असत्य इतिहास अब लेखिँदैन

असत्य इतिहास अब लेखिँदैन


राजा महेन्द्र वास्तवमा न देव थिए न त दानव ! तर उनलाई पञ्चायतले देवत्वकरण गऱ्यो भने बहुदलले दानवीकरण । महेन्द्रलाई गलत देखाउने नाममा प्रजातन्त्र पुनःस्थापनापछि महेन्द्रले नेपालको लागि गरेका सबै कामलाई मेटाउने र उनले प्रजातन्त्र मासेको कुरालाई बढाइचढाइ गरेर उनलाई खलनायकको रूपमा चित्रण गरियो ।

  • डा. राजु अधिकारी

२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि रेडियोमा एउटा सुमधुर गीत बज्थ्यो- ‘शहीदको रगतले छोएको, आँसु पसिनाले धोएको…।’ लय, सङ्गीत र शब्द सबै मिठासले भरिपूर्ण उक्त गीतको अन्ततिर एउटा निकै गहकिलो वाक्यांश छ- ‘गोली, बारुदले समय रोकिँदैन, असत्य इतिहास अब लेखिँदैन…।’

प्रजातन्त्रको पुनःस्थापना भएको तीन दशक भन्दा बढी भयो, व्यवस्था परिवर्तन भयो, पात्रहरू परिवर्तन भए, परिस्थिति परिवर्तन भयो, तर तीन दशकअगाडि रचित उक्त गीतको बोल अझै पनि नेपालीको जीवनमा चरितार्थ हुन सकेको छैन- यहाँ अझै पनि गोला र बारुदले समय रोक्न खोज्नेहरूको वर्चश्व छ र अझै पनि जबर्जस्ती असत्य इतिहास लेखिँदै छ ।

‘विजेताहरूले इतिहास लेख्छन्’ भनेर दोश्रो विश्वयुद्धको समयका बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए भन्ने मान्यता छ । बेलायतसहितका देशहरूको समूहले दोश्रो विश्वयुद्धमा जर्मनीमाथि विजय हासिल गरेपछि चर्चिलले भनेजस्तै उनीहरूले आफूले चाहेअनुसार इतिहास पनि लेखे । दोश्रो विश्वयुद्धताकाका लेखक जर्ज अरवेलले पनि आफ्नो प्रख्यात उपन्यास ‘१९८४’ मा विजेताहरू, जो सत्तामा छन्, तिनले कसरी इतिहास आफ्नोअनुसार लेख्न सक्छन् र कसरी वास्तविक इतिहास मेटाउन मेटाउन सक्छन् भन्ने कुरा निकै गहकिलो रूपमा प्रस्तुत गरेका छन् ।

अहिले विश्वव्यापिकरण अनि प्रविधि र सञ्चार सुविधाले गर्दा इतिहास बङ्ग्याउन पहिलेजस्तो सजिलो छैन, तर पनि सत्तामा हालीमुहाली गर्नेहरूले अझै पनि इतिहास बङ्ग्याउन भरमग्दुर प्रयास गर्छन् । अझ हाम्रोजस्तो सानो र विश्वको सामु त्यति महत्व नभएको देशमा त इतिहास बङ्ग्याएर लेख्ने चलन अद्यापि भयावह नै छ ।

