‘वैदेशिक रोजगारीका सबै चरण सुरक्षित हुनुपर्छ’ : कृष्मा शर्मा

‘वैदेशिक रोजगारीका सबै चरण सुरक्षित हुनुपर्छ’ : कृष्मा शर्मा


सोलिडारिटी सेन्टरकी वरिष्ठ कार्यक्रम अधिकृत हुनुहुन्छ कृष्मा शर्मा । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि विभिन्न सरोकार पक्षसँग कार्यरत शर्मासँग गरिएको कुराकानीको सार प्रस्तुत गरिएको छ :

० सोलिडारिटी सेन्टरले के काम गर्छ ?
– सोलिडारिटी सेन्टरले विश्वका ६० भन्दा बढी देशमा काम गर्छ । यसले ज्यादाजसो कामदारका अधिकारको क्षेत्रमा काम गर्छ । ट्रेड युनियन, नागरिक तथा सामुदायिक संस्थाहरूसँग काम गर्छ ।

० तपाईंलाई वैदेशिक रोजगारीसँग धेरै लगाव रहेको देखिन्छ, कारण के होला ? कुनै पृष्ठभूमि जोडिएको छ कि ?
– वैदेशिक रोजगारीसँग अहिले कुन नेपालीको पृष्ठभूमि र वर्तमान जोडिएको छैन होला र ? ब्यक्तिगत रूपमा मेरो त त्यस्तो केही छैन । परिवारमा कोही पनि वैदेशिक रोजगारीसँग सम्बद्ध नभए पनि मुलुक रेमिटेन्सले धानिरहेको छ । प्रत्येक दिन ठुलो सङ्ख्यामा युवाहरू विदेशिने गरेका छन् । कोही अरुको देखेर आकर्षित भए त कोही बाध्यताले विदेशिएका छन् । कुनै पनि मुलुकमा जाने कामदारहरू सुरक्षित हुनुपर्छ भन्ने हो । उनीहरूले प्राप्त गर्ने सुविधा पाउनु पऱ्यो, अर्काको देशमा जोखिममा पर्नुभएन । कामको सिलसिलामा विभिन्न देशको भ्रमण गर्दा मैले ट्रान्जिटमा फारम भर्न नजान्ने नेपाली युवाहरू अलमल्ल परेको देखेकी छु । विदेश जानुअघि नै आफ्नो रकम ठगेर काठमाडौंमा अलपत्र भएका मानिसहरूसँग भेटेकी छु । विदेशमा जे कामका लागि भनेर लगिएको थियो त्यो नभइ अरु नै काममा लगाउँदा काम गर्नै गाह्रो भएर डिप्रेसनमा गएको सुनेकी छु । वैदेशिक रोजगारीको क्षेत्रलाई ब्यवस्थित बनाउनुपर्छ भन्ने सधैं लाग्ने गर्थ्यो । संयोग भनौँ या शौभाग्य, अहिले कामको दायरा पनि यही बन्न पुग्यो ।

० वैदेशिक रोजगारीको अहिलेको सबैभन्दा ठुलो समस्याचाहिँ के हो ?
– धेरै छन्, नीतिदेखि ब्यवहारसम्म । वैदेशिक रोजगारीको सम्पूर्ण चक्रलाई लिएर काम गर्नुपर्ने हुन्छ । जानुअघिका समस्यादेखि फर्किएर गर्ने रेमिटेन्सको प्रयोगसम्ममा । वैदेशिक रोजगारीका सबै चरण्हरू सुरक्षित हुनु पर्दछ ।

० तपाईंहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को अभिसन्धि १९० को अनुमोदनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबीच के सम्बन्ध छ ?
– आइएलओ अभिसन्धि १९० ले कार्यस्थलमा हिंसाको बारेमा उल्लेख गरेको छ । कुनै पनि प्रकारको हिंसा हुनु हुँदैन भनिएको छ । कार्यस्थलमा हुने हिंसाको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने असरसम्मको कुरा उल्लेख गरेको छ । वैदेशिक रोजगारीका सबै चरणहरूलाई आइएलओ १९० ले समेट्छ, सरोकार राख्छ । कार्यस्थल सुरक्षित हुनु भनेको कामदार सुरक्षित हुनु हो । नेपाली कामदारहरूको सुरक्षाको सवाल टड्कारो रूपमा उठिरहेका बेला अभिसन्धि १९० निकै महत्वपूर्ण छ । यसले कामदारका सबै प्रकारका, सबै स्थानका सुरक्षाहरूलाई जोडेको छ । नेपालका मात्र नभइ कुनै पनि देशका कामदारका लागि आईएलओ अभिसन्धि १९० महत्वपूर्ण छ ।

० तपाईं कुनै बेला सूचनाको हकको अभियन्ता हुनुहुन्थ्यो, अहिले सूचनाको हकको अभियान कहाँ पुग्यो ?
– मैले सूचनाको हकका बारेमा काम गर्दा पनि वैदेशिक रोजगारीलाई जोडेर गरेको थिएँ । सन् २०१३ मा हामीले महोत्तरी र कैलालीका गाउँ–गाउँमा गएर नागरिकलाई सचेतनाका तालिमहरू दियौँ । कुनै पनि कुराको बारेमा जानकारी किन आवश्यक छ भनेर बुझायौँ, बुझाउने कोशिस ग¥यौँ । सूचनाको हक र पहुँचका बारेमा अहिले पनि अभियानहरूको उत्तिकै आवश्यकता छ जति पहिला थियो । विशेषगरी महिला र पछाडि पारिएका वर्गका लागि सूचनाको हकले अधिकार स्थापित गर्न मद्दत गर्छ । सूचनाको हकले पारदर्शिता र जवाफदेहिता बढाउँछ । त्यसैले यो अभियान जारी राख्नुपर्छ ।

० तपाईंलाई नेपाली महिलाहरू के कारणले पछि परेका हुन् जस्तो लाग्छ ?
– हाम्रो हुर्काइ र समाजिक प्रक्रियाले महत्वपूर्ण भूमिका खेलेको छ । खस्किएको आत्मविश्वास र परनिर्भरता अर्को कारण हो । विभेदले आत्मविश्वास खस्काउँछ, आफ्नो खुट्टामा उभिने वातावरण नहुँदा परनिर्भरता बढ्छ । महिलाहरूलाई लक्षित गरेर आत्मविश्वास बढ्ने कार्यक्रमहरू अघि सार्नुपर्छ, घरैबाट विभेद हटाउनुपर्छ । पहिलाभन्दा अवस्थामा अलि सुधार आएको छ तर पनि समानताको वातावरण सबैतिर बन्न सकेको छैन ।

० अहिले अन्तर्राष्ट्रिय आप्रवासन दिवस चलिरहेको छ, के भन्न चाहनुहुन्छ ?
– अहिले विश्वभरी नै विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । नेपालमा पनि हामी मनाइरहेका छौँ । एउटा झोला बोकेर विदेश लाग्दै गरेको युवाले यस दिवसमा भएका छलफल र कुराकानीको प्रभाव अनुभव गर्न पाउनुपर्छ । यो एक दिन या एक हप्ता काम गरेर हुने कुरा होइन । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन निरन्तर काम गर्नुपर्ने हुन्छ ।