पुरुषमाथि पनि हिंसा हुन्छ ?

पुरुषमाथि पनि हिंसा हुन्छ ?


प्रायः महिलालाई पीडित र पुरुषलाई पीडकको रुपमा चित्रित गर्ने गरिएको छ । तर के सबै पुरुषहरू हिंसामुक्त छन् ? जिन्दगीको कुनै पनि मोडमा महिलाले झैँ पुरुषले कुनै न कुनै प्रकारको हिंसा भोगेका हुँदैनन् ? यस्ता सवालहरूमा पनि छलफल हुनु पर्दछ ।

  • बबिता बस्नेत

हामीले वर्षौंदेखि महिलामाथि हुने हिंसाका कुरा गऱ्यौँ । विश्वब्यापी रूपमै महिलामाथि हिंसा भइरहेको सन्दर्भमा महिला हिंसाको कुरा गर्नु, हिंसा नियन्त्रणका लागि कानूनी प्रावधानहरूको ब्यवस्था गर्नु र कानूनको कार्यान्वयनको माग गर्नु स्वभाविक नै थियो, हो । समग्र हिंसासँगै प्रायः हामी आफूसम्बद्ध क्षेत्रमा हुने हिंसालाई लिएर पनि चर्चा गरिरहेका हुन्छौँ । मिडियामा पनि महिला हिंसाका बारेमा धेरै छलफलहरू भए, हामीले गऱ्यौँ । विभिन्न क्षेत्रमा प्रायः महिलाकै कुरा सुनियो । के पुरुषमाथि पनि हिंसा हुन्छ ? कस्ता हिंसालाई पुरुषले हिंसा मान्छन् ? यस कुरालाई खासै वास्ता गरिएन ।

यही २०७८ साल श्रावण २२ गते मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले विभिन्न सञ्चारमाध्यममा कार्यरत ११ जना पुरुष पत्रकारहरूसँग एउटा छलफल कार्यक्रम गरेको थियो । हाम्रा समाचारकक्षहरू कति सुरक्षित छन् भन्ने विषयमा केही समय छलफल गरेपछि ‘के पुरुष मिडियाकर्मीमाथि पनि हिंसा हुन्छ ?’ भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। सहभागीमध्ये धेरैको जवाफ ‘हिंसा हुन्छ’ भन्ने रह्यो । ‘पुरुषहरूमाथि कस्ता हिंसा हुन्छन् त ?’ महिला सिनियर पदमा रहेका कतिपय कार्यस्थलमा बोलीबाट हिंसा हुने गरेको, आफूले राम्रो नियतले गरेको प्रशंसालाई आफ्ना सहकर्मीले गलत अर्थ लगाइदिँदा हिंसा महसूस गरेको लगायतका कुराहरू आए । टेलिभिजनमा काम गर्ने एक सञ्चारकर्मीले आफू समाचार भन्न जान लाग्दा कोठाको छेउमा भएको ‘चेन्जिङ रुम’मा एक जना सहकर्मीले ढोका नलगाइ ड्रेस चेन्ज गर्दा आफूलाई नरमाइलो महसूस हुने बताए । उनले भनेका थिए- ‘शरीरमा आधा मात्र लुगा लगाएर देखापर्ने उनको ब्यवहारले मलाई समाचार भन्न जानै मन लाग्दैनथ्यो ।’ उनको भनाइले आम रूपमा सोच्ने गरिए जस्तो सबै पुरुषहरू महिलाको शरीर हेर्न चाहन्छन् भन्ने ठान्नु गलत हो भन्ने प्रमाणित गर्थ्यो । सबै पुरुषहरू ‘प्रोनोग्राफिक एटिच्युट’का हुँदैनरहेछन् ।