नेपालमा गलत इतिहास लेखिने परम्परा अहिले शुरु भएको हैन । हाम्रो देशमा शुरुवातदेखि नै इतिहासकारहरूको सङ्ख्या निकै कम छ, समाजका बुद्धिजीवीहरू, शिक्षक र प्राध्यापकहरू, प्रशासकहरू, पत्रकारहरू नै नेपालको इतिहासका लेखनकर्ता हुन् । त्यसैले उनीहरूलाई हातमा लिन सकियो भने आफूले चाहेअनुसारको इतिहास सजिलै लेखाउन सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नुभन्दा पहिले काठमाडौंबाहिरको इतिहास निकै कम मात्र लेखेको पाइन्छ । नेपाल एकिकरणपछि नेपालमा इतिहास लेखनले केही फड्को त माऱ्यो तर त्यो इतिहासको अधिकांश पाटो एकपक्षीय रूपमा लेखियो । बहादुर शाहको निधनपछि सबैजसो इतिहास राजहरूलाई देवत्वकरण गर्ने गरी लेखियो भने जङ्गबहादुरले सत्ता कब्जा लिएपछि त झन् इतिहास केवल राणा र राजाहरूको दरबारमा मात्र सीमित हुन पुग्यो । सत्य र तथ्यको आधारमा नभइ, राणाले जे लेख्न लगाए त्यही नै इतिहास बन्यो । विजेताले इतिहास लेख्छन् भन्ने कथन त्यो बेलाको नेपालमा पूर्णरूपमा चरितार्थ भयो ।

हाम्रो जस्तो सानो देशमा आधिकारिक रूपमा जसले जे लेख्यो त्यसैलाई इतिहास भनेर मानिन्छ किनभने संसारको लागि त्यो त्यति महत्वपूर्ण हुँदैन र संसारका इतिहासकारहरूले त्यसमा गम्भीर समस्या र त्रुटी नभेट्टाउँदासम्म प्रश्न उठाउँदैनन् र, जे लेखियो त्यही नै आधिकारिक इतिहास बन्न जान्छ । त्यसैले नेपाल जस्तो देशमा इतिहासलाई बङ्ग्याएर लेख्न निकै सजिलो छ र त्यसैको दुरूपयोग गरेर बुद्धिजीवीको खोल ओढी स्वार्थी र भ्रष्ट जमातले गलत इतिहास अझै पनि लेखिरहेको छ ।

२००७ सालपछि राणा शासनको अन्त्य भयो र, प्रजातन्त्र त आयो तर त्यो प्रजातन्त्र कहिले दरबारलाई आयो भने कहिले दलहरूलाई आयो, जनताको लागि कहिल्यै पनि प्रजातन्त्र आएन । दरबार बलियो भएको बेला इतिहास दरबारको आदेश र निगरानीमा लेखियो भने दलहरू बलियो भएको बेला इतिहास दलका नेताहरूको आदेश र निगरानीमा लेखियो । त्यसैले २०४७ सालसम्म आइपुग्दा पनि नेपालको इतिहास निष्पक्ष रूपमा लेखिएन ।

यस्तै असत्य इतिहासको बाढी देखेर नै प्रजातन्त्रको प्राप्तिपछि ‘शहीदको रगतले छोएको…’ गीतका रचनाकारले अब त इतिहास सत्य लेखिने छ भन्ने आशामा उक्त गीत रचना गरेको हुनुपर्छ । तर दुर्भाग्य ! असत्य इतिहास लेख्ने क्रम नरोकिएको मात्र हैन झन् बढी मौलाउँदै गयो, अझ उदाङ्गो भयो र अहिले पनि त्यही क्रम चलिरहेको छ ।

इतिहास लेख्ने कुरो सजिलो भनौँ भने निकै सजिलो हो र गाह्रो भनौँ भने निकै गाह्रो पनि हो । सजिलो यस अर्थमा कि इतिहासहरू तथ्यको आधारमा लेखिन्छन् । त्यसैले जे तथ्य हो त्यसैलाई इतिहासकारले लेख्नुपर्छ जसको लागि दिमाग लगाउनु पर्दैन । गाह्रोको कुरा गर्दाचाहिँ एउटै तथ्यलाई एउटा इतिहासकारले देख्ने दृष्टिकोण र अर्को इतिहासकारले देख्ने दृष्टिकोणमा आकाश-जमिनको फरक पनि हुन सक्छ र, त्यसैको आधारमा इतिहासको एउटै घटनालाई दुई इतिहासकारले दुई तरिकाले प्रस्तुत गर्न सक्छन् । तथ्य कसरी फरक हुन सक्छ भन्ने प्रश्न उठ्न सक्छ । प्रश्न तथ्यको हैन, त्यो तथ्यलाई व्यक्तिगत स्वार्थ र भावनामा डुबेर इतिहासकारले कसरी लेख्छन् भन्ने हो । यसरी तथ्य एउटै हुँदाहुँदै पनि आफ्नो स्वार्थ र भावनामा डुबेर लेखिएको इतिहास सदैव असत्य नै हुन्छ । अर्को कुरो इतिहासका सबै घटना तथ्यपरक हुँदैनन् र कतिपय घटनामा जानी-जानी या अनजानमा तथ्यहरू लुकाइन्छन् । त्यस्तो बेलामा इतिहासकारले कतिपय ठाउँहरूमा आफ्नो बुद्धि पनि लगाउनुपर्ने हुन्छ । त्यसैले इतिहास कहिले पनि पूर्णरूपमा निष्पक्ष हुँदैन । तर नेपालको सन्दर्भमा चाहिँ तथ्यहरू उपलब्ध हुँदाहुँदै पनि तथ्यलाई बङ्ग्याएर लेख्ने गर्दा हामी गलत इतिहास पढ्न बाध्य छौँ ।

