस्ता अभिव्यक्तिको धेरै पहिलेदेखि धेरै पछिसम्म जनतासँग सम्पर्क सूत्रको रूपमा रहेकाहरू व्यस्त भइदिन्छन् । जनतासँगको सम्पर्क नै टुट्ने गरेर भएको यस्तो व्यस्तताले कुराको गम्भीरतामा असर पर्न सक्छ भन्ने ख्याल राख्न आवश्यक छ । बारम्बारको यस्तो व्यवहार प्रत्यूपादक हुनेतर्फ सचेतताको आवश्यकता छ ।

पुराना संयन्त्रले थाम्न नसक्नु नै त्यसको अयोग्यताको प्रमाण हो । त्यसमा नयाँ थपेर बलियो नबनाएसम्म हुन्न । यसको निमित्त सही पात्र छान्न सम्पर्क र भेटघाट चाहिन्छ भनेर पनि सल्लाह दिन नसक्ने सल्लाहकारले फेरि परिआउँदा कौशलता के देखाउलान् र ? बारम्बार उत्साह जगाउँदै सेलाउँदै जाँदा वास्तविक आवश्यकता परेको बेला नपत्याउने खतरा नहोला भन्न सकिन्न । अब फेरि राष्ट्रवाद, राजावाद र राजा एकै स्थानमा राख्ने प्रयत्न हुनुपर्ने अपरिहार्यता छ । नत्र मनमा आस्था बोकेरै पनि त राष्ट्रवादीले एक्लै राष्ट्र बचाउने प्रयत्न गर्नैपर्ने हुन्छ । किनभने, ‘जननी जन्मभूचिश्चः स्वर्गादपी गरियसी’ ।