आईएलओको अभिसन्धि १९० को बारेमा छलफल गर्ने क्रममा हामीले पुरुषमाथि हुने हिंसाको बारेमा कुरा गरेका थियौँ । अभिसन्धि १९० ले महिला, पुरुष, अन्य लिङ्गी सबैमाथि हुने हिंसाविरुद्ध सरकारहरूले कानूनी संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख गरेको छ । अभिसन्धिले कार्यस्थलमा कुनै पनि र कसैमाथि पनि हिंसा हुन नहुने कुरामा जोड दिएको छ । कामको सिलसिलामा हुने यात्रादेखि स्थानसम्मको परिभाषा गरेको छ । शब्द तथा ब्यवहारले अस्विकार्य हुने अभ्यास, ती अभ्यासबाट पर्ने शारीरिक, मानसिक र मनोवैज्ञानिक असर तथा निजी, सरकारी, औपचारिक, अनौपचारिक सबै प्रकारका कार्यस्थललाई यसले समेटेको छ । अभिसन्धि १९० औपचारिक कामकाजसँगै खाना बनाउने, खाना खाने, पोशाक परिवर्तन गर्ने, भुक्तानी लिनेलगायतका स्थानहरू, कामसँग सम्बन्धित यात्रा, भ्रमण, तालिम, कार्यक्रम, सामाजिक गतिविधि, सूचना तथा सञ्चार र प्रविधिको माध्यमबाट हुने हिंसा, रोजगारदाताले प्रदान गरेको बासस्थानमा हुनसक्ने हिंसा र दुर्व्यवहारलगायतका कुराहरू उल्लेख गरिएको समग्र दस्ताबेज हो ।

टेलिभिजनमा काम गर्ने एक सञ्चारकर्मीले भने- ‘शरीरमा आधा मात्र लुगा लगाएर देखापर्ने उनको ब्यवहारले मलाई समाचार भन्न जानै मन लाग्दैनथ्यो ।’ उनको भनाइले आम रूपमा सोच्ने गरिए जस्तो सबै पुरुषहरू महिलाको शरीर हेर्न चाहन्छन् भन्ने ठान्नु गलत हो भन्ने प्रमाणित गर्थ्यो । सबै पुरुषहरू ‘प्रोनोग्राफिक एटिच्युट’का हुँदैनरहेछन् ।

हामीले नेपाल पक्षराष्ट्र भएर विभिन्न सन्धि, अभिसन्धि र महासन्धिहरूमा हस्ताक्षर गरेका छौँ । कतिपय सन्धि, महासन्धि राम्ररी अध्ययन नै नगरी हस्ताक्षर गर्दा अप्ठ्यारो स्थिति आएका उदाहरणहरू पनि छन् । तर यो कामको संसारसँग सम्बन्धित अभिसन्धि अनुमोदन गर्दा आफ्नो देशमा त नीति कानूनहरू निर्माण गर्न र परिमार्जन गर्न मद्दत पुग्छ नै अन्य देशलाई पनि हामी आइएलओ सी १९० अनुमोदन गरेको राष्ट्रका नागरिक हौँ जहाँ कामको संसारमा हुने कुनै पनि हिंसा मान्य हुँदैन भन्ने ठाउँ रहन्छ । कामको संसारमा महिला, पुरुष, अन्य लिङ्गसँगै शक्ति सम्बन्ध (पावर रिलेशन) ले पनि त्यत्तिकै अर्थ राख्छ । को, कुन पोजिसनमा छ, उसले गर्ने ब्यवहार कस्तो छ ? हामीकहाँ यस्ता कुरामा खासै चर्चा हुने गरेको छैन । महिलामाथि हुने हिंसाविरुद्ध हामीकहाँ विभिन्न कानून छन् । पुरुष र अन्य लिङ्गीमाथि हुने हिंसालाई सम्बोधन गर्ने कानूनहरूको अवस्था के छ ? खासै खोजी गरिएको छैन । कार्यस्थलमा हुने यौन हिंसालाई निषेधित गर्न हामीकहाँ कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण ऐन) २०७१ छ । यसले कुनै पनि कार्यस्थलमा ‘इन हाउस’देखि सेवाग्राही सम्मलाई समेटेको छ ।