नेपालमा इतिहास लेखन अझै पनि व्यवसायिक र तथ्यपरक हुन नसकेको अवस्थामा इतिहास लेखनमा पत्रकार, नागरिक समाज र बुद्धिजीवीहरूले निकै ठूलो भूमिका खेलेका हुन्छन् । तर हाम्रो अहिलेको समाजमा निष्पक्ष बुद्धिजीवी, निष्पक्ष नागरिक समाज र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारहरू औंलामा गन्न सकिने सङ्ख्यामा छन् । धेरै जसो पत्रकार, नागरिक समाज र बुद्धिजीवीहरू विचारको दृष्टिकोण कुनै न कुनै दल या कुनै देशी-विदेशी समूहसँग आवद्ध छन् र उनीहरूले तिनकै गुनगान गाउँछन् । विचारको दृष्टिकोणले कुनै दल या समूहलाई मन पराउनु, त्यो दलको उम्मेदवारलाई निर्वाचनमा मत दिनु सबैको अधिकार हो, पत्रकारको पनि । तर जानी-जानी तथ्य बङ्ग्याएर या लुकाएर एकपक्षीय ढङ्गमा कसैको सत्तोसराप गर्नु र कसैको देवत्वकरण गर्नुचाहिँ पत्रकारिताको धर्म बिर्सनु मात्र नभइ देश, जनता र इतिहासमाथि नै गद्दारी एवम् अन्याय गर्नु हो । त्यही कुरा नागरिक समाज र बुद्धिजीवीहरूमा पनि लागु हुन्छ ।

पञ्चायतकालमा इतिहास बङ्ग्याएर देवत्वकरण गरिएका राजा महेन्द्रलाई बहुदल आएपछि कसरी एकाएक दानविकरण गरियो भन्ने यसको ज्वलन्त उदाहरण हो । बहुदलपछि महेन्द्रले गरेका सबै राम्रा काम र देशहितमा गरेका निर्णयहरूलाई एकाएक दबाएर उनको नराम्रो व्यक्तित्वको मात्रै वर्णन गरियो । त्यो निकै ठूलो असत्य इतिहास हो किनभने यो एकपक्षीय भयो । राजा महेन्द्र वास्तवमा न देव थिए न त दानव ! तर उनलाई पञ्चायतले देवत्वकरण गऱ्यो भने बहुदलले दानवीकरण । महेन्द्रलाई गलत देखाउने नाममा प्रजातन्त्र पुनःस्थापनापछि महेन्द्रले नेपालको लागि गरेका सबै कामलाई मेटाउने र उनले प्रजातन्त्र मासेको कुरालाई बढाइचढाइ गरेर उनलाई खलनायकको रूपमा चित्रण गरियो । अझ गणतन्त्रको स्थापनापछि त झन् एक नेपालीलाई अर्को नेपालीसँग भावनात्मक र भौगोलिक रूपमा जोड्ने, आफ्नै देशमा कलकारखाना खोलेर आत्मनिर्भर बन्ने, भारत र चीनबाहेकका देशहरूसँग पनि पारस्परिक, समदूरी र सन्तुलित सम्बन्ध राख्ने जस्ता दूरगामी असर पार्ने कोटीका राजा महेन्द्रका कार्यहरूलाई जानी-जानी ओझेलमा पारेर उनलाई खलनायक प्रमाणित गर्न खोजिँदै छ । यो कुरा पृथ्वीनारायण शाहको लागि पनि लागु हुन्छ । कथित पहिचानको नाममा राष्ट्रनिर्माताले आफ्नो ज्यानको बाजी लगाएर एकीकरण गरेको देशलाई विदेशीको इशारामा विभाजन गर्न खोज्नेहरूले पृथ्वीनारायण शाहलाई पनि खलनायक प्रमाणित गर्न भरमग्दुर प्रयास गर्दैछन् ।

माओवादी जनयुद्धको बारेमा के सत्य हो भने माओवादी जनयुद्ध नेपाललाई असफल बनाउन भारतले आफ्नो भूमिबाट प्रचण्ड र बाबुरामजस्ता पात्रहरूलाई पालेर चलाएको आतङ्क मात्र थियो जुन कुरा नेपाल र भारतका लेखक, बुद्धिजीवी, स्वयम् माओवादीमा लागेका कार्यकर्ताहरू र कुटनीतिज्ञहरूले आधिकारिक रूपमा नै व्यक्त गरिसकेका छन् । त्यस्तै, माओवादीले जनयुद्धको नाममा हत्या, आतङ्कक मात्र फैलाएको नभइ देशमा जातीय, भाषिक, धार्मिक, भौगोलिक र वर्गीय द्वन्द्व गराएर नेपाललाई अव्यवस्थित, विभाजित र अस्तव्यस्त गर्न खोजेको कुरा पनि सत्य र तथ्य दुवै हो ।

अर्कोतर्फ २०४७ पछि आफ्नो मृत्युवरणसम्म पनि सत्तामा हालीमुहाली गरेका गिरिजाप्रसाद कोइरालाका कार्यहरू र जनयुद्धको नाममा हजारौँ नेपालीको विभत्स हत्या गरेका माओवादीहरूका कार्यहरूलाई जबर्जस्ती सही प्रमाणित गर्न आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न चाहने दलीय पत्रकार, नागरिक समाज र बुद्धिजीवीहरूको ठूलै समूह लागिपरेको छ ।

गिरिजाप्रसाद कोइरालाको बारेमा एउटा कुरा के सत्य हो भने उनले नै प्रजातन्त्र प्राप्तिपछिको नेपालमा राजनैतिक विकृति भित्र्याएका हुन् । त्यहीँबाट नै नेपालमा राजनैतिक अस्थिरता शुरु भयो, देशको अर्थतन्त्र तहसनहस भयो, भ्रष्ट्राचार मौलायो अनि देश वर्षौं पछाडि धकेलियो । यो कुरा सत्य मात्र हैन तथ्य पनि हो । यस अर्थमा गिरिजाप्रसाद कोइराला नेपालका खलनायक हुन् । तर नेपाली काङ्ग्रेसको ठूलो वृत्त र उनीहरूका अनुयायीहरूले गिरिजालाई नायक प्रमाणित गर्न लगभग सफल भैसकेका छन् ।