नेपालका लागि यहाँको कामको संसारमा मात्र नभइ वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुग्ने कामदारहरूका लागि पनि कन्भेन्सन १९० (सी १९०) निकै महत्वपूर्ण दस्ताबेज हो । कामको खोजीमा ठुलो सङ्ख्यामा विभिन्न मुलुकमा नेपालीहरू पुगिरहेको सन्दर्भमा ती मुलुकले यो कन्भेन्सन पारित गर्दा नेपाली कामदारलाई त्यसको प्रत्येक्ष लाभ पुग्न जान्छ । अहिले हाम्रा धेरै महिला दिदीबैनीहरूले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा घरेलु तथा अन्य हिंसाको सिकार हुनु परेको छ । दाजुभाइहरूमाथि कार्यस्थलमा विभिन्न हिंसा र दुर्व्यवहारहरू हुने गरेका छन् । हामीलाई कतिपय अवस्थामा पुरुषमाथि पनि हिंसा हुन्छ र ? जस्तो लाग्छ । तर हाम्रै देशको कामको संसारमा पनि पुरुषहरूमाथि विभिन्न हिंसा र दुर्व्यवहारहरू हुने गरेका छन् । हामीकहाँ महिलामाथि हुने हिंसाका बारेमा केही अध्ययनहरू भए पनि पुरुषहरू माथि हुने या भएका हिंसाको बारेमा कुनै अध्ययन भएको छैन ।

हिंसाको सन्दर्भमा प्रायः महिलालाई पीडित र पुरुषलाई पीडकको रुपमा चित्रित गर्ने गरिएको छ । तर के सबै पुरुषहरू हिंसामुक्त छन् ? जिन्दगीको कुनै पनि मोडमा महिलाले झैँ पुरुषले कुनै न कुनै प्रकारको हिंसा भोगेका हुँदैनन् ? यस्ता सवालहरूमा पनि छलफल हुनु पर्दछ । लैंगिक हिंसाको कुरा गर्दा महिला, पुरुष, अन्य लिङ्गी सबैलाई समेटिन्छ । लिङ्गको आधारमा गरिने हिंसा नै लैंगिक हिंसा हो तर धेरै मुलुकको सवालमा महिलाले नै बढी हिंसा भोग्नु परेका कारण लैंगिक हिंसालाई महिलामाथि हुने हिंसाको रूपमा हेर्न थालिएको हो । पुरुषहरूले हिंसा महसूस नगर्ने होइनन तर ब्यक्त गर्नचाहिँ पुरुषले कम गर्छन् भन्ने पनि छ । हाम्रो जस्तो समाजमा पुरुषहरूलाई मौनता तोड्न त्यति सहज पनि छैन । तिमी त बहादुर, कठोर हुनुपर्छ, घरको कुरा बाहिर भन्नु हुँदैन, आइमाइले जस्तो कुरा गर्दै हिँड्नु हुँदैन, तिमी त कुलको दीपक… भन्दै हुर्काइएका पुरुषहरूले आफूमाथि भएका घटनालाई हत्तपत्त ब्यक्त गर्न नसक्नु स्वभाविकै हो । परिणाम आफूले चाहेको जीवन बाँच्न नपाउने पुरुषहरूको संख्या यहाँ धेरै छ ।

मानवीय कमजोरी र ताकत हरेक मानिसमा हुन्छ । कमजोरीलाई बढाउने या ताकतलाई भन्ने कुरा आफ्नै हातमा हुने भए पनि सही अभ्यास हुन सकेको छैन । महिला, पुरुष या अन्य लिङ्गी भएकै कारण कुनै पनि स्थानमा हिंसा र दुब्र्यवहार हुन हुँदैन । सी १९० जस्ता समग्रमा आएका दस्ताबेजलाई अनुमोदन गरौँ, नभएका कानून बनाऔँ, भएकालाई कार्यन्वयन गरौँ, हिंसा सहेर नबसौँ ।