त्यस्तै, माओवादी जनयुद्धको बारेमा के सत्य हो भने माओवादी जनयुद्ध नेपाललाई असफल बनाउन भारतले आफ्नो भूमिबाट प्रचण्ड र बाबुरामजस्ता पात्रहरूलाई पालेर चलाएको आतङ्क मात्र थियो जुन कुरा नेपाल र भारतका लेखक, बुद्धिजीवी, स्वयम् माओवादीमा लागेका कार्यकर्ताहरू र कुटनीतिज्ञहरूले आधिकारिक रूपमा नै व्यक्त गरिसकेका छन् । त्यस्तै, माओवादीले जनयुद्धको नाममा हत्या, आतङ्कक मात्र फैलाएको नभइ देशमा जातीय, भाषिक, धार्मिक, भौगोलिक र वर्गीय द्वन्द्व गराएर नेपाललाई अव्यवस्थित, विभाजित र अस्तव्यस्त गर्न खोजेको कुरा पनि सत्य र तथ्य दुवै हो । माओवादीले आतङ्क फैलाएर दश वर्षको समय गोली र बारुदको भरमा कब्जामा लिएर, नेपालको विकास र उन्नतिको समय रोकेको पनि सत्य र तथ्य हो । तर यथेष्ट प्रमाण हुँदाहुँदै पनि, यति प्रष्ट तस्बिर आफ्नै आँखाअगाडि हुँदाहुँदै पनि कतिपयले माओवादी जनयुद्धको वैधानिकता प्रमाणित गर्ने र प्रचण्ड र बाबुरामलाई नायकको रूपमा स्थापित गर्न सम्पूर्ण शक्ति प्रयोग गर्दैछन् ।

माथि उल्लेखित दुई चित्र केवल प्रतिनिधिमूलक चित्रहरू मात्र हुन् । यस्ता चित्रहरू अन्य दलमा, नेताहरूमा र समुहहरूमा पनि छन् ।

सामान्य जनतालाई इतिहास कसरी निर्माण गरिन्छ भन्ने थाहा हुँदैन । उनीहरूलाई त्यसको वास्ता पनि हुँदैन, किनभने त्यसले उनीहरूको दैनिक जीवनमा असर पार्दैन । आफ्नो शक्तिको भरमा आफ्नो स्वार्थ अनुसार कसैलाई नायक बनाउने र कसैलाई खलनायक बनाउने अनि असत्य इतिहास लेख्न खोज्नेहरूको ठुलै झुण्ड छ यहाँ । हाम्रो जस्तो सानो देशमा आधिकारिक रूपमा जसले जे लेख्यो त्यसैलाई इतिहास भनेर मानिन्छ किनभने संसारको लागि त्यो त्यति महत्वपूर्ण हुँदैन र संसारका इतिहासकारहरूले त्यसमा गम्भीर समस्या र त्रुटी नभेट्टाउँदासम्म प्रश्न उठाउँदैनन् र, जे लेखियो त्यही नै आधिकारिक इतिहास बन्न जान्छ । त्यसैले नेपाल जस्तो देशमा इतिहासलाई बङ्ग्याएर लेख्न निकै सजिलो छ र त्यसैको दुरूपयोग गरेर बुद्धिजीवीको खोल ओढी स्वार्थी र भ्रष्ट जमातले गलत इतिहास अझै पनि लेखिरहेको छ ।

झुठो कुरोलाई हजार पटक भनेपछि त्यो पनि साँचो हुन्छ भन्ने नेपाली समाजमा उखान छ । त्यसैले गलत कुरोलाई पनि पटक-पटक सही भन्दै घोकाएर त्यसैलाई सत्य सावित गर्न अनि इतिहासमा त्यही कुरोलाई देखाउने चलन बस्न थाल्यो भने हाम्रो भावी पुस्ता असत्य इतिहास पढ्न बाध्य हुनेछ ।

त्यसैले सबै पत्रकार, बुद्धिजीवी, नागरिक समाज र इतिहासकारहरूले दलीय र व्यक्तिगत स्वार्थबाट माथि उठेर सत्यतथ्यको आधारमा इतिहास लेख्नु सबैको नैतिक दायित्व हो । सामान्य जनताहरूले पनि असत्य इतिहास लेख्ने चलनलाई रोक्न असत्य र भ्रामक तथ्यलाई जबर्जस्ती सही सावित गर्न खोज्न सबैलाई तिरस्कार गर्ने, उनीहरूको मुकुण्डो उतार्ने काममा सहयोग गरेर इतिहास लेखनलाई तथ्यपरक बनाउन आफ्नो तर्फबाट भूमिका निभाउनुपर्छ ।